
तित्रा
आजको यो पैसाको संसारमा बिना पैसाको, मुफतको, निःशुल्क चिजको कुनै मानेमुला महत्व रहँदैन । निःशुल्क भनेपछि त्यसको वजन, गरिमा, महिमा नै समाप्त हुन्छ भन्ने कुरा सरकारी विद्यालयहरू निःशुल्क भएपछि विद्यार्थीहरूको परिणामले देखाइरहेकै छ । भोजभतेरहरूमा खाइनसकेर मिल्काएको खाद्यान्नको दुरुपयोग पनि निःशुल्ककै परिणति हो । होटलमा किनेर खाएको मासु चाटीचुटी खाने मात्र होइन, बटुकै निलौंला झैं गनेर् मान्छे कुनै भोजमा पुग्यो भने एक थाल मासु पस्किन्छ र आधा खान्छ अनि आधा फ्याक्छ । किनभने त्यहाँ पैसा तिर्नु पदैर्न । आचारविचार, विवेक, चरित्रका कुरै नगरे हुन्छ, त्यस्ता मान्छेका निम्ति आर्थिक दण्ड आवश्यक छ । भोजभतेरमा पनि भरपेट खाएको निःशुल्क र फ्याँकेको चाहिं चकोर् मूल्य असुल्ने हो भने त्यो दुष्चरित्र तुरुन्तै सुध्रिन्छ । अनि मात्रै चिजबिजको सदुपयोग हुँदो हो ।
अहिले मोबाइल बाँड्ने कम्पनीहरूले विभिन्न शीर्षकमा कुस्त शुल्क असुले पनि, करमाथि कर थोपरे पनि, मोबाइलबाट फोटो खिचेको कुनै शुल्क लिंदैन । भतेरमा गएर एक टपरो खाद्य पस्केर आधा खाएर आधा फ्याँकेर दुरुपयोग भएजस्तै अनावश्यक रूपमा मोबाइलबाट फोटो खिच्ने काम अत्यधिक बढेर गएको छ । चाराना वा आठाना मात्रै फोटोको प्रत्येक क्लिकमा झुण्ड्याई दिने हो पन्चानब्बे प्रतिशत फोटो खिच्ने कार्य घट्छ । ‘चमडी जाए, दमडी नजाए’का सिद्धान्तवादी यहाँ धेरै छन् ।
काम कुरो कता के हो, थाहा–पत्तो छैन । जहाँ गए पनि, जे गरे पनि मोबाइल झिकिहाल्यो, फोटो खिचिहाल्यो । घाँस काटेको, थाल चाटेको, कपाल बाटेको, रिबिन साटेको… सबैको फोटो खिचिहाल्नु पनेर् ? किन चाहियो त्यस्तो फोटो ? नानी जन्मेर भूइँमा खस्तानखस्तै सालनालसँगैका फोटो खिचेर पेmसबूकमा हालिदिने मात्रै होइन, आमाले नानी जन्माउँदै गरेको समेत फोटो खिच्न मोबाइलवालाहरू पछि पदैर्नन् ! फोटो सँगसँगै अरु के–के पनि हेर्नु पनेर् हुन्छ ।
नानी जन्ंिमदाको कुरो मात्रै होइन, आज जाडोले सतायो भन्ने स्टाटस लेख्तै नयाँ ज्याकेटको फोटो हालेकै छ, औधी गर्मी भो भन्दै नाङ्गा फोटा हालेकै छ । रुघाले सतायो, जाँडले मतायो, गाँजाले धतायो, रक्सीले ततायो…इत्यादि भन्दै फोटो खिचेका छन्, फेसबूकमा हालेका छन् । जन्ती जान आँट्तै गर्दाको, बजार निस्कन खोज्दै गर्दाको, फुर्सदको उपयोग, मित्रसँग भेटेको संयोग, अस्पतालमा डाक्टरको पालो पर्खदै गरेको बेलाको फोटो र दीर्घ जीवनको निम्ति योग भन्दै टाउको टेकेको फोटो पनि फेसबूकमा हालेकै छ । आखिर सित्तैको खेल न भो !
कसैलाई खोलाले बगायो भने उसको उद्घार गर्नुभन्दा बगाउँदै गरेको फोटो खिच्नेतर्फ ध्यान, कसैको घरमा आगो लाग्यो भने बाल्टी बोकेर पानी लिन दौडिनुको साटो मोबाइल झिकेर तस्वीर लिने, बाटामा दुर्घटना भयो भने पनि सबै काम छोडेर मोबाइलमा फोटो, गाईमा गोरु लागेको, चोर भागेको, निन्द्रा नलागेर जागेको पल–पलका तस्वीर निःशुल्क हुँदाको करामत नै हो ! लु फोटो त खिच्यो अरे, आफै हेर्नु भइगो त ! फेसबूकमा हालेर दुनियाँलाई किन अलल्याउनु ?
बिहेबटुलोमा गयो फोटोकै आतङ्क ! कुश–तिल–जौ–पानी के के समात्नु पनेर् हो, त्यो सबै आपैm समात्दै आफै पढ्दै गरेर हामी फकेर्र आउँदा बिहे सिध्याइराख्नु है पुरोहित बा, हामी फोटो खिच्न गयौं भनेर यज्ञ छोडेर बेहुला–बेहुली जंगल पस्छन् । आएको, खाएको, गएको, भए नभएको सबै फोटोमै उतार्नु पनेर् ! सिंगल, डबल, ग्रुप, बेहुलासँग, बेहुलीसँग, बेहुलीकी बहिनीसँग, बेहुलाका भाइसँग सबैले सबैसँग खिच्नै पनेर् । बेहुलीले बेहुलालाई हेरेको, लुगा फेरेको, साडी बेरेको, हाँसेको, टाँसिएको, गाँसिएको, बसेको, उठेको, सुतेको, मुख पसारेको, गाला मुसारेको फोटै नाथे त कति हो कति ! सित्तैमा पाए अलकत्र पनि खाने जातको न पर्यौं हामी !
बजारबाट तरकारी ल्याएर बारीको भन्दै फोटै खिच्या छ, चार दाना मेवा फलेको पनि बोटैमा गएर खिच्या छ, फोटो खिच्न अम्बक आँप कटहर बडहर लटहर केही बाँकी रहँदैन । कुखुराको चल्लाको, कुकुरले पुच्छर हल्लाको, बारीका डल्लाको, बजारे हल्लाको, सबका सब फेसबूकमा फोटो – लौ जा ! खानेकुरा बनाउँदै गरेको, थालमा सजाएको, खाँदै गरेको, माछा तारेको, भान्सा सारेको, घिउ खारेको, मकै दारेको, कुखुरो मारेको, मोही सारेको सब मोबाइलमा कैद ! लौ जा निःशुल्कको अधिकतम उपयोग ! काम गरेको, भैंसी चरेको, मकै छरेको, आँप झरेको, खोलो तरेको, बिरालो मरेको, कोठा सरेको… के चाहिँ हेर्न पाइँदैन र फेसबूकमा ? महंगा मोबाइलमा सस्ता फोटाको राश ! यसो आफन्तका घरमा भेटघाटमा पुग्यो भने सबैलाई बसाएर आफूसहित हानिहाल्यो सेल्फी अनि लेखिदियो रमाइलो भेटघाट र पोष्ट्याइदियो फेसबूकमा ! खर्च छैन, मर्छ भन्ने पनि छैन, केही पर्छ भन्ने त छँदै छैन । मोबाइलमा फोटो हेर्न थालेपछि तर्कारी डढेको, ठेकीमाथि बिरालो चढेको, छोरा–छोरीले पढे–नपढेको, आफैं सडेको कसैले अत्तोपत्तो नै पाउँदैनन् ।
आमा शारदा, छोरी सारिका । एउटी नेपालमा, अर्की अमेरिका, फोटो आदानप्रदान घरिघरिका थरिथरिका । जानेकै छन्, फोटो खिच्ने र हाल्ने तरिका । आज के पाक्यो आमा ? भात र तामाका टुसा । उता के खाइस् छोरी ? फ्राई राइस र डोसा ! फोटोसहितका गफ, एक अर्काका कमेन्ट । रमाइलो छ जिन्दगी, कति राम्रो तमाशा !
काईक्रमहरूमा मन्त्रीज्यूको फोटो राम्रो आएन भने हप्काइ खान्छन् पत्रकारहरूले । मन्त्रीसँग बसेर फोटो खिच्न सफल भए युद्धै जितेको अनुभूति गर्छन् मान्छे । बिहेको फोटो हरायो भने पाशो लाग्न बेर लाउँदैनन् नवविवाहित दम्पतीहरू । प्रेमिकाको फोटो छातीमा राखेर मात्रै निन्द्रा लाग्ने प्रेमीहरूको पनि अभाव छैन । हैन के छ हँ…यो फोटोमा ? केही दम त पक्कै हुनुपर्छ । पत्रकारहरूलाई लेख्न, खोज्न, मेहनत गर्न अल्छी लाग्यो भने पृष्ठभरिको फोटो छपाइदियो, खेलै खलास । हुनेवाला बुहारीको फोटो देखाए आमा दंग ! विदेशमा बसेका छोरा–छोरी आमा–बाबुको फोटो अस्पतालको बेडमा देख्ता भरङ्ग । उता छोरी ठेउकेसँग बगैंचामा नाचेको फोटो देख्ता यता बाबु खडाजङ्ग । कताबाट ह्वात्तै उम्लिएर आयो फोटो संस्कृति, रङ्ग न ढङ्ग ।
फोटोकै कारण सारा कार्यक्रमहरू भाँडिदैछन् । मोबाइल तिखादैर् सबकासब फोटोग्राफर ! बिहे भनेको त झन् फोटै फोटाको कार्यक्रम नै भयो । फोटाकै कारणले क्रियापुत्रीहरूले समेत सुख पाएनन् । मान्छे मरिसकेपछि पनि दुनियाँले फोटो खिचेर रमिता देखाउँछन् । विद्यार्थीहरूको पनि पढाइमा भन्दा फोटामै ध्यान छ । कलेजका विद्यार्थी कक्षातिर भन्दा मोबाइल सोझ्याउँदै बगैंचातिरै पस्न बल गर्छन् । घुमफिर गर्न जानेहरूको मुख्य काम नै फोटो खिचेर फेसबूक हाल्नु हो । फोटोमा खै कुन मनोविज्ञान छ कोनि, आफ्नै फोटो हेरेर आफै मख्ख पर्दै मुस्कुराउँछ मान्छे ! सेल्फी खिच्तै फेसबूकमा हाल्दै गर्छ र कमेन्ट पर्खिन्छ । यथार्थमा भन्दा अयथार्थमा रमाउने कसरी फेन्टेसी भयो मान्छे ?
उहिले एक जमाना थियो । फोटो खिच्न दिन माया मारेर बजार जानु पथ्र्याे । पैसा पनि निकै लाग्थ्यो । स्टुडियोवालाहरू मालामाल बन्थे । केही नक्कल पार्न खोज्नेहरू, तमाशा गर्नेहरूले फोटो खिच्ता हाँसेर सुन ठोकेको दाँत, छातीको टाँक खोलेर लगाएको सिक्री, बाउलो सुर्किएर हातको घडी समेत आउनेगरी फोटो खिचाउँथे । धेरै मान्छेहरू नागरिकता आदिमा फोटो आवश्यक पर्ने भयो भनेपछि फोटो खिच्नुभन्दा पहिले लुगा किनेर सिलाउन जान्थे, नयाँ जुत्ता–चप्पल किन्थे । फोटोग्राफरले पासपोर्ट साइजको मात्रै खिचिदिन्थ्यो अनि नयाँ जुत्ताको फोटो किन ननिकालेको भन्दै झगडा गर्न तम्सिन्थे । घरमा फ्रेम गरिएका ठूला–ठूला फोटो सजाएर राख्न धनीमानी ठूलाबडाले मात्रै सक्थे । अलिक पछि विदेशी पर्यटकहरूले बाटामा हिंड्दा गरीब दुःखी भोका नाङ्गा, रोगी अशक्तहरूको फोटो खिच्तै हिंड्थे । यस्ताको पनि फोटो किन खिचेका होलान् यी कुइरेहरूले भनेर सबैमा जिज्ञासा हुन्थ्यो । एक दिन एउटा कुइरेले लटरम्म फलेको सुन्तोलाको रुखको फोटो खिच्यो । हामी केटाकेटी लडी–लडी हाँसेका थियाँै । रुखको पनि फोटो खिच्छ, न नाक–मुख छ, न हात–खुट्टा, न लुगा लाएको छ… उतिबेला कुइरे बौलाएछ कि क्या हो भनेर हामी सोच्थ्यौं । तर, अहिलेको हाम्रो फोटो खिचाइ विचार गर्दा कुइरेहरू नै हास्न थालेका छन् । अहिलेसम्म आका गर्दै गरेको चाहिं फोटो फेसबूकमा देखेको छैन, त्योदेखि बाहेक सबै काम कुराको फोटो हेर्न पाइन्छ । यो सबै निःशुल्ककै परिमाण होला । के हेरेर बस्छन् टेलिकम कम्पनीहरू ? एक क्लिकको एक पैसा झुन्डाइदिए कम्पनीका कार्यालयमा सुनका डण्डी हाल्न पुग्छ । किन बुद्धि नगुगेको हो तिनको कोनि, मलाई त ताज्जुबै लागिरा’छ । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

