
झापा, ८ असोज । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा झापाको मेची भन्सार कार्यालयले दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । भन्सारले काँकरभिट्टा नाकाबाट हुने आयात–निर्यातबाट सो राजश्व सङ्कलन गरेको हो ।
यो रकम गत आव २०८१–८२ को सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख नौ हजारले बढी हो । कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा यस नाकाबाट रु। आठ अर्ब १९ करोड एक लाख रुपैयाँ मूल्य बराबरको सामान आयात भएको छ भने तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको तुलनामा चालु आ।व।मा आयात बढेको छ भने निर्यात घटेको छ । गत आव रु सात अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो भने तीन अर्ब ८६ करोड २८ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । निर्यातमा २०.६९ प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।
पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट, मोलासिस लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, कपडा लगायत छन् ।



