बनियानी, २ असार । कचनकवल गाउँपालिका–२ का दृष्टिविहीन गंगाबहादुर राई यतिबेला मेलमिलापकर्ताको तालीम लिइरहनुभएको छ ।
उहाँले झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा सञ्चालित आठ दिने सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालीममा लिइरहनुभएको हो । तालीममा उहाँले देखाउनु भएको उत्साह, आत्मविश्वास र सक्रियताका कारण यतिबेला आकर्षण बन्नु भएको छ ।

उहाँ तालीमको सबैभन्दा बढी जिज्ञासु प्रशिक्षार्थी हुनुहुन्छ । “म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु”, उहाँले भन्नुभयो, “यो मेरो लागि जिम्मेवारी हो अनि समाजप्रति योगदान गर्ने सुनौलो अवसर पनि ।”
पूर्ण दृष्टिविहीन गंगाबहादुर तालीममा सहभागी भएका एकमात्र अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । मेची बहुमुखी क्याम्पस भद्रपुरबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ ।
गंगाबहादुरको उत्साहप्रद सहभागिता उदाहरणीय भएको तालीमका प्रशिक्षक चेतन विष्ट बताउनुहुन्छ । “शारीरिक बनावट फरक हुनुले केही फरक पर्दैन भन्ने उदाहरणका रुपमा उहाँ हुनुहुन्छ”, विष्टले भन्नुभयो, “समावेशिताको दृष्टिकोणले पनि उहाँको उपस्थिति गहिरो अर्थ राख्छ ।” जेठ २८ गते शुरु भएको तालिम असार ४ गते समापन हुँदैछ ।


