भद्रपुर, १४ असार । झापाका अग्रज पत्रकार गोपाल गिरीद्वारा लिखित पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रबार लोकार्पण गरिएको छ ।
झापाको सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको उक्त पुस्तकको आज लोकार्पण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले यहाँ आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकापर्ण गर्नुभएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथि शिव गाउँलेले नेपालका शहरहरुको आ–आफ्नै पृष्ठभूमिमा रहेकाले पुराना शहरहरुको इतिहास उजागर गर्दै जानुपर्ने बताउनुभयो ।
मानव बस्ती सुरक्षित राख्न तराईमा औंलो नियान्त्रणका कार्यहरू पूर्वमा भद्रपुरबाटै सुरुवात भएको बताउनुहुँदै उहाँले मेची पुल शिलान्यासको इतिहासको विषयका बारेमा आफूले पटक–पटक समाचार लेख्नेदेखि तत्कालीन सरकारका प्रधानमन्त्रीहरूसँग अन्तरवार्ता समेत लिएको स्मरण गर्नुभयो ।
पत्रकार गिरीले नेपालकै पुराना शहरहरूको इतिहास बोकेको भद्रपुरलाई चिनाउने प्रयास स्वरूप पुस्तक लेखेको बताउनुभयो ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समीक्षा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहाल र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गर्नुभएको थियो ।
पुस्तक भद्र्रपुर नगरको इतिहासका लागि एउटा महत्वपूर्ण दस्तावेज रहेको दाहालले बताउनुभयो भने अर्का समीक्षक सापकोटाले सरल तथा सहज भाषा शैलीमा आएको पुस्तक भद्रपुरको पहिचान रहेको बताउनुभयो ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, प्रेस कउन्सिलका झविन्द्र भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गर्नुभएको थियो ।


