झापा, १७ असार । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले सहजै पराजित गर्दै शानदार प्रदर्शन गरेको छ।
मलेसियास्थित सेलाङ्गोर टर्फ क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। रौनक श्रीवास्तवले आक्रामक शैलीमा १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए। जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ र सुगम बुढाथोकीले ३५ रन जोडिदिए।



भुटानका सञ्जय दोर्जेले ३ विकेट लिँदा तेन्जिन लोडेले १ विकेट लिए। ३५९ रनको लक्ष्य पछ्याउन उत्रिएको भुटान ३२।४ ओभरमै ६० रनमा समेटियो। सुजन दावाले १४ र उयोग छोफेलले १० रन बनाए। अन्तिम ब्याटर मैदानमा नआएपछि भुटानले ९ विकेटमा इनिङ अन्त्य गर्यो।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ७ रन खर्चेर ४ विकेट लिए। सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट झारे।
नेपाल समूह ‘ए’ मा सबै चार खेल जित्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। सोही समूहबाट सिङ्गापुर दोस्रो रहँदै अन्तिम चारमा पुग्यो। समूह ‘बी’ बाट हङकङ र मलेसिया क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा पुगे।
नेपालले अब बिहीबार मलेसियासँग सेमिफाइनल खेल्नेछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, जसले २०२३ को फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।
प्रतियोगितामा १० टोली सहभागी छन्—समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार।


