
– तित्रा
‘हैन ओई केटा ! यो दुनियाँमा सबैभन्दा ठूलो मान्छे को हो हँऽऽऽ ! उहिले हाम्रा पालामा राजालाई ठूला भन्थे, होलातानि जस्तो लाग्थ्यो । तर, उहाँलाई पनि खेदिछाडे । अहिले तिमेर्का पालामा सबैभन्दा ठूलो को हो ? राष्ट्रपति हो कि, प्रधानमन्त्री हो कि, न्यायाधीश हो कि ? – म त ठूलो अलमलमा परें त ! ठूलो भन्ने कुरा पनि आफ्नै उमेर अवस्था अनुसार हुने हो कि ? केटाकेटी छँदा घरकै बा ठूला, स्कूल जान थालेपछि हेडसर ठूला, जागिर खान थालेपछि हाकिम ठूला, पुराण सुन्न जाँदा पण्डित ठूला, बिहेमा जाँदा सानो फुच्चे सिँगाने भए पनि बेहुलो ठूलो, चिन्ता बसिरहेको बेलामा धामी ठूला जस्तो लाग्छ । तर, वास्तवमा ठूलो को हो – मैले छेउटुप्पै पत्तो लाउन सकिन ।’ भन्दै माइलाबा आएर गफ जोत्न थाल्नुभयो ।

बाबै अझै बहकिनु भो– ‘तिमेर्काे यो गणतन्त्रे शासन व्यवस्थामा ठूलो सानो भन्ने नै हुँदैन कि क्या हो ? हिजोआजका सार्वजनिक बिदा पनि कहिले केन्द्रले गर्छ, कहिले प्रदेशले, कहिले नगर–गाउँपालिकाले, आफ्ना वडामा वडाअध्यक्षले नै गदेर्ला ! हैन के हुन लाग्या यो ? भ्रष्ट चोर फटाहा भनेर सरकारले पव्रmेको मान्छे अदालतले छोड्दिन्छ, अदालतले सजाय तोकेको अपराधीलाई सरकार पव्रिंmदैन । के भएको यो, म त कुरै बुझ्न छाडें त ! कतै को ठूलो, को सानो भनेर टुङ्गो नलागेकै कारणले यस्तो भएको त होइन ? तँ फेरि कुरै नबुझी राजाको ठाउँमा राष्ट्रपति आएपछि राष्ट्रपति नै ठूलो भन्लास् । तर, पहाडको अक्करिलो बाटोमा गाडी चढेको बेलामा राष्ट्रपतिभन्दा बस–चालक ठूलो भइदिन्छ । हो, यहीँनेर म अल्मलिन्छु । बूढो पनि भएँ, दिमाग त्यत्ति चल्दैन । त्यसैले तँसँग सोध्न आएको ! तर, ढुङ्गो बोल्ला; तँ बोल्दैनस् । के भएको छ तँलाई ?’
बूढालाई एकपटक रिंगाइदिनु पर्यो भनेर मैले पनि– अहिलेका सबैभन्दा ठूलो भनेका पत्रकारहरू हुन्, त्यत्ति पनि थाहा छैन ? तपाईं गणतन्त्रको निम्ति उपयुक्त मान्छे होइन कि क्या हो ? निकै जान्ने–बुझ्ने हुँ भन्नु हुन्छ । हारे पनि वडासदस्यमा उठेको मान्छे हुँ भनेर गर्जिनु हुन्छ । जानुहोस्, पत्रकारलाई गएर स्वस्ती गर्नुहोस्…भनेर के भन्दिएको थिएँ, बूढा रिसाएर कालाग्नि जस्ता बन्दै, आइलाग्न खोज्दै भने– ‘तैंले मलाई हेपेको हो ? कि मसँग जिस्किएको ? मेरो रिस आवेग कति छ भन्ने कुरो त तँलाई भलिभाँती थाहै छ । ती खाम बटुल्दै हिंड्ने, लेख्नै पनेर् कुरामा चूप बसेर चूपचापे–भत्ता पचाउने, कत्ति नलेख्नु पनेर् र नभन्नु पनेर् कुरा रैंफाडो पारेर समाज र राजनीतिमा भूमरी पानेर्, जताततै झाखा गनेर् पत्रकार कसरी सबैभन्दा ठूला भए ? सबै पत्रकारलाई त भन्दिन, तर अधिकांश त्यस्तै छन् । पहिले यसको अर्थ लगा, होइन भने म आज तँलाई छोड्दिन’ भन्दै बाबै बुरुक्कै उफ्रिनु भो ।
मैले बूढालाई शान्त पादैर् भनें– पत्रकारहरूले समाचार लेख्ता, समाचार पढ्दा र बोल्दा – राष्ट्रपतिले यसो भनिन्, मन्त्रीले उसो गरे, प्रधानमन्त्री भोलि आउँदैछन्, उनी सवोर्च्चका न्यायाधीश हुन्… इत्यादि भनेर तिमीको सम्बोधन गर्छन् । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, न्यायाधीशहरू यी पत्रकारहरूका साना भान्जा–भान्जी हुन् र ? भान्जा–भान्जीलाई पो माया गरेर, प्यारो गरेर तिमी भनिन्छ, त्यो पनि सानो छउञ्जेल । त्यत्रा ठूला ओहदाका मान्छेलाई तिमी भन्नसक्ने मान्छे देशका सबैभन्दा ठूलो हो कि होइन त ? लु भन्नुहोस् !
बूढाले ओंठका जुगा जिब्रोले तानेर मुखमा ल्याएर दाँतले किरिक–किरिक पादैर् भने– ‘उहिले हाम्रो पञ्चायती शासनमा राजालार्र्ई सरकार, मौसुफ, आइबक्सियो, गइबक्सियो भनेन, लेखेन भने तुरुन्तै चिसो छिँडीको बास हुन्थ्यो । लु, राजा सँगसँगै सरकार, मौसुफको सम्बोधन गयो अरे । त्यसपछि तपाईंको सम्बोधन छ त । एकैचोटी तीन कान्ला तल झरेर तिमी भन्न पाउँछन् ? यिनले आफ्ना घरका हजुरबा–हजुरआमा, बा–आमा, काका, मामालाई पनि बानी बिग्रिएर तिमी नै भन्छन् क्यार । उहिले खर्कमा गोठ लगेर दुई–चार महिना गोठमैं बसिन्थ्यो । खै त्यहाँ के हुन्थ्यो कोनि, गाडी–चालकले जस्तै बातैपिच्छे छाडा शब्द बोलिन्थ्यो । कुँडे झिक्ता हात पोल्यो भने आत्था भनेर छाडा शब्द आउँथ्यो, काँडाले घोच्यो भने पनि ऐया…भनेर छाडै बोलिन्थ्यो । दुई–तीन महिनामा बानी बिगे्रर तमामै हुन्थ्यो । घर आएपछि पनि बा–आमाका छेउमा त्यही छाडा शब्द मुखबाट उम्किएर बर्बादै पाथ्योर् । पत्रकारहरूले पनि सबैलाई तिमी भन्दा–भन्दा आफ्ना बा–आमालाई पनि किन बाँकी राख्थे होला र ? हन यी पत्रकारहरूले गरेको चाहिं के हो ? लु भन् त केटा !’ भन्दै बाबै मैतिर फर्किनु भो ।
मैले भनें– उता अंग्रेजी भाषामा साना–ठूला सबैलाई ‘यु’ भन्छन् अरे । अनि त्यसैलाई अनुशरण गरेका अरे । त्यस्ता विकसित देशले यु भन्दा हुन्छ भने हामीले तिमी भन्दा के बिग्रियो भनेर कुतर्क तेस्र्याउँछन् ।
बाबै मलाई उछिन्दै बीचैमा बोल्नु भो– ‘अंग्रेजीका खैरे कुइरेले जे जे गरे, त्यही गर्नु पर्छ ? तिनीहरूको दरिद्र भाषामा हाम्रो जस्तो तँ, तिमी, तपाईं, हजुर, मौसुफ, सरकार जस्तो दर्जा अनुसारको आदरार्थी सम्बोधन नै छैन; अनि कसरी बोलुन् त ? हाम्रो त यत्रो वैभव छ नि ! खैरेले गरेको चाहिं जे पनि राम्रो हुन्छ ? उनीहरू बाटैमा मुख चाटाचाट गदैर् हिंड्छन्, हाम्रा पत्रकारले पनि त्यसै गर्छन् अरे ? ओच्छ्यानमा कुकुर च्यापेर सुत्छन्, त्यो पनि गर्छन् ? लंगौटीभन्दा सानो कट्टु लाएर हिंड्छन्, त्यसो पनि गर्न सक्छन् ? तँ पनि मसँग त निकै च्याठ्ठिएर बोल्छस् त । तिनेर्लाई चाहिं सोध्न सकिनस् ?’ भन्दै बाबै त मैंसँग पो आइलाग्न खोज्नु भो ।
मलाई पनि बाबैका कुरा सुनेर जङ चल्यो र भन्दिएँ– तपाईं आफैं पत्रकारहरूलाई बोलाएर सोध्नु होस् न । मसँग किन रिसाउनु हुन्छ ? अरुलाई सानो बनाएर मात्रै आफू ठूलो हुने, अरुलाई दोष थोपरेर आफू चोखिने, अकोर् पार्टीलाई गालीगलौज गरेर आफ्नो पार्टीलाई राम्रो गतिलो देखाउने हाम्रो संस्कृति नै बनिसकेको छ । पत्रकारले पनि अरुलाई तिमी भनेर आफू तपाईं मपाईं बनेका होलान् नि !
बाबै फेरि बीचैमा कड्किए– ‘पत्रकारलाई बोलाएर सोध्नु भन्छस्, पत्रकारलाई बोलाउन खोइ खाम र खामभित्र हाल्ने जिनिस ? मैले कहाँबाट जुटाउनु स्वरुचि भोजन ? कहाँ पाउनु ऐंठनपानी ? त्यसै फोस्रो निम्तोमा आउँछन् ? कुइरेबाट यु सिकेजस्तै खाम चाहिं कताबाट सिकेछन् कोनि ! नाकमा घिउ दल्दिएको बिरालोले जे पायो त्यही खाए झैं यी पत्रकारलाई पनि विदेशी एजेन्टले डलर दल्दिएका छन् कि क्या हो ?’
मैले भनें– खै माइला बा ! अहिलेसम्म त मैले पत्रकारहरूलाई नै सबैभन्दा ठूला ठानेको हो । तपाईंका कुराले पो म फेरि अल्मलमा परें । म त कसैलाई तिमीको सम्बोधन गर्न सक्तिन । जिउँदो मान्छेको त कुरै छोडौं, मरेका मान्छेलाई समेत उहाँ यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो भन्छु । मैले तपाईंलाई तिमी भन्नु हुन्छ र ? भनेर बुढाका मुखमा हेरें ।
‘मलाई तैले तँ–तिमीको सम्बोधन गरिस् भने तोरीफूल देखिहाल्छस् नि ! म आफूभन्दा ठूलालाई तपाईं नै भन्छु । अरुले अनादर गरेको पनि सहन्न’ भन्दै बाबै गजक्क पर्नु भो । म आजदेखि अरु कसैलाई होइन, तपाईंलाई नै सबैभन्दा ठूलो मान्छे मान्छु । तपाईंले जस्तै कसैले सबैभन्दा ठूलो मान्छे को हो भनेर सोधे भने मेरै माइलाबा भन्छु । हुन्न र माइलाबा ? आखिर दशैंमा टीको लाइदिएर आशीर्वाद दिने तपाईं नै त हो ।
मेरा कुरा सुनेर बाबैकोे अनुहार निकै उज्यालो भयो । फेरि एकैछिनमा बिजुली गएजस्तै झ्याप्पै अँध्यारो भयो– ‘हैन एइ केटा ! तैंले मलाई नजानिंदो गरी व्यङ्ग्य गरेको त होइन ? म उठेर हिंडेपछि तिघ्रा ठटाउँदै खित्का छोडेर हाँस्तै मनोरञ्जन गर्न खोजेको त होइनस् ? बाहिर सोझो देखिए पनि तँ भित्रको छट्टू छस् । तेरो कुरामा म कसरी विश्वास गरौं ? मनेर् बेला भएको मजस्तो बूढो मान्छेलाई उपहासमा उडाउँछस् भने पनि उडा’ भन्दै बाबै त निकै गम्भीर पो देखिनु भो ।
मैले सम्झ्याउँदै भनें– ए माइला बा ! अघि तपाईंले नै भन्नुभएको होइन र – बस चढेका बेलामा चालक ठूलो, धान पेल्न मिल जाँदा फिटर ठूलो, बिजुलीको लाइन बिग्रेको बेलामा इलेक्ट्रिसियन ठूलो, रोग लागेका बेलामा डाक्टर ठूलो, साइकल बिग्रेका बेलामा मेकानिक ठूलो, ऋण चाहिएको बेलामा साहु ठूलो अनि मेरा निम्ति मेरै माइला बा ठूलो भन्दा कसरी व्यङ््ग्य हुन्छ ? अस्ति दशैंमा ढोगेको हो कि होइन ?
‘खै…तँ कुरौटेका कुरा म बुझ्दिन । तर, तेरो गणतन्त्रमा सबैभन्दा ठूलो मान्छे को हो भन्ने हुँदो रैनछ, यति कुरा चाहिं भलिभाँती बुझें । पञ्चायतीमा राजाले मृत्युदण्ड पनि माफी दिन सक्थे, खोइ अब त्यस्तो ठूलो मान्छे ? हँऽऽऽ मलाई जाडो भयो, हड्ख्याइँ हुँदैछ, ज्वरो आउला जस्तो छ । भोलि तँ केही खानेकुरा बोकेर मलाई बिरामी हेर्न आउनू’ भन्दै बाबै उठेर बाटो लाग्नु भो । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
