झापा, १४ असार । झापामा चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाले ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् ।
यसैबीच, ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धी ज्ञान विद्यालय स्तरसम्म पुर्याउने उद्देश्यले आज बिर्तामोडका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँगको सहकार्यमा अन्तु मिडिया प्रालिले शिक्षकलाई प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सबै विद्यालयका विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी दिनुपर्ने बताउनुभयो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना शिक्षा उल्लेख भएको र पाठ्यक्रममा नै समावेश उक्त विषयलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य प्रदान गर्नु पर्ने धारणा राख्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियो ।
पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले हरेक विद्यालयमा ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक सचेतना शिक्षा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।


