सन्तोष शर्मा
झापा, १७ असार । झापामा कोभिड–१९ विरुद्धको १५ हजार डोज खोप आएको छ ।
नयाँ खोप तालिकासहित जिल्लामा कोभिड–१९ विरुद्धको १५ हजार डोज फाइजर खोप आएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं”, उहाँले भन्नुभयो, “अब नयाँ तालिका अनुसार खोप कार्यक्रम अघि बढ्छ ।”



नयाँ खोप तालिका अनुसार पाँच प्रकारका जनसंख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताउनुभयो ।
त्यस्तै, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिका उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ ।
यता, जिल्लामा आठ जना कोभिड संक्रमित फेला परेका छन् । तीमध्ये पाँच जना झापाका छन् भने मोरङ, इलाम र दोलखाका एक÷एक जना रहेको बाराकोटीले जानकारी दिनुभयो ।
झापामा कोभिडको संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्”, उहाँले भन्नुभयो, “जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।”


