झापा, ९ असार । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।
भन्सार छली भारतबाट नेपालतर्फ ल्याइएको मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक शम्शेर बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ३ लाख ५५ हजार ७०० बराबरको सामान नियन्त्रणमा लिएको हो ।
टोलीले सो सामग्रीलाई मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभएको छ।
बरामद सामग्रीमा विभिन्न प्रकारका मोबाइल पार्टपुर्जा तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू रहेका छन्। यसरी भन्सार चोरी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता प्रशंसनीय रहेको स्थानीय प्रशासनले जनाएको छ।


