
गौरीगञ्ज, २५ माघ । गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबीच आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाभित्र रहेका ४० विद्यालयहरुबीच वडास्तरमा २० र २१ गते प्रतिस्पर्धा गराइ फाइनल चरणका खेलहरु गौरीगञ्ज माविको प्राङ्गणमा सम्पन्न भएको हो । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको आधारभुत तहमा कक्षा १–३ तर्फ छात्रछात्राहरु बीच १०० मिटर दौड, स्मरण शक्ति परीक्षण, कक्षा १–५ तर्फ छात्रछात्राहरु बीच १०० मि, २०० मि. हिसाब दौड र फुटबल खेल कक्षा १–८ तर्फ छात्र छात्राहरु बीच १०० मि., २०० मि. दौड, लङ्गजम्प, हाइजम्प र क्रिकेट खेलमा प्रतिस्पर्धा गराइएको गौरीगञ्ज स्रोत केन्द्रका स्रोत व्यक्ति डिल्लीराम अधिकारीले जानकारी गराए ।
बिहीबार सम्पन्न फुटबलतर्फको फाइनल खेलमा युनिभर्सल एकेडेमी गौरीगञ्जले युटिनसन एकेडेमी गौरीगंजलाई ० काविरुद्ध १ गोलले पराजित गरेको छ । युनिभर्सल एकेडेमीका विद्यार्थीहरुले मध्यान्हपछिको खेलमा गरेको १ गोल नै निर्णायक बन्न पुग्योे ।
क्रिकेटतर्फ युनिभर्सल एकेडेमी विजयी भएको छ । उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष तथा शिक्षा संयोजक दिपेन्द्र थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । वडा नं. ३ का वडाध्यक्ष मखना महतो, गौरीगञ्ज माविका प्रधानाध्यापक गोविन्दप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्रोत व्यक्ति डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कुमार भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

