
बिर्तामोड, २ फागुन । झापाको मेचीनगर–१२ स्थित कालीझोडामा फागुन ७ गतेदेखि ‘जिल्लास्तरीय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ ।
नव कालिका युवा क्लबको संरक्षणमा रहेको नव कालिका खेल मैदानलाई रंगशालामा स्तरोन्नती गराउने उद्देश्यले प्रतियोगिता आयोजनामा गर्न लागिएको खेल संयोजक बसन्त सुब्बाले जानकारी दिए । ‘खेल मैदानलाई क्षेत्रीय रंगशालाको रुपमा स्तरोन्नती गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो’, प्रतियोगिताबारे जानकारी दिन बिहीबार मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
फागुन ७ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका आठ वटा टीमको सहभागिता रहने क्लबका सचिव जनक ल्वागुनले बताए । प्रतियोगितामा दमक फुटबल टे«निङ सेन्टर, काँकरभिट्टा फुटबल टे«निङ सेन्टर, मुनाल फुटबल क्लब, शनिश्चरे फुटबल क्लब, सतासीधाम स्पोर्टिङ क्लब, सैनिक फुटबल क्लब, रेडस्टार फुटबल क्लब र आयोजक नव कालिका युवा क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा ७ लाख रुपैयाँ खर्च हुने र १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आर्थिक समिति सदस्य सत्रुघन राईले बताए । प्रतियोगिताबाट बचत भएको रकम खेल मैदानको स्तरोन्नतीका लागि खर्च गरिने भएको छ ।
प्रतियोगिता प्रथम हुने टिमले ५१ हजार १११ रुपैयाँ, दोस्रो हुनेले ३१ हजार १११ रुपैयाँसहित शिल्ड–मेडल पाउने छन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, अनुशासित टिम, उदयमान खेलाडी लगायतका विधामा खेलाडीलाई पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।
प्रथम र दोस्रो हुने टिमलाई प्रदान गरिने शिल्ड तथा मेडल क्रमशः स्व. देउभक्त लिम्बूको स्मृतिमा उनकी श्रीमती तेजमाया लिम्बू र स्व. दिनेश सिवाको स्मृतिमा उनकी आमा सरदा सिवाले गर्ने भएका छन् । त्यस्तै, दोस्रो पुरस्कारको प्रायोजन बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले गर्ने जनाइएको छ ।
प्रतियोगिताका लागि मेचीनगर–१२ वडा कार्यालयले समेत आर्थिक सहयोग गर्ने वडा कार्यालयका खेल संयोजक दीपक लामाले बताए । फिफाको नियम अनुसार खेलाइने प्रतियोगितामा जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

