
नकुल काजी
महाकवि देवकोटाको एउटा सुन्दा हलुका लागे पनि गहिरिंदा गम्भीर अर्थबोध हुने सूक्ति छ –‘बानीले रानी हुन्छ, बानी बिग्रे खरानी’ हुन्छ । यो सूक्ति यो नितान्त वर्तमानमा संघीय संसद्का पूर्व सभामुख कृष्णबहादुर महरामा चरितार्थ भइराखेको छ । आफ्नै कर्मचारी महिलालाई उनै महिलाको घरमा गई बलात्कार गर्न जबरजस्ती गरेको आरोप लागेका महरा अहिले सो पाखण्डपूर्ण घटनाको अनुसन्धानार्थ प्रहरी हिरासतमा छन् । राज्य सञ्चालनका तीन प्रमुख अंगहरूमध्ये मर्यादाव्रmममा दोस्रो संघीय संसद् (व्यवस्थापिका)–का प्रमुख जस्ता व्यक्तिको यो चारित्रिक हविगतले राष्ट्र र सम्पूर्ण राष्ट्रबासीलाई नै लज्जित मात्र तुल्याएको छैन, अन्तरर्ाष्ट्रिय जगतमै नेपालको शिर झुक्ने स्थिति खडा गरेको छ ।
यौन दुव्र्यवहार, व्यक्ति हत्या र क्षेत्रीय दादागिरी जस्ता घटनाहरूमा राज्यका निम्ति कानून बनाउने नीति निर्माण गर्ने जिम्मेवारीमा पुगेका व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेपछि त्यसको कालो परावर्तन राष्ट्रको छविमाथि पर्नु स्वाभाविक हुन्छ । स्वयम् नीति–निर्माता सांसदहरू नै बदमाशीमा प्रवृत्त हुनुले राजनीतिका प्रति नै पनि गलत सन्देश प्रवाह हुनु स्वाभाविक हुन्छ – जो बहुदलीय लोकतान्त्रिक मुलुकका लागि हदै दुर्भाग्य हो ।

तत्कालीन संविधानसभाका सभासद्हरू गायत्री साहा, शिवपुजन राय यादव, नारदमुनी राना कुटनीतिक राहदानी दुरुपयोग मामिलामा मुछिए यताका घटनाहरू अझ घिनलाग्दा छन् । भारतीय गुण्डा–हत्याराहरूलाई पृष्ठशक्ति बनाएर कैलालीको टीकापुर क्षेत्रमा भयावह व्यक्ति बनेका रेशम चौधरी एसएसपीलगायत सात सुरक्षाकर्मी र एउटा नाबालकको हत्याको अभियोगमा कारागारमा छन् । उनी राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलालीको १ नं. क्षेत्रका सांसद छँदैछन् । समाजवादी पार्टीका तर्फबाट सांसद बनेका हरिनारायण रौनियार भ्रष्टाचारी ठहर भई हाल निलम्बित छन् । नेपाली चेलीहरूको चरित्रको मानमर्दन गर्ने तथानाम बोलेका तत्कालीन मंत्री शेरबहादुर तामाङले पदबाट हट्नु प¥यो । काठमाडौं महानगरको प्रमुख हुँदा महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने केशव स्थापित प्रदेश नं– ३ को मंत्री पदबाट फालिए । सुदूर पश्चिम प्रदेशका मंत्री दीर्घ भण्डारी यौन दुराचारी सिद्ध भई पदबाट हटाइए । मनाङबाट प्रदेशसभा सदस्य बनेका दीपक मनाङे ‘गुण्डा नायिके’–का रूपमा प्रहरीको खोजीमा रहँदा भूगिगत बस्नुपर्ने अवस्थामा थिए – पछि सत्तारुढ पार्टीको संरक्षण पाएर सतहमा आए । नेपाली कांग्रेसका उम्मेदवार भई रौतहट क्षेत्र नं– २ बाट संघीय सांसद निर्वाचित मोहम्मद आफताब आलम १२ वर्ष अघि बम विस्फोट गराई १३ जना घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गर्ने हत्याराको रूपमा हाल पक्राउ परेका छन् । राष्ट्रिय जनता दलका तर्फबाट सर्लाही क्षेत्र नं– १ बाट संघीय सांसद निर्वाचित प्रमोदकुमार साहाले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा गुण्डागर्दी गरी तोडफोड समेत गरेको कसुरमा गत मंगलबार पक्राउ परेका छन् । पछिल्लो जानकारी अनुसार, स्थानीय तहको चुनावताका काठमाडौं गौशालामा वीरध्वज खड्कामाथि ज्यानै जानेगरी आक्रमण गरेको कसुरमा सत्तारुढ नेकपाका संघीय सांसद पार्वत गुरुङलाई पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ । इत्यादि ।
पार्टीको अमूर्त स्वरूपलाई त्यसका नेताका गतिविधिले मूर्तिमान तुल्याउँछ । यस अर्थमा संघीय संसद् जस्तो उच्च मर्यादित संस्थालाई मूर्तिमान तुल्याउने सांसद हुन् । लोकतान्त्रिक–गणतन्त्रमा राज्यव्यवस्थाको मेरुदण्ड मानिने संस्था संघीय संसद् हो । त्यसलाई अस्तित्वमा आकृत गराउने जिम्मेवारहरू नै यौन दुराचारी, भ्रष्टाचारी, ज्यानमारा, गुण्डा इत्यादि दुर्गुणयुक्त भएपछि देशमा बेथिति बढ्नु नितान्त स्वाभाविक हुन्छ । र, यो स्वाभाविकता नै यसबेला यस देशको अर्काे दुर्भाग्य भइरहेको छ ।
चारित्रिक रूपमा दोषी–अपराधीहरूलाई ठेगान लगाउनु आजको प्रमुख आवश्यकता बनेको छ –ती जो सत्ताधिकारमा गजधम्मिएका हुन् वा नागरिक तप्कामा चलखेल गर्ने साधुबिरालाहरू नै किन नहुन् । व्यक्तिको गलत चरित्रले संस्थाको छविलाई प्रदूषित तुल्याउँछ भन्ने त सामान्य ज्ञानकै विषय हो । समग्रमा मुलुकमा बढ्दो दण्डहीनताको समयमै अन्त्य गर्ने आवश्यकता अपरिहार्य भएको छ । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
