
सन्तोष शर्मा
झापा, १७ असार । झापा लागुऔषध ब्राउनसुगरसहित करिब पाँच सय जना पक्राउ परेका छन् ।
जिल्लामा चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार १२ गतेसम्ममा लागुऔषध ब्राउनसुगरसहित चार सय ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये चार सय ६७ जना (चार सय ४५ जना पुरुष, २२ महिला) नेपाली रहेका छन् भने २७ जना (२६ जना पुरुष, एक जना महिला) भारतीय नागरिक रहेका छन् ।
जिल्लामा लागुऔषध ब्राउनसुगर बरामद हुने क्रम बढेको छ । पछिल्लो तीन वर्षमा जिल्लामा छ किलो एक सय ३७ ग्राम ८१९ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । झापामा चालू आवमा गत असार ११ गते भद्रपुर नगरपालिका–७ सबैभन्दा बढी दुई सय ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
आव २०७९÷०८० मा एक किलो पाँच सय ५८ ग्राम ४५९ मिलिग्राम, आव २०८०÷०८१ मा दुई किलो एक सय ७४ ग्राम १९५ मिलिग्राम र चालू आवको २०८१÷०८२ को असार १२ गतेसम्ममा दुई किलो चार सय पाँच ग्राम १६५ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सीमावर्ती भारतीय बजार गएर फर्किने सवारी साधन र मानिसलाई विशेष निगरानी गर्ने गरेको झापा प्रहरी प्रमुख प्रहरी उपरीक राजन लिम्बूले बताउनुभयो । “लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरी युनिट निकै सक्रिय बनाइएको छ”, उहाँले भन्नुभयो, “पक्राउ र नियन्त्रण कार्यलाई पनि तीव्रता दिइएको छ ।”
झापाका सीमावर्ती भारतीय बजारमा गएर सेवनकर्ता र कारोबारीले लागुऔषध ल्याएर ठूलो मात्रामा काठमाडौं लगायतका सहरमा पठाउने, सानो परिमाणमा पहाडी जिल्ला र झापामा प्रयोग गर्ने गरेको झापा प्रहरी प्रमुख लिम्बूले बताउनुभयो ।
“नेपाली कारोबारीले भारतीय बजार गएर ल्याउने र केही भारतीय कारोबारीले पनि नेपाल भित्र्याउने गरेको पाएका छौं”, उहाँले भन्नुभयो, “यसको नियन्त्रणका लागि सीमा नाकामा रहेका निययहरुसँग समन्वय गरिरहेका छौं ।” प्रहरीले मानिस हाउभाव, गतिविधि, ‘इन्टेलिजेन्स’ लगायतका आधारमा लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ गर्ने गरिएको उहाँले बताउनुभयो ।
झापाको मेचीनगर, भद्रपुर, कचनकवल, झापा गाउँपालिका, गौरीगञ्ज, गौरादह लगायतका सीमावर्ती बजारबाट लागुऔषध भित्रिने गरेको छ । झापामा खुला सीमा भएकाले नाका, बाटो मात्र नभई खेतबारी हुँदै कारोबारी र प्रयोगकर्ताले लागुऔषध भित्र्याएर प्रयोग र बेचबिखन गर्ने गरेको पाइएको छ ।


