
तित्रा
‘हैन एइ केटा ! एउटै अंग्रेजी शब्दले हाम्रा पाँच–सात वटा नेपाली शब्द कसरी खर्लक्कै खायो हँऽऽऽ ? हाम्रा आची, आका, दिसा, झाडा, शौच, टट्टी, हगन यति लामा लस्कर शब्दहरूलाई एउटै ‘ट्वाइलेट’ शब्दले छिन्नभिन्न बनायो त ! हाम्रा बुढा बुढी आमै बाबै पनि टट्टी भन्न छोडेर ट्वाइलेट नै भन्नु हुन्छ । एबीसीडी नै नचिनी अंग्रेजी बोल्न कसरी आउँछ ? पढेका नपढेका, साना ठूला, आलिशान महलमा आका गनेर्, बाँसघारीमा आची गनेर् सबैले ट्वाइलेट नै भन्या सुन्छु । टट्टीलाई ट्वाइलेट भन्दा यिनीहरूलाई कम गन्हाउँछ कि ? अथवा घृणा कम पैदा हुन्छ कि ? कर्मचारी बढुवा भएजस्तो आची शब्दको बढुवा भएको हो कि ? कि चाहिँ अहिले भात खान छाडेर नानाथरिका बजारे खाना खान थालेपछि आची ट्वाइलेटमा भएको हो ? खानु छ गुन्द्रुक र भात, त्यसलाई थन्क्याउन जानु छ बाँसघारी अनि भन्नु चाहिँ ट्वाइलेट ! ट्वाइलेट भनेपछि चाहिँ अरुले देखी–देखी खुल्लै गर्दा पनि लाज नहुने हो कि ? जुन दिनदेखि यो टट्टीलाई बोकेर लगेर डाक्टरलाई देखाउन थालियो, त्यसैबेलादेखि नाम अंग्रेजीकरण भएर टट्टीले बढुवा खायो । हाम्रा बाजे बराजुहरूले उहिल्यै यो टट्टीलाई तात्तातै लगेर पञ्जिकाधिकारीकहाँ नाम दर्ज गराउने काम गर्या भए टट्टीको नाउँ ज्यान गए परिवर्तन हुने थिएन । एकपटक नाम दर्ज भएपछि परिवर्तन गर्न मिल्दैन भनेर कर्मचारीले निवेदन नै लिने थिएनन् । शब्दलाई दर्ज गनेर् चलन नभएर नै यस्तो भएको हो ? ठूला–ठूला कर्मचारीहरू आफ्नो जागिरको आयु बढाउन जन्म मितिसम्म चाहिँ परिवर्तन गराउँछन् अरे भन्ने सुनेको हो, नामै परिवर्तन गरेको चाहिँ थाहा थिएन । जाबो टट्टीले नाम परिवर्तन गर्यो, मान्छेले नाम परिवर्तन गर्नु पर्यो भने यहाँ कत्रो महाभारत फस्र्याउनु पर्छ । के भा’को यो होउ केटा ?’ भन्दै माइलावा आएर गफ जोत्न थाल्नु भो ।
हैन आज कस्तो फोहोरी विषयको गफ गदैर् आउनुभयो होउ माइलाबा ! गफै गर्नसम्म त अलिक राम्रै विषय छान्नु नि भनेर म झर्किदिएँ । मान्छेले सुने भने पनि के भन्लान् । केही गफ गर्न नपाएर टट्टीकै गफ गर्न थालेछन् माइलाबाले भनेर दुनियाँले छिःछि गर्लान् है ! अथोर्कै कुरा गर्नुहोस् । यस्ता छाडा फोहोरी तपाईंका कुरा सुन्दिन भन्दिएको त बाबै एक्कासी उत्तेजित हुँदै भन्न थाल्नु भो– ‘भुँडीमा यस्तै फोहोर तीन पाथी बोकेको होलास्, बडो सुग्घरी कुरा गर्छस् ? अहिले कति मान्छेको काम नै रोजीरोजी खानु अनि टट्टीखानमा गएर त्यही खाएको कु्रा बिसाउनु बाहेक अथोर्क केही काम छैन । सबै मान्छेसँग प्रत्यक्ष जोडिएको कुरा कसरी फोहोर भयो ? कि चाहिँ हाम्रा प्रधानमन्त्रीले भनेजस्तो हुनु पर्यो– ‘म आफू पनि खान्न, अरुलाई पनि खान दिन्न ।’ नखाएपछि त टट्टीको पनि बातो बस्छ । त्यसपछि यस शब्दको उच्चारण गनैर् पदैर्र्न । डाक्टरले पनि ट्वाइलेट जाँच गर्न छोड्लान् । ल्याब परीक्षण गनेर्हरूले पनि अन्य अन्य पेशा अँगाल्न थाल्लान् । त्यसपछि यो टट्टी शब्दलाई शब्दकोशबाटै झिकेर मिल्काइदिए हुन्छ । नखाएपछि देशभरिकै शौचालय बनाउने पैसो जोगिन्छ । कहीँ कतै कसैलाई टट्टी आएर अभर आपत पदैर्न । दिनभरि बिर्तामोड गएर बस्न पनि सकिन्थ्यो । अहिलेसम्म सार्वजनिक शौचालय बनाउन नसकेको बिर्तामोड नगरपालिकाको इज्जत आब्रुक पनि बँच्थ्यो । मेयरले अकोर् पटक पनि चुनाव जित्न बेर लाउने थिएनन् । बिर्तामोडमा खाएर थन्क्याउन चाहिँ भाडा तिरेर टेम्पोमा सुरुङ्गा वा शनिश्चरेतिर पुग्नु पनेर् थिएन । बिर्तामोडले जत्रै ठूला भवन उभ्याए पनि, फराकिला बाटा बनाउन खोजे पनि, व्यापारिक केन्द्र भनेर नाक फुलाए पनि, खानाका निम्ति कत्रा–कत्रा होटल बनिए पनि आची आउँदा विसर्जन गर्न नपाएपछि के गर्नु तिनको शासन प्रशासन ? प्रधानमन्त्रीको सूत्र चाहिँ ट्वाइलेटको व्यवस्था गर्न नसक्ने बिर्तामोडमा सर्वप्रथम लागू गर्नु पर्छ । खान पनि नपर्ने, नखाएपछि बिसाउन विसर्जन गर्न पनि नपर्ने... कत्रो आनन्द ! विशेषगरी नानीका आमाहरूलाई हाइसञ्च । दिसामुक्त क्षेत्र भनेर कुनै गाउँ, जिल्ला, नगरले पैसा उडाउन, भाषण पड्काउन पनि पर्ने थिएन । दिसामुक्तका नाउँमा उत्पात कार्यक्रम गरेर, भोजभतेर लगाएर, चौधान्त मच्चाउनु पर्ने पनि थिएन । उता, सिंगै देश नै दिसामुक्त भयो अरे भनेर रेडियोले भन्दै थियो । प्रधानमन्त्रीकै सूत्र हो वा अन्य सूत्र हो ? मन्त्रीमण्डलकै मान्छे आधा समय बैठकमा र आधा समय टट्टीखानमा बिताउँछन् । कुनै बेला तिनको दर्शनभेट पाइने होइन । जत्ति धेरै खायो, त्यत्ति धेरैबेर टट्टीखानमा बस्नु पर्ने त होला नि ! प्रधानमन्त्रीले भनेजस्तो नखाएको, खान नदिएको भए टट्टीखानमा के गरेर बस्थे होलान् त ? हावै उडाएर बस्छन्, बैठकमा जस्तै ?’
ए माइलाबा, अर्थाेकै कुरा गर्नु न ! मलाई सारै घिन लाग्यो, वाकवाकी आउला जस्तो भो । कस्तो फोहोरी कुरा गरेको ? भन्दाभन्दै बाबैले ओभरट्याक गरिहाल्नु भो– ‘फोहोर भनेर धर पाउने कुरो हो ? त्यही धेरै फोहोर भयो, गन्हायो, सिक्सिको भयो भनेर टट्टीबाट ट्वाइलेटमा बढुवा गरेको । तँ बिरामी भइस् भने डाक्टरले त्यही टट्टी हेरौं भन्छन् अनि तैंले मात्रै छिःछिः दुर–दुर गरेर हुन्छ ? तेरो घर बनाउँदा जति खर्च लाग्या छ नि, त्यस्को चार डबल खर्च धनीमानीहरूले त्यही हगनगौंडीमा गर्छन् । त्यहाँ सुवास छर्छन्, आका गदैर् पत्रिका पढ्छन्, आका गदैर् बेलुकाका बत्तीसवटै भाँडाकुडा ब्रश लगाएर सफा गर्छन् । त्यहीं बसेर चिया नास्ता चाहिँ गर्छन् गदैर्नन्, बुझेको छैन । त्यो विषय चाहिँ एउटा पढेको मान्छेको अनुसन्धानको विषय हो । तेरो जस्तो बाँसको टाटीले बारेको, बोराको पर्दालाई नै ढोका बनाएको फोहोरी टट्टीखान हो र ? जिन्दगीमा सबैभन्दा आनन्दको क्षण टट्टी गर्दा हुन्छ भनेर अज्ञात नाउँ गरेका ठूला विद्वानले उहिल्यै भनेका थिए अरे । नपत्याए एक दिन एकछिन टट्टी रोकेर विचार गर् त । हे दैव, कहाँ गएर कुन बेला बिसाउँ भएनछ भने मलाई भन्नू । यो सानोतिनो कुरो हो ? तँ नाथे कुरौ नबुझी छिःछिः दुर–दुर गर्छस् । हिजोआजका मान्छेहरू त्यही टट्टीलाई जम्मा गरेर ग्याँस उत्पादन गरेर मजाले भात पकाएर खान्छन । टट्टीकै मल हालेर चार–पाँच केजीका मुला फलाउँछन् । ती मुला कति गुलिया मीठा रसिला स्वादिला टेसिला हुन्छन् । मलकै कुरा गर्दा गाईको गोबर मलभन्दा मान्छेको मल दश गुना तेजिलो चोटिलो हुन्छ । त्यसमा भएको पहेंलो रंगलाई केमिकलद्वारा हटाई युरियाजस्तै सेतो बनाउने हो भने युरियाको डबल दाममा हारालुछ गरेर मान्छेले किन्ने थिए । यहींको आका, यहीं मल...कति राम्रो । मन्त्री सचिव व्यापारीहरूको मलमा हुने कमिशन, घनचक्कर पनि बन्द हुन्थ्यो । आफ्नै मौलिक आकाको नेपाल मेड, नेपाली मेड मल तयार भए विदेशिने पैसो पनि जोगिन्थ्यो ।’
मैले फेरि भनें– हैन होउ माइला बा ! यो ट्टटीको धारावाहिक अझै सकिएन ? आज तपाईंलाई के भएको छ र फोहोरी कुरै मात्र गरिरहनु भा’को हँऽऽऽ । यो टट्टीको कुरा अब म सुन्दिन । अन्त कतै गएर अरुलाई नै सुनाउनुहोस् । तुरुन्तै बाबैले डाकोले खान खोज्दै भन्नु भो– ‘नकरा । चूप लाग् । बसेर मेरा कुरा सुन् ! कहीं नभएको बडो आएछ सुग्घरी’ भनेर फेरि उही टट्टीकै अध्याय थाल्नुभयो– ‘हिजोआज प्रायःजसो मान्छेहरू टट्टीखान बनाएर बाटाघाटा खोला बगर जंगल बाँसघारीमा टट्टी गर्न छोडेपछि ठाडै कुकुर–अधिकार खोसिएको छ । मानव अधिकारजस्तै कुकुरको पशु अधिकार हनन् भएको कुरा थाहा पायो भने अमेरिकाले नाकाबन्दी लगाउन बेर लाउँदैन । यही निहुँमा उसको सेना हुल्न ओराल्न पनि बेर लाउँदैन । बलियाको हतियार नै ... केजाती भने झैं बलियासँग कस्को के लाग्छ ? सरकारले देशलाई दिसामुक्त घोषणा गरेपछि कुकुरहरूलेे बाटामा आएर लु...तिमेकोर् दिसामुक्त भन्ने देखाइदिन राशकाराश गोब्र्याउन थालेका छन् । तिनका मालिक साहेबहरू कुकुरसँगै मोर्निङवाक गरिरहँदा छिमेकीका घर अगाडि कुकुरको दिसालाई मुक्त गराउँछन् । मान्छेको टट्टीमा कीटाणु जीवाणु उब्जिएर हैजा रोगब्याध फैलिने डर हुन्छ, तर कुकुरको टट्टीबाट त्यस्तो केही हुँदैन क्यार । खुल्ला दिसामुक्त घोषणा गरेर नाक घोक्रयाउने नगरपालिकाहरूले कुकुरलाई चाहिँ किन छाडा छोड्थ्यो होला त ?’
बाबै अझै बोल्न रोकिनु भएन– ‘वास्तवमा सबैभन्दा खराब मान्छे नै हो । अब यो खराब मान्छेको टट्टी कति खराब होला, तँ आफै विचार गर् । टट्टी भनेको जे खायो, त्यही जाने हो । मान्छे दाल–भात–तरकारी मात्रै खाएर चूप लागेर बस्ने जात होइन । जाँड रक्सी चुरोट खैनी गाँजा भाङ धतुरो अफिम र अरु पनि के–के जाती खान्छ । दूध दही मोही लस्सी कोक पानीपुरी सिंगडा पुरी–जुलपी चट्पटे चाउचाउ, मोमो... इत्यादि बजारे नाना ओलीका चिज खान्छ । तरुल भ्यागुर कन्दमूल, फलफूल, मासु पनि खान्छ । तेलहन, दलहन, घुसहन, कमिशन कतै केही नै बाँकी राख्तैन । यी सबै खानेकुराको कस्तो केमिकल, रसायन बन्दो हो ? यो कुरो कुनै वैज्ञानिक होइन, त्यसको हजुर्बाले पनि जान्दैन । मान्छेको आची परीक्षण साँच्चै गनेर् हो भने त्यसको परीक्षणको भाँडो नै चर्किन्छ फुट्छ । तँ नाथेलाई के थाहा छ र ! यो कुरा खेलाँची हो ?’... भन्दै बाबैको आका महात्म्यबाट विषयान्तर हुने लक्षण देखिएन ।
‘मान्छेले खाएको पीरो अमिलो चिल्लो तीतो गुलियो टरोर् ठरोर् खल्लो चकोर् बिलिनो अलिनो...यी जम्मै चिज र स्वादको थेगर टट्टीको रूपमा बाहिर आउँदा झण्डै कुकर–बम जत्तिकै पावरफूल भएर बाहिर विष्फोट हुन्छ । खा’को र गा’को उस्तै देखिने चाहिँ बिचरो एउटा कोदो मात्रै हो । त्यो खाँदा जस्तो हुन्छ, जाँदा पनि उस्तै नै हुन्छ । मात्रा पनि लगभग बराबर नै हुन्छ । भ्ुाँडीको मिसिनले छुन चलाउन नसक्ने जौडे हुन्छ कोदो । आकामा न रंग बदलिन्छ, न मात्रा घट्छ । तँ नाथे केटालाई केही थाहा छैन । लु भन्... मान्छेहरू खानेकुरा चाहिँ हातले नछोइकन चम्चाले खान्छन्, टट्टी चुठ्ता चाहिँ हातै लाउँछन् । अनि कसरी घृणित भयो ? उहिले पहिले घरभन्दा पर हुन्थ्यो हगानगौंडी । त्यो लबस्तरो बन्दै वरवर सदैर् घरैभित्र पस्यो, कोठा–कोठामा छिर्यो । अब कुन दिनदेखि बिजुलीको बेडस्वीच जस्तो सिरानेको एक छेउमा टाँसिएर बस्न बेर लाग्दैन । यो टट्टीका कैरन धेरै छन् । बाँकी कुरा भोलि गरौंला । मलाई पनि टट्टी लाग्ने भो, ऊ परको बाँसघारीमा खुल्ला दिसामुक्त गर्नुप¥यो...’ भन्दै इजार फुकाउँदै माइलाबा आफैं अभर परेर मात्रै बल्लतल्ल बाटा लाग्नु भो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

