सुरुङ्गा, १२ असार । झापाको कनकाई नगरपालिका–३ मा असार १४ गते फुटसल प्रतियोगिता हुने भएको छ ।
आरएफसी युथ क्लब सुरुङ्गाको आयोजना तथा एसियालिङ्क सर्भिसेस् काठमाडौंको प्रायोजनमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी पूरा भइसकेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष बाबु लिङ्लेकु लिम्बूका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्यर्सन र अन्य विकृतिबाट टाढा रहँदै खेल जीवनमा फर्कन सन्देशसहित प्रतियोगिता आयोजन गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयरलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजक समितिका उपाध्यक्ष मन्दिप राईका अनुसार देशभरका २० वटा फुटसल टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । खेल सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनपछि आज राजनीतिक दल र पत्रकारबीच मैत्रीपूर्ण खेल भएको थियो । लोकप्रिय खेलको रूपमा युवामाझ आकर्षण बन्दै गएको फुटसल खेल प्रतियोगिता सुरुङ्गामा हुन लागेको यो पहिलो पटक हो ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुन र प्रतियोगिता हेर्न आउन आयोजक आरएफसी क्लबका सदस्य रोहन कार्कीले अनुरोध गरेका छन् । शिवसताक्षी नगर खेलकुद समितिका संयोजक सुरज राई, कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई, एमाले नेता रवीन्द्र लम्साल लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष भीम लिवाङले गरेका थिए ।


