म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सीमामा रहेको ओखरबोटस्थित तामाखानी उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमरएस दोङयी मिनरल्स प्रालिले खानीको खोज तथा उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार गर्ने तयारी गरेको हो।
मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान गर्नुका साथै सम्भावित वातावरणीय असर तथा न्यूनीकरणका उपायहरूबारे विस्तृत अध्ययन गर्नेछ।
कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाहरूको सुझाव सङ्कलन गर्न गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। साथै, मङ्गलबार सात दिने सार्वजनिक सूचना जारी गर्दै प्रभावित समुदाय तथा सरोकारवालाहरूबाट थप सुझाव मागिएको छ।
स्थानीयवासीहरूले खानीको पुनःसञ्चालनका लागि अध्ययन प्रक्रिया थालिएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले वातावरणीय जोखिम न्युनिकरण र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
भूगर्भविद् रोनित पौडेलका अनुसार प्रारम्भिक अध्ययनपछि तामाको विस्तृत अनुसन्धान गरिनेछ। त्यसपछि सम्भाव्यता अध्ययन सम्पन्न गरी खानी उत्खननको अर्को चरण सुरु गरिने जनाइएको छ।
स्थानीय वृद्ध विसराम पटेलका अनुसार ओखरबोटको तामाखानीमा विसं २०२८ सम्म परम्परागत प्रविधिबाट तामा निकालिन्थ्यो। तर प्रविधिको अभाव र राज्यलाई अत्यधिक कर तिर्नुपर्ने कारणले खानी बन्द गरिएको थियो। उनका अनुसार त्यतिबेला दैनिक दुई सयभन्दा बढी मजदुर खटिन्थे र सातदेखि आठ धार्नी तामा दैनिक निकालिन्थ्यो।


