
झापा, १ असार । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ ।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।
नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ । आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ ।
पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।



