
बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
यहाँस्थित पूर्व–पश्चिम लोकमार्गमा बिराटनगरबाट काँकरभिट्टा जाँदै गरेको प्र.१–०१–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबहाक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका कन्टेक्टर मोरङ रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतकको शव बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखिएको छ ।
दुर्घटनामा सुनसरी इटहरी–११ का ३८ वर्षीयको गुलसनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, छोरी ६ वर्षीया मनसुइ शर्मा, इटहरी–११ की ३७ वर्षीया बिनु शर्मा घाइते भएका छन् ।
त्यस्तै, बसका सहचालक मोरङ विराटनगर–२ का ४२ वर्षीय सोमकुमार भुजेल, पाँचथर कुमायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का सुभाष लावती, लोजिहाङ लावती, सोही स्थानकी २३ वर्षीया सुहाना लिम्बू, ५ वर्षीय मेङ्सो लिम्बू, मोरङ विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, सोही स्थानकी ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ का ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ फाक्तालुङ–१ का राकेश लिम्बू घाइते भएका छन् ।
घाइतेमध्ये केहीको टाउकोमा मध्यम चोट रहेको छ भने अन्यको हात, खुट्टा तथा अनुहारमा सामान्य चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि बिएण्डसी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक भने घटनापछि फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



