झापा, १३ असार । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा कचनकवल प्राविधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ ।
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमका बीच प्राविधिक शिक्षालय भवनको शिलान्यास गर्नुभयो । युवाले प्राविधिक शिक्षा प्राप्त गर्न सके आय आर्जनको क्षमता विकास हुनुका साथै स्वदेश वा विदेश जहाँ रहे पनि उनीहरुले राम्रो काम र दाम पाउने नेता सिटौलाले बताउनुभयो । उहाँले प्राविधिक शिक्षालयको बजेट कुनै पनि हालतमा नरोकिने भएकाले समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाँ, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कचनकवल प्राविधिक शिक्षालयका सहसंयोजक तथा पालिका उपाध्यक्ष नवराज भट्टराईले समाजवादको यात्रामा प्राविधिक शिक्षा कोशेढुंगा साबित बताउनुभयो । प्राविधिक शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षालयका लागि जग्गा प्रदान गर्नुहुने दाताहरू फडिन्द्र दाहाल, रतनलाल राजवंशी र सविन लिम्बूलाई सम्मान गरिएको थियो ।
पाँच हजार छ सय ७० वर्ग फिटको शिक्षालय भवनको लागत रू चार करोड ७९ लाख २१ हजार दुई ८५ रहेको छ । बहुवर्षे योजना अन्तरगत २०८२ असार २ गते सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच २०८४ जेठ २० गते निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, कांग्रेस सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाईं, झापा प्रहरी राजन लिम्बू लगायतको आतिथ्य रहेका शिलान्यास कार्यक्रममा शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको अध्यक्षता, स्वागत चिन्तामणि खरेल र सञ्चालन चेतन खतिवडाले गर्नुभएको थियो ।


