
बज्रपात
— एउटा स्कुले झोला भिरेको बालक कुद्दै घर आयो र उसको सीधा–सज्जन त्यसकारण दुखिया बुबालाई हतार–हतार भन्यो— ‘बाबा–बाबा, मैले आज पाँच रुपैयाँ जोगाएँ ।’ सीधा बुबा चाहिँले उसको कुरोको चुरो नबुझी केवल पाँच रुपैयाँ बँचेको सकारात्मकतामा मात्र आप्लावित हुँदै छोराका पाखुरा समाएर सोध्यो— ‘केमा के गरेर बँचाइस् बाबु ?’ केटोले उसरी नै हतारिंदै भन्यो— ‘गरेर होइन, नगरेर बँचाएँ, कसरी भन्नु त ।’ बुबा चाहिँले भन्यो— ‘कसरी ?’ केटोले भन्यो— ‘त्यहाँ पर सरकारी पार्कमा थुप्रै फूल फुलेका छन् नि ? हो त्यो फूल हाम्रो ठूलो केटाहर्ले चोरेर घर लग्दो र’छन् कि, अन्त मैले चाहिँ चोरिन । किन भन्नु त ।’ बुबाले— ‘किन ?’ भनेपछि छोरो चाहिँले भन्यो— ‘त्यो फूलबारीमा फूल चोनेर्लाई पाँच रुपैयाँ जरिवाना गरिन्छ’ भन्ने लेखेर राखेको थियो नि त अनि ।… बाबा, त्यो पाँच रुपैयाँ भोलि म स्कूल जाँदा मलाई दिनु ल ? म एउटा आइसक्रिम खान्छु र बेलुनहरू ल्याउँछु, खेल्ने ।’
— राज्य यसबेला बस् यही कथाको भावभूमि बमोजिम चलिरहेको हुँदो हो । कथाका बाबु–छोरालाई शासनाधिकारी र शासित जता मिलाए पनि कथाको भाव उद्बोधित हुन्छ । फूलबारी, फूलबारीमा राखिएको सूचनापाटी, बाबु, छोरा र छोराको याचना सबै प्रतीक हुन् । यी सबै आलुजस्तै हुन् । आलु – जसलाई पोलेर–उसिनेर खाए पनि हुन्छ, कुनै जातको सब्जीमा मिसाएर पकाए पनि अथवा गन्द्रुक, माछा–मासु, दाल आदिसँग मिसेर पकाए पनि मिल्छ । किसिम–किसिमका स्वादमा रुचि राख्नेहरूले अलग–अलग किसिमले परख गर्लान् पनि, तर आम बुझाइमा आलु ‘सबैसित मिल्ने’ सब्जीकै श्रेणीमा पर्दछ । उहिले ३८÷४० वर्षअघि, गृह मन्त्रालय (?)का सचिव माधवराज भण्डारीका कलिला छोरीहरू सुमिता–नमिता उनीहरूकै साथी नीरा पराजुलीसित पोखरा घुम्न गएका बेला राजदरबारको नातेदारका खाइन्–पाइन्ले मटक मरेका साँढेहरूको फेला परेका र जान्दो–सक्तो क्रूर बलात्कारपछि सेती नदी किनारमा आफलिएका कथा कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तमा पुनरावृत्त हुनु र त्यसले छानबीन–तहकीकात प्रकरणमा दुरुस्त उस्तै इतिहास रच्नु, शासकीय स्वरूप जस्तो भए पनि, शैली र प्रकृतिले नै प्रस्ट देखाएको छैन ? सुमिता–नमिता प्रकरणमा राजतान्त्रिक शक्तिको कठोर व्यवधान खडा थियो भने अहिले चाहिँ के तान्त्रिक दरबारको शक्ति व्यवधान बनेको छ त ? तर, यो प्रश्नको आधिकारिक जवाफ त यही साउन ७ गते गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध गर्न सक्तैनौं ।’– भनिसकेपछि उत्तरित हुन के बाँकी रह्यो र ?
— कुनै पनि ‘युगान्तकारी परिवर्तन’ वा ‘क्रान्तिकारी परिवर्तन’ इत्यादि शब्दाभूषणले आभूषित परिवर्तनहरूले फन्को मारे पनि तिनका आभ्यन्तरिक सोच, शैली र प्रकृतिलाई तिनले कुनै असर पादैर्नन् कि कसो हँ ? पहिलाका राजा–महाराजा र रजौटाहरू बाटामा हिंड्दा र आकाशमा उड्दा जसो गराइन्थ्यो, अहिले पनि त्यसै गराइने चलन बरकरार नै छ ! पहिला राजदरबारभित्रकाको चिन्हारी त ईश्वरप्राप्तिको सौभाग्य नै ठहथ्योर्, त्यसको पर्खाल बाहिरको कुनै समरस्वाँठको फुपूकी बुहारीको देवरको मितदाजु पनि ‘माथिको मान्छे’ मानिन्थ्यो भने अहिले पनि राणाशाहीकाल, पञ्चायतकाल र ‘राजावादी’लाई गाली गनेर् ‘ट्याउटिस’ मात्र सिकेका भरमा अहिलेको राजनीतिक ‘नोटिस’मा परेर ठालूकरणको टोले सूचीमा सूचीकृत साविकका झाँक्री माइलो, सुनदन्ते कान्छो, रिट्ठे धामी, कैलुको बाऊ, खसिकट्टा मियाँ, बयलमान राजिन्दरवा इत्यादि भनेर चिनिनेहरूलाई ‘माथिको मान्छे’ भनेर पत्याइदिनुपनेर् अवस्था छ ! ‘माथिको मान्छे’ माने ‘उपल्लो शासकीय शिविरसम्म पहुँच भएको मान्छे’ । अनि शासनशैलीको प्रकृतिले कसरी आलुको प्रकृतिसँग सामञ्जस्य कायम गरिरहने रहेछ भन्ने नमान्नु त ? नमान्ने कुनै तर्क छ ?
— शासनव्यवस्था–राज्यव्यवस्था बदलिएको विवरण र बद्लेको व्यवस्थाका निदेर्शक ग्रन्थको थुप्रो चुलिँदो छ, तर भूइँनागरिकले बुझ्न पाएका छैनन्– व्यवस्था बद्लियो भनेको के बद्लियो भनिएको हो ? भइगो बद्ल्यो भन्ने छापिएको र बद्लेकाका लागि निदेर्शक भनेर छापिएको पढेर अथवा नेता–अगुवादेखि रिट्ठे–कौडेसम्मले भनिरहेको सुनेर व्यवस्था बद्लिएछ भन्ने मानिदिने मनस्थिति बनाउँला । तर, त्यसो गर्न पनि केही न केही आधार त चाहिन्छै चाहिन्छ नि । व्यवस्थासँगै अवस्था बद्लिइदिएको भए व्यवस्था बद्लेको बुझ्न सजिलो हुन्थ्यो । ‘व्यवस्था’ बद्लिएको बुझ्न ‘अवस्था’ बद्लिनुभन्दा अकोर् वैकल्पिक आधार यो ‘बज्रपात’ले नै देखेको छैन । त्यसकारण व्यवस्था बद्लेको जान्ने–बुझ्ने निर्विकल्प विकल्प भनेकै अवस्था बद्लिनु हो भन्ने यसको अडान रहेको छ । कि व्यवस्था चाहिँ बद्लेकै हो, अवस्थामा फेरबदल हुन नदिने चलखेलको अंकुश कहीं–कतैबाट लाग्दैछ त ? पात्रहरूका अनुहार वा वंश बद्लिनुलाई पो व्यवस्था बद्लियो भनिएको हो कि ! यो पनि भाषिक दृष्टिले प्रस्ट हुनसक्ने भएन नि !
— पहिलेको राजा खलकमा मारिनबाट जोगिएका एउटा बेकामे उत्तराधिकारीका ६९ वषेर् बूढा राजा शासनमा फर्किन्छन् भनेर बेला–बेला सर्वशक्तिमानहरू पनि डराएको जस्तो आभाष हुने समाचार आउन छोडेको छैन । मनचाहे शान–शौकत, विलासिता, हुकुमी अहमत्याइँ इत्यादिले समृद्ध ठूला–साना नवोदित राजा–रजौटाहरूले लटरम्म नेपालमा १३ वर्ष अगाडि नै दाह्रा–नङ्रा झारिएको बूढो बाघजस्तै एउटो राजासँग झस्केर त्यसरी डराउनुको पछाडि मनोवैज्ञानिक हीनभावरूपी मनोरोग छ कि, ठीक अनुशरण भएन कि भन्ने धुकचुक पो निहीत छ ? अन्यथा, सर्प गइसकेको गोहो कुटेर काम नपाएकी बुहारीले काम देखाउन पोख्तै–उठाउँदै गरेजस्तो गरेको पो हो कि ! वीर मरेर वीरमशान हुन्छ अरे र त्यो अरु मशानभन्दा हिंस्रक हुन्छ अरे भनिन्छ । कि त्यो बूढो राजा सत्ता–निस्पन्द भएपछि अझ भयानक वीरमशान भएको सोचेर मानवीय कायरता पो नियमित आकस्मिकता भई झम्टिरहेको हो कि !
— जम्मै कुरा एकातिर थन्काएर ‘समृद्धि’ र ‘सुख’को मेलो समाउँ न त भन्दा ती दुई कुरा उहिले ठूला राजा, तिनका नजिक नातेदार र रजौटा खलकले भोग्थे भने अहिले नवोदित राजा–रजौटाबाट क्रमशः तिनका भारदार, आठपहरिया, चूले–चम्चे, गणेशचक्करे, हनुमानचालिसे, भजने–कीर्तने, ढोके, हुक्के, दलाल, बिचौलिया इत्यादिमा झुल्केघामको किरण पूर्वबाट क्रमशः पश्चिम सरेझैं भरिंदै–भरिंदै आइरहेका छन् । बीचका कैंटे, कौडे–कन्दने, गाढे–च्यानेका ‘कचेडा’ नाघेर बल्ल ‘झर्ला र खाउँला’ भनी, त्रिकुटगिरिमा सीताले रामको प्रतीक्षा गरेझैं, प्रतीक्षारत भूइँनागरिकमा आइपुग्न यही जुनीले भ्याउला–नभ्याउला — यसै भन्नु गल्ती हुने ठूलै डर छ अहिले ! खाँटी कुरा यिनै हुन्, अरु चान्चुने–खुद्रा कुरा किन गरिरहने, होइन्त ? तर, लाखे है, कुरा अरु पनि यत्तै–त्यत्तै बग्रेल्ती बाँकी छन् है !
— शेष फेरि —
मेचीखबर साप्ताहिकबाट

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
