झापा, १९ असार । एसीसी पुरुष यू–१६ इस्ट जोन कपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
खेल मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा बिहीबार बिहान ७ः४५ बजे सुरु हुने छ। नेपाली टोली समूह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई २९८ रन, इन्डोनेसियालाई ३७० रनले हराएको थियो । यस्तै, जापानमाथि ९ विकेट र सिंगापुरमाथि ६ विकेटले जित दर्ता गरेको थियो ।
समूह ‘बी’को उपविजेता बनेको मलेसियाले चार खेलमध्ये तीन जितेको थियो भने एक खेलमा पराजित भएको थियो । आजको खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा हङकङ र सिंगापुर आमने–सामने हुँदैछन् ।


