झापा, १८ असार । झापा गाउँपालिका–६ झाटीमा शनिबार साँझ ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय राधेश्याम मण्डलको सिमेन्टको खम्बा, बाँसको भाटा र टिनको छानो भएको भान्साघरमा बेलुकी ८ः४० बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट अचानक आगो सल्किएको थियो । विस्फोटपछि आगलागी फैलिएर भान्साघरसँगै रहेको मण्डलको अर्को टिनको छानो र टाटीले बेरेको घर समेत पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट कुनै मानवीय वा चौपाय क्षति भने नभएको जनाइएको छ । प्रहरी चौकी शरणमतीको टोली र स्थानीयबासीको सहयोगमा आगो राति ९ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।


