भद्रपुर, ८ असार । झापा जिल्लाको सदरमुकाम नगर– भद्रपुरको मेची रंगशालालाई आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
जिल्लाकै सबैभन्दा पुरानो र एक मात्र मेची रंगशालामा अब फ्लड लाइट जडान र थप प्यारापिट निर्माण गर्न सो बजेट उपलब्ध गराइएको हो ।



संघीय सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट, नीति तथा कार्यक्रममा यस रंगशालाको प्यारापिट निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताएका हुन् ।
उनका अनुसार, सङ्घीय सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ भने कोशी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटबाट ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
संघको बजेटबाट रंगशालामा प्यारापिट निर्माण गरिने बताएका झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेषराज भण्डारीका अनुसार– प्रदेशको ऊर्जा मन्त्रालय मार्फत विनियोजित बजेटबाट चाहिँ रंगशालामा फ्लड लाइट जडान गरिने छ ।
लगभग डेढ दशक (२०७८ सालसम्म) विद्यालयस्तरको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता बाहेक अन्य प्रतियोगितात्मक खेलकूद नभइरहेकोे मेची रंगशालामा २०७९ साल यता भने २ पटक ‘भद्रपुर झापा गोल्डकप फूटबल प्रतियोगिता’को भव्य र सफल आयोजन भएपछि प्यारापिट र फ्लड लाइट जडानको माग उठेको हो ।
दुबै तहका सरकारबाट प्रदत्त नयाँ र उल्लेख्य बजेटले अब जिल्लाको र खासगरी भद्रपुरको खेलकूद वातावरणमा आशातीत प्रोत्साहन मिलेको छ । खेलकूदको विकासमा भद्रपुर नगरपालिका आफैंले पनि खेलाडी र खेलप्रेमीहरूमा उत्साह छाउनेगरी विभिन्न र उल्लेख्य सहयोग गरिरहेको छ ।


