झापा, १८ असार । झापाको कचनकवल गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला जियापोखर गिलाबारी का २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर जिल्लाको मजलिसपुरका २१ वर्षीय प्रवेज आलम रहेका छन् ।
मंगलबार राति ८ः३० बजे मोजिमिल मियाँको जग्गा नजिकै शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरूले तजेमुल मियाँको खेतबाट पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाएर राखेको बताएका थिए ।
उनीहरूको तलासी गर्दा तौसिफको पेन्टको गोजीमा प्रतिबन्धित लागुऔषध कोकिन जस्तो देखिने सेतो धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित १.४२ ग्राम र प्लास्टिकबाहेक १.०८ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले सेतो पदार्थ र चोरी भएको ३ हर्सपावरको पानी तान्ने एक थान मोटरसहित दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।


