
लीला बराल
भर्खरै सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको विचार धेरै नेपालीलाई परिहासपूर्ण लागेको हुनुपर्दछ । देउवाको बोली राम्ररी बुझिँदैन । त्यो उनको कमजोरी पनि होइन । कुनै शारीरिक कारणले बोलीमा आउने सानो–तिनो अस्पष्टता खिसीट्युरीको विषय हुन सक्दैन ।
तर, तीन पटकसम्म देशको प्रधानमन्त्री भइसकेको र प्रतिपक्षी दलको प्रमुखको रुपमा संसदमा गरेको वजनहीन सम्बोधन परिहासको विषय भएको छ । देउवाको सम्बोधनमा न लय छ, न गति, न विचार छ, न पार्टीको नीति । सम्बोधनकै क्रममा एउटा लामो (उनका लागि) वाक्यांश बोल्छन्– ‘वाइड बडी विमानका धेरै कुरा पत्रपत्रिकामा छापिएका छन्, हामी त्यसलाई त्यसै छाड्दैनौँ ।’ यसमा देउवाले के समातेका छन् र के छाड्दैनन् भन्ने बुझिँदैन । उनलाई विमान खरीदमा भ्रष्टाचार भएको छ भन्ने लागेको भए केही तथ्यसहित आउने बाटो खुला थियो । त्यसका निम्ति कांग्रेससँग भएको भ्रष्टाचारविरोधी पार्टी नीतिलाई व्याख्या गरेर पनि उनले सवोर्च्च संसदको ध्यान खिच्न सक्थे । तर, कुनै शैली, शिष्टता, विचार या दृष्टिकोण देउवाले देखाउन सकेनन् । महासमिति बैठकले थिलथिलो पारेको अमिलो मन लिएर संसद प्रवेश गरेका देउवा कमजोर योग्यता हुँदाहुँदै पनि परिबन्धले पटक–पटक प्रम हुन पुगेका कांग्रेस नेता हुन् । देउवालाई उनका गुटका पश्चिमेली कांग्रेस कार्यकर्ताले पश्चिमको शेर भनिदिए । सायद देउवाको मुलुक हाँक्ने सबैभन्दा ठूलो योग्यता यही हो । यस्ता प्रतिपक्षी नेताले आठराईको होडामा जन्मिएका ओली वंश परम्पराका वाचाल खड्गप्रसाद ओलीलाई के खबरदारी गर्न सक्लान् !


प्रधानमन्त्रीका रुपमा आशिन केपी ओलीले महिनौँ अघि नै पानी जहाजको टिकट काउन्टर खुलिहाल्छ अब भनेर सम्पूर्ण मुलुकको गरिमा होच्याउने गरी ढाट्दै हिँडेको देउवाले पत्तै पाएनन् । लचकदार व्यंग्य–बिनोदी भाषणकलामा प्रम ओली खप्पिस छन् । तर, उनका कुरामा कतिसम्म विश्वास गनेर् भन्ने द्विविधा जनताको मनमा उत्पन्न हुन थालेको छ । उनी क्षणभरमै उत्तेजित भइहाल्ने र जसका प्रतिपनि शब्दवाण चलाइहाल्ने प्रवृत्तिबाट ग्रसित छन् । लय मिल्ने भयो भने असम्भव कुरालाई सम्भव बनाएर बोल्ने ओलीको कलाकारिता आजकल भने आफ्नै पार्टीका सहयोद्धाबाट भुत्ते हुँदै गएको देखिन्छ ।
नेपालको राजनीति दुई दलीय पद्धतितर्फ उन्मुख छ । राजनीतिका जानिफकार यसलाई सकारात्मक संकेत भन्छन् । एकातर्फ यस्तो छ भने अकोर्तर्फ नेपाली राजनीतिको शीर्ष नेतृत्वको प्रवृत्ति दुई प्रमुख पात्रहरुको चरित्रले यसरी उदांगो पारेको छ । उपल्लो नेतृत्वतह अनुदार, दम्भी, पदलोलुप तथा अविश्वासी भयो भने राजनीति निष्पक्ष, सङ्लो एवम् आदर्श उन्मुख हुन सक्दैन । मनमा क्लेश बोकेर राजनीतिमा छलाङ मानेर्हरुको सातो पूर्व राजाले मादल बजाउँदा पनि जाँदो रहेछ । पहिलेका राजा नाच्दा कामज्वरो नै छुट्ने रहेछ भन्ने पनि देखियो । यस्तो बेला दृढ इच्छाशक्ति, असल चरित्र र आदर्श प्रेरित राजनीतिक नेतृत्व भइदिए हुने जस्तो लाग्छ । त्यस्तामा न भय, न लोभ, न मोह, न अहंकार हुन्छ । तर, समय नआई व्यक्तिको चाहनाले मात्र केही पनि हुने होइन । तर, अब भने हिजो परिवर्तनको नेतृत्व गरेका शेरबहादुर, केपी ओली, प्रचण्ड जो भए पनि तिनले ससम्मान आफ्नो नेतृत्व पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु पर्दछ ।
आफ्नो शाख या छवि धुमिल हुनुपूर्व यो काम सम्पन्न गर्न सक्दा मानिसको स्मृतिमा रहने अवस्था रहला । स–साना कमजोरी या दुर्गुणलाई बिर्साउने सुगम राजमार्ग नेतृत्व हस्तान्तरण नै हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
