झापा, १९ असार । झापाको बिर्तामोड नगरपालिका–७ स्थित गरामनीमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बिर्तामोड–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आज बिहान करिब ३ः४५ बजे घरको आँगनमा शौच गर्न निस्किएका लिम्बूलाई अचानक एक वटा जंगली हात्तीले कुल्चिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी चौकी गरामनीको प्रहरी टोली घटनास्थल पुगेको छ भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी खटिएको जनाइएको छ ।
योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी मृत्यु हुनेको संख्या छ जना पुगेको छ ।


