
राजबाबु शंकर
— चाणक्य नीतिमा भनिएको छ– जो मानिस कुनै सोचविचार नगरिकन केही समयको सुखमा तृष्णाशक्त भएर केही गलत आचरण गर्छ, त्यस्ता मानिसको पूरै जीवन खराब हुन्छ । हामी मानव जाति बाहेक संसारका हरेक प्राणी आ–आफ्नो नियममा बसेका हुन्छन् । खानाका रूपमा बाघले कहिल्यै घाँस खाँदैन, गाईले मासु खाँदैन, घोडा कहिल्यै बस्दैन र कुकुरले स्वामीभक्ति कहिल्यै छोड्दैन । तर, विडम्बना… चेतनशील र विवेकशील मानिने मानव जाति नै ती अरु मूक प्राणी सरह न आफ्नो नियममा बाँधिएका छौं, न कत्र्तव्य पालनामा आज्ञाकारी र गुणवान नै हुन सकेका छौं ।
— आर्थिक अपारदर्शितालाई सोझै भ्रष्टाचार मान्ने हाम्रै समाजमा वषौर्ंवर्षदेखि पुण्यार्जन गर्न भन्दै सालिन्ने पुराणादिकोे धार्मिक कृत्य गनेर् चलन चलिआएको पाइन्छ । तर, अक्सर त्यस्ता आयोजनको समापनपश्चात् संकलन भएको उल्लेख्य रकमादिको विवरण सार्वजनिक गनेर् थिति बस्न नसक्नुले पनि त्यस्तै अपारदर्शिताको आरोप खेप्तै आएको छ । अब सिजन पनि त्यस्ता हिन्दू धार्मिक आयोजनहरूको शुरु भएको छ, धान पाकेर भित्रिन थालेपछिको समय विविधनामे पुराण र अन्नदानको छेक मानिंदै आएको यही बेला दाता र आयोजकहरूबीच यो बहस अपरिहार्य छ ।
— मूलतः मानवको सेवा र परोपकार नै भगवानको सेवा हो भन्ने मानिनु जरुरी छ । पुराणादि धार्मिक आयोजन अथवा मन्दिरमा भेटी चढाउँदैमा धर्म हुने होइन, धर्म त सहयोगको याचना गरिरहेका असहाय भोका–नांगा मानवलाई सहयोग गर्नु हो । त्यही परोपकार नै सवोर्त्तम धर्म हो र पुण्यप्राप्तिको मार्ग पनि त्यसैलाई ठानिनु आजको समयको मांग हो । धर्मको अन्तर्य र सन्देश पनि त्यही नै हो ।
— जब मानिसले जन्म लिन्छ, उसित सास हुन्छ तर नाम हुँदैन र जब मानिसको मृत्यु हुन्छ, तब उसित नाम त हुन्छ तर सास हुँदैन । यही सास र नाम बीचको समयलाई नै जीवन भनिने हो र सत्कर्म नै जीवनलाई सदुपयोग गनेर् माध्यम हो । त्यस्तै सोचअनुरुपको कर्मले मात्र हामीले हाम्रो जीवनलाई, अन्ततः यो हाम्रो समाजलाई विभेदरहित ढंगले उन्नत बनाउन सक्छौं । नकि सत्कर्म बिनाको धार्मिक आयोजनले । प्रायः मानिस यो भ्रममा बाँचिरहेका हुन्छन् कि, सफलता सुकर्ममा नभएर धर्म र भाग्यमा अडेको हुन्छ ।
— अपारदर्शिताको अकोर् प्रसंग पनि छ ः धर्मको व्यानरमा जस्तै विभिन्न सामाजिक संंस्थाहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गनेर् गर्छन् । सेवामुखी भनिने संस्था (अपाङ्ग, बाल र बृद्धाश्रम) को सहयोगार्थ गरिने विविध कार्यक्रम, त्यस्तै अन्य संस्थाहरुले लगाउने मेला एवम् खेलकुद (झापा गोल्डकप प्रतियोगिता) आयोजक कतिपय संस्थाहरुले चन्दा संकलन गरेर र आन्तरिक स्रोतबाट व्यहोरिने विभिन्न कार्यक्रमहरूको हरहिसाब पनि यथासमय सार्वजनिक गनेर् गरिएको पाइँदैन । कार्यक्रम सार्वजनिक हुन्छ, तर हरहिसाब भने सार्वजनिक हुँदैन । संस्था सार्वजनिक हो भने आय–व्यय पनि सार्वजनिक हुनुपनेर् होइन र ?
— केही सरकारी कार्यालयको प्रयोजनार्थ फारम बिक्रीमार्फत् एकाध सामाजिक संस्था (स्काउट लगायत) ले अनिवार्य रुपमा संकलन गनेर् गरेको रकमको पनि खै खबर गुपचुप राख्ने गरिएको छ । एयरपोर्ट लगायतका स्थानमा राखिएका दानपेटिकामा संकलित रकमको पनि सार्वजनिक जानकारी दिइने गरिएको पाइन्न । दाताबाट नामे वा बेनामे जुनसुकै स्वरुपमा प्राप्त आर्थिक वा जिन्सी सहयोगको विवरण सार्वजनिक नगरिनु पनि अन्ततः भ्रष्टाचारै हो । र, भ्रष्टाचार कानूननः दण्डभागी हुने गर्दछ भने यस तर्फ नियामक निकाय आजपर्यन्त चन्कालो नहुनु पनि भ्रष्टाचारकै अकोर् पाटो ठहर्दछ ।
— आर्थिक अपारदर्शिता भनौं या भ्रष्टाचार नै भनौं, नागरिक कित्तामा रहेका आम मानिस त्यस्को सख्त विरोधी हुने गर्दछन् । सरकारी पदधारीहरूले गरेका अनेक खाले भ्रष्टाचारजन्य कुकर्मको खुलेर चकोर् विरोध गनेर् हाम्रो स्वभाव नै बनिसकेको छ । तर, विभिन्न सामाजिक वा धार्मिक संस्थाहरूमा आबद्ध भएका पदधारीहरू, जो त्यही नागरिक कित्ताकै हुन्छन्, चाहिं पारदर्शी भएर स्वयम् उदाहरण हुने गदैर्नन् वा चाहँदैनन् ! यस्तो दोहोरो मापदण्ड लामो समय यता सिएँ (छेद) बनेर हाम्रो समाजमा अन्तर्घुलित छ । विरोध गनेर्ले त्यस्तो मापदण्ड पहिले आफूमै लागू गर्नुपनेर् होइन ?
— असफलताका दुई कारण हुन सक्छन्– एक ः कसैको सल्लाह नमान्नु र अकोर् ः सबैको सल्लाह मान्नु अर्थात् आफ्नो विवेकको चाहिं प्रयोग नगर्नु । ‘खिचडी’ एउटा यस्तो परिकार हो, जुन भान्सामा कम र मान्छेको दिमागमा ज्यादातर पाक्ने गर्दछ । सोही खिचडी मनोविज्ञान त्यस्ता भ्रष्टाचारजन्य कुकर्मका उत्प्रेरक भइआएका छन् । गुलाबको बोटमा पनि काँडा हुन्छ, चन्द्रमामा पनि कालो धब्बा हुन्छ । हाम्रा महाकवि देवकोटा अचाक्ली चुरोट पिउँथे, अंग्रेज साहित्यकार अनेर्स्ट हेमिंग्वे सुराका अम्मली थिए, कुनै न कुनै ख्यातनाम व्यक्तिमा त्यस्ता नकारात्मक बानी थिए । नकारात्मकता प्रायः हामी सबैभित्र हुन्छ, तर हरहमेशा हाम्रो प्रयत्न चाहिं सकारात्मकताले त्यसलाई जित्ने हुनैपर्छ । असल र खराब त हाम्रै सोचाइको उपज न हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

