झापा, ९ असार । झापाको कनकाई नगरपालिका–४ स्थित नमुना टोलमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् ।
आज दिउँसो करिब ४ बजे सोही स्थानकी ४० वर्षीया बिमला चौधरी आफ्नै घरमा लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले घर खानतलासी गरेको थियो ।
तलासीको क्रममा चौधरीको घरपूर्व पट्टिको पुरानो इट्टा थुप्रोमा लुकाइछिपाई राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थ प्लास्टिकसहित २४२ ग्राम र प्लास्टिकबाहेक २३४ ग्राम गाँजा रहेको नापतौलबाट खुलेको हो ।
प्रहरीले उक्त गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।


