
काठमाडौं, १५ माघ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ।
बोर्ड गठन हुनुअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन भत्ता र प्रशासनिक खर्चमा निश्चित प्रतिशत तोकेको थियो। तर पछिल्लो समय औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले उक्त मापदण्ड हटाउने निर्णय गरेको हो।

बोर्डले २४ पुसमा निर्णय गरी १३ माघमा सेवा प्रदायक संस्थालाई परिपत्र गरेको हो। परिपत्रमा अब स्वास्थ्य बीमाबाट प्राप्त रकम प्रचलित ऐन, नियम र कानुनबमोजिम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ।
सूचना अधिकारी विकेश मल्लका अनुसार उक्त व्यवस्था सुरुवाती चरणका लागि मात्र भएकाले स्थायी नभएको र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मापदण्ड खारेज गरिएको हो।
अबदेखि स्वास्थ्य बीमाबाट भुक्तानी भएको रकम औषधि, उपचार, उपकरण तथा जनशक्तिमा केन्द्रित भएर खर्च गर्नुपर्ने व्यवस्था लागू हुनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

