बनियानी, ९ असार : झापाको बिर्तामोड नगरपालिका-८ मा जंगली हात्तीले तीन वटा घरमा क्षति पुर्याएको छ ।
आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएको ३-४ वटा जंगली हात्तीको समूहले स्थानीय तीन वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बासको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ। भाग्ने क्रममा सुफल मनि सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
त्यस्तै, सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब रू ५० हजार बराबरको क्षति भएको छ भने सोही स्थानकी ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती सोही स्थानको देउनिया खोलातर्फ गएको जनाइएको छ ।


