भारत, १५ असार । भारतको उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी सहरको गुन्डिचा मन्दिर नजिकै हजारौँ भक्तजनको भीड लागेको थियो । जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भन्नुभयो, “मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् । उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताउनुभएको छ ।
भारतीय धार्मिक चाडहरूमा घातक भागदौड र भीड हुनुलाई एक सामान्य घटना मानिन्छ । गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिँड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौँ मानिस भेला भएका समय भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो।
जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दुहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।


