सन्तोष शर्मा
भद्रपुर, १० असार । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ ।
सोमबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले रू ८० करोड पाँच लाख २८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो । नगरको वास्तविक आवश्यकतालाई पहिचान गरी बजेट निर्माण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।
चालू आर्थिक वर्ष २०८१÷ ८२ मा रू १ अर्ब २ करोड २० लाख १९ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रू २२ करोड १४ लाख ९१ हजार न्यून बजेट सार्वजनिक भएको छ ।
“विगतका वर्षहरूमा हामीले सामाजिक भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त गरेका छौं”, उपप्रमुख कार्कीले भन्नुभयो, “अब हामीले गुणस्तर दिगोपन र नवप्रवर्तन तर्फ उन्मुख हुन आवश्यक छ ।”
बजेटका पाँच विशेषता
मानव विकाससँगै नगरबासीमा रोजगारी सिर्जना गर्ने, उद्यमशीलताको वातावरण तयार गर्ने, वातावरण मैत्री गुणस्तर पूर्वाधार निर्माण गर्ने, आत्मनिर्भर कृषि प्रणालीतर्फ अग्रसर गराउने, समृद्ध भद्रपुरको आधार तयार गर्न नगर क्षेत्रको सर्वाङ्गीण र सन्तुलित विकास गर्ने र स्वच्छ स्वास्थ्य बसोबास योग्य नगरको रुपमा नगरपालिकाको पहिचान स्थापित गराउने बजेटको मुख्य उद्देश्य रहेको उपप्रमुख कार्कीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा रू एक अर्ब दुई करोड २० लाख १९ हजार बजेट प्रस्तुत गरिएकोमा संघ र प्रदेशबाट थप भएको बजेट अनुसार रू एक अर्ब ७ करोड एक लाख ५९ हजार बजेट कायम भएको उहाँले बताउनुभयो ।
नगरपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५३ दशमलव ८८ प्रतिशत खर्च प्रगति भएको छ । जसमध्ये चालुतर्फ ६६ दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ ३८ दशमलव ३७ प्रतिशत खर्च भएको जनाइएको छ ।
बजेट वक्तव्य मार्फत नगरपालिकाले आगामी आर्थिक वर्षमा संघीय राजस्व बाँडफाँडबाट रू १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाटबाट रू चार करोड, प्रदेश राजस्व बाँडफाडबाट रू ९८ लाख २१ हजार, आन्तरिक स्रोतको रूपमा रू सात करोड, संघीय वित्तीय हस्तान्तरणबाट रू ५१ करोड १० लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट रू ४ करोड ६३ लाख ५७ हजार गरी कुल ८० करोड ५ लाख २८ हजारको अनुमानित आय रहेको छ ।
२४७ बुँदे नीति तथा कार्यक्रम
नगरसभामा नगर प्रमुख गणेश पोखरेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि २४७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
उद्यमशीलता विकास र रोजगार प्रवर्धनमा १६ बुँदे, कृषि तथा पशुपंक्षी प्रवर्धनमा २८ बुँदे, सहकारी विकास र प्रवर्धनमा सात बुँदे, राजस्वमा छ बुँदे, सुशासन र संस्थागत विकासमा २४ बुँदे, विद्युत विज्ञान प्रविधितर्फ ११ बुँदे, कानून तथा न्याय सम्पादनमा सात बुँदे, विपद व्यवस्थापनमा १३ बुँदे, वन वातावरण तथा सरसफाईमा १० बुँदे, सामाजिक विकासमा २२ बुँदे, स्वास्थ्यतर्फ २० बुँदे, शिक्षा युवा र खेलकुदतर्फ ३६ बुँदे, पूर्वाधार र सहरी विकासमा २२ बुँदे, सहकार्य र साझेदारीमा गरी १२ बुँदे गरी २४७ बुँदे नीति तथा कार्यक्रम नगरप्रमुख पोखरेलले प्रस्तुत गर्नुभयो ।
रोजगारी सिर्जना, उद्यमशीलताको विकास गरी आमनागरिकको मुहारमा खुसी ल्याउने अवस्था सिर्जना गर्दै पर्यटकीय क्रियाकलापको विकास विस्तार गर्नु आगामी दिनमा नगरको कार्यभार रहेने नगर प्रमुख पोखरेलले बताउनुभयो ।
“स्वच्छ र स्वास्थ्य नगर भद्रपुर सहरको रूपमा नगरपालिकाको पहिचान स्थापित गर्ने गरी काम गरिरहेका छौं”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “नगरको सबै क्षेत्रको सन्तुलित विकास र नागरिकको जनजीविकालाई सुखमय बनाउने उद्देश्य प्राप्तिका लागि हाम्रो प्रयास जारी रहनेछ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नगरसभाको १६ औं अधिवेशन सहजीकरण गर्नुभएको अधिवेशनबा नगरका जनप्रतिनिधिहरूले बजेट, नीति तथा कार्यक्रममा आ–आफ्नो सुझाव तथा धारणा राख्नुभएको छ ।


