
‘बुझिन होउ केटा ! मैले कुरै बुझिन ! अलिकति केही कुरा त भन्दे न ! बुझ्न अनेक कोशिश गरें, तर कतै केही अत्तोपत्तो लागेन । मेरो दिमागको बुझ्ने तन्तु नै सुक्यो कि क्या हो’ भन्दै आएर माइलाबा आज पसारा परे ।
के बुझ्नु भएन भनेर मैले सोधें । अनि बुढाले भने– ‘के बुझिन भन्नेसम्म बुझेको भए त भइगएको थियो नि ! नबुझेको कुरा के हो–त्यही नै बुझिन ।’
मैले मनमनै विचार गरें… यी कस्ता बाउँठा, डेउढा, कोक्ल्याँटा खोते बुढा ? उनले के कुरा सोधेका हुन् – त्यो कुरो मैले पनि बुझिन भने उनले के बुझेनन् भन्ने कुरा मैले कसरी बुझ्नु ? कम्तीमा यो–यो बुझें, यो–यो बुझिन भने पो बुझाउनु । के नबुझेको, त्यही थाहा छैन अरे ! कस्तो अचम्म ! आफ्ने दश काम बितिरहेको बेलामा अत्तो थाप्तै आएका बुढादेखि रिस–रिस उठ्यो । एक्लै बड्बडाइरहुन् भनेर म चूप लागें ।
बुढा एक्लै बक्न थाले– ‘हामी सबैको प्रतिनिधि भनेको सरकार नै हो । हामीमाथि शासन गर भनेर छानेर चुनेर पठाएको हामीले नै हो । गनैर् चाहँदा सरकारलाई रोक्ने छेक्ने अकोर् कोही छैन । उसले सकेन भने अरु कस्ले सक्छ ? सरकार पनि बलियो र लुते हुन्छ भन्दा रान् । अहिलेको सरकार बलियो अरे । यस्तो बलियो सरकारले नाना प्रकारका विसंगति विकृतिलाई बढार्न किन नसकेको होला भनेर अनेक गिदी गिजोलेर बुझ्न बल गर्छु, तर अहँ…मेरो दिमागले बुझ्दै बुझ्दैन । कतै हामीले नै चुने–छानेको मान्छे विकृत र विसंगत त छैनन् भनेर बेलाबेलामा टाउको रिङ्न खोज्छ । पढे–लेखेका धनीमानी, टाठाबाठा, सुकिलामुकिला मान्छेहरूले त पक्कै पनि कुरे बुझे होलान् । तर, म जस्तो हलीलाई कस्ले भन्दिन्छ र बुझ्नेगरी । तँ पनि अलिकति पढे–लेखेकै मान्छे भनेर सोध्न आएको । तैले त झन् मेरो प्रश्नै बुझिनस् । देश–दुनियाँ के बुझेको होलास् र !’
बुढा बोल्न रोकिएनन्– ‘हाम्रा देशका यी तस्कर, माफिया, भ्रष्ट, बिचौलिया ठग…आदि जात थर गोत्रका मान्छेहरू सरकारसँग केका बलमा सिङ जोड्न सक्छन् र ? बेलाबेलामा सरकारलाई नै ग्वाँ बनाएको देख्छु । सरकारसँग तीन करोड मान्छेको बल हुन्छ, तर यिनीहरूको बल चाहिं कहाँ छ ? उनीहरू नै देश–दुनियाँ लुट्छन्, कुरा पनि उनैका ठूला ? हो, यहींनेर मैले के बुझिन भने नै बुझिन । अहिले विकास निर्माणका नाउँमा गाउँ–शहर, पहाड–मधेश सर्वत्र खनेर खोस्रेर नङ्ग्रयाएर धूलो उडाएका छन् । पहाडलाई थिल्थिल्याएर पैह्रो गइरहेको छ भने बर्षामा हिलोले बिजोग बनाएको छ । काम गर्न थालिएका बाटाघाटा र पुल कुनै पूर्ण छैनन् । जनताले साह्रै ठूलो संकट व्यहोदैर् छन् । तोकिएको समयमा कहीं–कतै काम भएको छैन । बाटाकै कारण वायु प्रदूषण भएर जनस्वास्थ्यमा ठूलो असर परिरहेको छ । बर्षामा बाटाका खाल्डामा धेरै केटाकेटी र वृद्धवृद्धाको ज्यान गइरहेको छ । ठेकेदार इन्जिनीयर हाकिम प्रशासक… सरोकारवालाहरू मजाले उघ्राएर बसिरहेका छन् !’…
‘…ठेकेदारहरूका लापर्वाहीका कुरा र बाटो निर्माणमा भएका भ्रष्टाचारका कुरा दिनहूँ मिडियाहरूमा आइरहेको छ । कहीँ–कतै एकाध तयार भएका बाटाहरू पनि बनाउँदा–बनाउँदै भत्किएको, भ्रष्ट मोथे र देशद्रोही झारले बनाएको एक महिना नबित्दै कालोपत्रेलाई हरियै बनाएको सबैको आँखा अगाडि छ्याङ्गै छ । यस्ता ठेकेदारहरूलाई कार्वाही गर्न सरकारलाई चाहिं केले छेकेको छ ? समयमा काम सम्पन्न नगनेर् ठेकेदारलाई थालेको काम सम्पन्न नगरी अकोर् ठेक्का नदिन किन सक्तैन सरकार ? हुँदाहुँदै अब त कालीमाटीको तर्कारी बजारमा विषादि परीक्षण गर्न आएका कर्मचारीहरूलाई तर्कारी व्यापारीहरूले टाउकामा ढकले बजारे झैं निर्माण व्यवसायीहरू नै आन्दोलनमा उत्रिने अरे ! हो…यहींनेर के बुझिएन भन्ने कुरा नै बुझिएन । धेरैजसो चङ्खे चतुरे जनप्रतिनिधिले जेसीबी, ट्रिपर गाडी किनेका छन् भन्ने सुनिन्छ । जेसीबीलाई काम लाउनकै निम्ति अन्धाधुन्दा जताततै खन्ने र पहाड भत्काउने काम तीव्र रूपमा भएको होला । भत्काएपछि बनाउनु पनि पर्छ भन्ने कुरो जेसीबीको भाडा उठाई खानेहरूलाई के थाहा ? सबकासब मान्छे आ–आफ्नो स्वार्थको सोझेरी ताकेर कमाउधन्धामा निस्लोट भएर भिडेपछि बुझिने कुराभन्दा नबुझिने कुरा बढी हुँदारा’न् ।’
मैले मनमनै विचार गरें… यी बुढा चूप लागेर घरमा बस्नु, आफूले सकेको काम गर्नु, छोरा–बुहारीलाई अराउनु, तातो–चिसो ल्याओ भनेर खानु, यस्ता दुनियाँभरिका कुरा गिदीमा गिजोलेर किन हिंड्नु पर्या होला ? यिनले पीर औडाहा बोकेर दुनियाँ संसार सम्याउन सक्छन् ? अझ यस्ता निर्माणमा बीस–पच्चीस प्रतिशत मात्रै काम हुन्छ, बाँकी तलदेखि माथिसम्म मिलाएर खान्छन् भन्ने कुरा बुझ्नु हो भने, अझ उनैले भोट दिएको मान्छे पनि भागीमा बसेको छ भन्ने थाहा पाउनु हो भने बुढा बौलाएर हिंड्ने रहेछन् । यी बुढाले कुरो नबुझेकै ठीक छ । ठेकेदारहरूले मोटो रकम कार्वाही गनेर् ठाउँमा नपुर्याउने हो भने तिनको धर्नाशो चुँडाइहाल्छन् नि ! पक्कै पनि बुढाले नबुझेको कुरो यही हुनु पर्छ ।
बुढा भने एकतमासले बकिरहेका थिए– ‘देशमा भ्रष्टाचार बढ्यो भनेर मिडिया कराउँछ । जो भ्रष्टाचार गर्छन्, उनीहरू नै भ्रष्टाचारले देशलाई खोक्रो बनायो भनेर कन्दनी चुडिउञ्जेल भाषण भुक्छन् । धेरैवटा त्यस्ता सरकारी अड्डा छन्, जहाँ राजश्वमात्रै तिरेर काम निकाल्न सकिंदै सकिंदैन । कतिपय कार्यालयमा त कर तिर्न जाँदा पनि घुस खुवाउनु पर्छ । यी त सानाखाले कुरा भए । एनसेलले घुस खुवाएकै भरमा त्रिसठ्ठी अर्ब कर छुट पायो । कहाँ छन्–कानून कार्यान्वयन गर्नहरू ? एनसेल जस्तो अरु कति होलान् कर नतिनेर्हरू यस देशमा ? जगजाहेर कुरालाई पनि आगोलाई कपडाले छोपे झैं कस्ले किन छोपेर राखेको होला ? हो, यही कुरा नबुझेको हो मैले । हरेक दिनजसो फलानो घुस खाँदाखाँदै पक्रा प¥यो भनेर समाचारमा आउँछ । ती पक्राउ पनेर्हरूलाई के दण्ड–सजाय गरिन्छ ? कता सरुवा–बढुवा गरिन्छ अथवा कुन जेलको छिँडीमा हावा ख्वाइन्छ – चु्इँक्क कोही कतै बोल्दैनन् । त्यसभित्रको कुरो के हो, त्यो पनि बुभिंmदैन ।’
मैले बुढालाई भनें– ए माइलाबा ! तपाईंलाई पनि घुस खान मन लाग्या हो ? घुस खानु भनेको डरलाग्दो पाप होइन, रहरलाग्दो पाप हो । घुस खानलाई पद पोष्टमा बसेको पढे–लेखेको मान्छे हुनु पर्छ, तपाईंबाट पार लाग्दैन । त्यसकारण तपाईं कुनै पार्टीको टिकट काटेर सदस्यता लिनुहोस् अनि अलिक दादागिरी गुण्डागर्दी गदैर् ठेकेदारहरूसँग पुग्नुहोस् र धम्क्याउँदै भन्नुहोस् – यो बाटामा आवश्यक गिटी म आपूर्ति गर्छु, अरुबाट किन्न पाउनु हुन्न भन्नुहोस् । अनि कुनै ट्रिपरलाई भनेर गिटी झार्नुहोस् । ट्रिपरलाई आठ हजारका दरले दिनुहोस्, ठेकेदारबाट बाह्र हजारका दरले लिनुहोस् । एक–दुई बर्षमा तपाईं पनि पार्टीका झोले, ठेउके, धुपौरे कार्यकर्ता जस्तै कारमा सुइँकिन थाल्नु हुन्छ । नबुझिने कुरा बुझ्न किन बल गर्नु हुन्छ ? बुझेको काम गर्न थाल्नुहोस् न थपक्क ।
बुढाले अलिक मुख मिठ्याए झैं गरे अनि भने– ‘हो… यस्तो अक्कलको कुरा गर् न ! आफूले त नबुझेरै दुःख पाइयो । मेनपावर कम्पनीमा गाउँबाट केटाकेटी फकाएर ल्याउँदै झोस्तै गरौंला र पैसो कमाउँला भनेर विचार गर्दागदैर् फ्री टिकट–फ्री भिसाको नारा आयो । त्यसपछि त मेरो विचार नै ढिसमिस भयो । कतै केही गर्दा पनि भएन । अब पनि बारी खनेर, सुठुनी रोपेर कहिले उँभो लाग्नु ? अरु अरु नबुझेको कुरा बुझ्न खोजेको, तर मैले के बुझिन भन्ने नै बुझिन । त्यसैले तँसँग आएको ।’
मैले भनें– राम्रो काम कुरा सोच्नुभएको र छ त । फ्री भिसा–फ्री टिकट भनेको त नेता मन्त्रीहरूले जनतालाई सुनाउन, के जातिको न्यानो भने झै भन्दिएको पो त ! लाखौंलाख रुपैयाँ म्यानपावरलाई नबुझाइ को विदेश जान सकेको छ र ? म्यानपावर कम्पनीहरूले तिनका आराध्य देउतालाई फूलफलेदो चढाउन छोडे क्यार अनि ठेगान लाउनलाई यसो दच्काएको मात्रै होला नि । साँच्चै जनताका पक्षमा निर्णय गरेका भए सरकारले लागू गर्न किन सक्तैनथ्यो र ! उहिले तिनका धर्नाशो चुडाइ सक्थ्यो । त्यहाँभित्र पनि अलिकति गाँजे गेजु गजमौरो नबुझिने कुरा छन् । यसो साला भान्जा भतिजाहरूले गरिखाउन् भन्ने पनि हुँदो हो । पत्रम् पुष्पम्का कुरा होलान् ! भित्र अझै के–के छ, सबै त कहाँ बुझिन्छ र ! सरकारी मान्छे कडाइका साथ प्रस्तुत हुँदा उनीहरूका पनि नून–तेलका कुरा होलान् ! भित्र के–के छ, कसरी पो सप्पै बुझ्न सकिन्छ र ? आफैंले गरेको निर्णय पनि लागू गर्न नसक्ने त्यति पंगु हुन्छ र सरकार भनेको ! भइगो छोडनुहोस्, सबै कुरा बुझ्न बल पनि गर्नु हुँदैन । सबै कुरा हेर्न–चियाउनु हुँदैन । च्याउँदा देखियो भने आफ्नै आँखो फुलो पर्छ ।
अनि बल्ल बुढाले भने– ‘कुरो झण्डै नेरै ल्याइस् होउ केटा ! के जातिको खाडीमा मुख गाडेर खाँदै गरेको सुँगुरलाई उसैको मालिकले धपाउन खोज्दा पनि टोक्न आइलाग्छ भने भ्रष्ट तस्कर माफिया ठग बिचौलियाहरू आफूले मुख गाडे ठाउँमा किन छोड्थे ? एक नम्बरी काम गरेर दाल–भात खाएर मात्रै मान्छे किन बस्थे ! अझै पनि मैले राम्ररी बुझेको चाहिं छैन । २८ हजार तलब खाने सुब्बाले दुई बर्षमै काठमाडौंमा महल कसरी बनाउँछ ? सुब्बाभन्दा माथिकाले झन् के–के गर्छन् ? त्यसमाथि राजनीतिको जागिर खानेको त कुरै नगरौं, धेरै बुझ्न बाँकी पनि रह्यो । म भोलि आउँछु’ भन्दै आज पनि बुढा उठेर हिंडे । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

