बिर्तामोड, १६ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुद्ध टोलका एकै घरका तीन जना दिदीबहिनीलाई बहुअपाङ्गता (पूर्ण अशक्तता) को आधारमा रातो कार्ड प्रदान गरिएको छ ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उनीहरूको घरमै पुगेर मनकुमारी शेर्माका छोरीहरू १७ वर्षीया आकृति लिम्बु, ईक्सा लिम्बु र ईन्तुसा लिम्बुलाई गम्भीर अवस्थाको मूल्यांकन गरी पूर्ण अशक्तता प्रमाणित गर्ने रातो कार्ड हस्तान्तरण गर्नुभएको हो । तीमध्ये ईन्तुसा ओछ्यानबाट उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।
नगर उपप्रमुख संग्रौलाले उनीहरूको उपचारका लागि आवश्यक पहल गर्ने बताउनु भयो । यसअघि, गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय झापाको टोलीले समेत उनीहरूकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो ।
रातो कार्ड वितरण कार्यक्रममा नगर उपप्रमुख संग्रौलासँगै महिला विकास अधिकृत पुष्पा कार्की, युगकुमारी भट्टराई, समुदायमा आधारित पुनःस्थापना सहजकर्ता सन्तोष तिम्सिना, सरस्वती गौतम, कञ्चन बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो ।


