
झापा, २ असार । वाईसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियानको सुरुआत गरेको छ। वाईसीएल सुनसरीको सहकार्यमा तथा धरान उपमहानगर समितिको व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गर्दै अभियानको उद्घाटन गरिएको हो ।
प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुर गरी १० जिल्लामा विभिन्न कार्यक्रममार्फत अभियान सुरु भएको वाईसीएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए।
वाईसीएल इलामको आयोजनामा माई नगरपालिका–२ र ४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वृक्षारोपण तथा बेसार रोपिएको छ।
माओवादी केन्द्र निकट वाईसीएलले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक दुई महिने अभियान देशभर सञ्चालन गर्ने निर्णय गरेको हो। ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृक्षारोपण, इँटा लगाउने, नाली सफा गर्ने तथा चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका थिए।
गत असार १७ र १८ गते बसेको वाईसीएल पदाधिकारी बैठकले साउन र भदौ महिनामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


