
— मुलुकमा समृद्धिको भाका हालिएको छ । समृद्धिको त्यो भाकामा लय भने छैन । देश समृद्ध र नागरिक खुशी हुन भाकाअनुरुप लय पनि मिल्न जरुरी हुन्छ । उद्देश्य वा लक्ष्य सबथोक होइन, तद्नुरुप कर्मशील नभएसम्मन् त्यो उद्देश्य तिरोहित भइरहन्छ नै । परिवारमै पनि सदस्यहरूबीच सोच र कार्यशैलीमा तादात्म्य कायम भएन भने कलहको वीजारोपण हुन्छ र त्यो गृहस्थी चल्न सक्दैन ।
— देश पनि एउटा ठूलो घर नै हो । त्यसका सदस्यहरूबीच घरमा अमनचयन कायम राख्दै समुन्नत आगततर्फ डो¥याउन क्षमताअनुसार कार्यविभाजन र लक्ष्यकेन्द्रित समर्पण अपरिहार्य हुने हुन्छ । तर, विडम्बना के छ भने, विवेकशील र चेतनशील भनिने मानिस प्राणीहरूमा सर्वश्रेष्ठ भनिए पनि कत्र्तव्यपालनमा चुकिरहेको छ, दायित्व निर्वाहमा धर्मराइरहेको छ, न गुणी नै हुन सकिरहेको छ !
— परिस्थिति आफ्नो अनुकूल भएन भनेर गुनासो गर्नु, अरुको आलोचना गर्नु र दोष मढेर धारे हात लाउनुको साटो वा कामबाट विरत हुनुको सट्टा आफ्नो क्षमताको भरपूर उपयोग गर्नतिर केन्द्रित हुन सक्दा परिणाम अनुकूल हुन सक्छ । तर यदि सोचअनुरुप काम भइरहेको छैन भने सोच बदल्नुहोस्, बाटो बदल्नुहोस्; नकि लक्ष्यप्रतिको लगन । किनभने रुखले जहिल्यै पात बदल्ने गर्छ, जरा होइन ।
— सबैको गन्तव्य एउटै हो । जीवन छोटो छ । जतिसुकै लोभ–लालच गरे पनि कसैले पनि लिएर जाने केही होइन । यदि जोगाएको छ भने परिवारलाई सम्पत्ति छोड्छ भने सत्कर्म गरेको छ भने समाजलाई कीर्ति । र, त्यही सत्कर्मद्वारा स्थापित कीर्ति नै जीवनको सदुपयोग पनि हो ।
— भनिन्छ नि– अज्ञानी व्यक्ति साढे समान हुन्छ, ऊ ज्ञानमा नभई आकारमा ठूलो देखिन्छ ।
कीराले अन्नलाई जसरी नष्ट गर्दछ – कपट, द्वेष र इष्र्याले मानिसलाई नष्ट गर्छ । क्षमता छ भनेर मात्रै पनि हुँदैन, क्षमता त त्यसको उपयोगमा निर्भर हुन्छ । सयौं वर्षदेखि सूर्यले जलाउन नसकेको टुक्रा कागजलाई एउटा सानो लेन्सले क्षणभरमै त्यही सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ ।
— हामी कसैले पनि बितेका पल बदल्न सक्दैनौं, तर आगत (भविष्य) बदल्न सक्छौं । यो संसारलाई पनि जान्नेहरूले भन्दा लगनशील भएर लक्ष्यअनुरुप काम गरिरहनेहरूले उन्नत बनाएका हुन् । कुनै विद्वानले भनेका नै छन्— विश्व बदल्नु अघि देश बदल, देश बदल्नु अघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल र परिवार बदल्नु अघि आफैंलाई बदल । र, आफूलाई बदल्न आफ्नो सोच अवश्य बदल । किनभने लक्ष्यको शुरुवाती पाइला आफैंले चाल्न जरुरी हुन्छ । त्यो पाइला नै प्रकारान्तरले लक्ष्यभेदन (उद्देश्यप्राप्ति)का लागि प्रक्षेपण गरिएको मिसाइलसरह हुन्छ ।
— हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्ताउस्तै हुन्, जसलाई फुटाउनै पदैर्न, आफैं फुट्छ । जब बतास चल्छ, त्यसले बल्दै गरेको दियोलाई निभाइदिन सक्छ भने सल्किइसकेको जंगलको डढेलोलाई अझ दन्काइदिन्छ ।
— त्यसैले ढिलो नगरिकन अब त समृद्धिको सरकारी भाकामा जमान अनुरुपकै इमान, कत्र्तव्यपरायण र हरहालमा सार्वभौम नागरिकप्रति जवाफदेही संस्कारको लय पनि हालौं । सरकारको समृद्धिस्वरमा आम नागरिकले पनि स्वतःस्फूर्त समवेत स्वरको संगीत भरुन् । प्रतिपक्षीहरूको आलोचना पनि अग्निजस्तो कागजलाई खरानी बनाउने जस्तो नहोस्, बरु कैंची जस्तो होस्, ताकि काटेर आवश्यकता अनुसार बनाउन सकियोस् । तमाम दलहरूले आफ्नो दुनो सोझ्याउने दुम्दुभी मात्र नबजाउन्, सभ्य र स्वस्थ प्रतिस्पर्धा अर्थात् काम गरेर देखाउने होड चाहिं गरुन् । केवल ओठे नारा र सिद्धान्तको फलाको हालेर अब न यस देशमा समृद्धि आउँछ, न नागरिक खुशी हुने दिन आउँछ । नत्र भन्नुपनेर् हुन्छ – रित्तो भाँडाले ज्यादा आवाज निकाल्छ ।
— उद्देश्यप्राप्ति वा सफलताका लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशीलता अपरिहार्य हुने हुन्छ । कामले मात्र नभएर काम गनेर् निरन्तरताले सफलता दर्ज गनेर् हो । पहाड चढ्ने सपना देख्ने मानिसहरूले पहिला त घर अगाडिको तगारो नाघेर अघि बढ्न सक्नु पर्छ । बहादुर त्यो होइन, जो डराउँदैन । अपितु बहादुर त त्यो हो, जो डरका बाबजुद अघि बढ्छ ।
— सबथोक पाएर पनि निष्काम रहनु भनेको आउने दिनहरूमा सबैथोक गुमाउनु हो । तर, अझै पनि आशा गरौं, समृद्धि प्राप्तिका लागि भाष्य मात्रै नभएर अब कर्मशील आगतको पनि शुरुवात हुनेछ – आशा भनेको जागा अवस्थाको सपना नै त हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

