झापा, २ असार । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ ।
जलथलको चारकोशे जंगल क्षेत्रमा आइतबार पहेंलो रंगको कछुवा फेला परेको हो । जलथल जंगल अन्तरगत हल्दिबारी–४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा उक्त कछुवा फेला पार्नुभएको थियो ।
उक्त कछुवा स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो सौफ्टशेल कछुवा नेपालमा तराईका केही क्षेत्रमा करिब चार सय मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो ।
“यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेंलो) नेपालमा दोस्रो पटक अभिलेख हुन सक्छ”, उहाँले भन्नुभयो, “यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो ।”
यस्ता कछुवा विरलै मात्र देखिने भएकाले यस घटनालाई संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उहाँको भनाइ छ । कछुवा जलथल सब–डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताउनुभयो ।


