
राजबाबु शंकर
“संसाररुपी सुख स्वर्गभित्र
रमें रमाएँ लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैं अब बुझ्छु बल्ल ।…”
महाकवि देवकोटाका यी कवितांशबाट यसपटक लेखनीको थालनी गर्न चाहें । जीवनदेखि मृत्युसम्मको यात्रा, जुन प्राणीको सम्पूर्ण समय हो, लाई अक्षरांकन गदैर्रहँदा ‘आखिर छर्छ हावाले एक मुठी खरानी…’ भन्ने चेत मानिसमा कहिले वा कुन उमेरमा आउँछ भन्ने सवाल हो । मृत्यु त यसै पनि अकाट्य सत्य हो । जीवन कहिल्यै अजम्बरी हुँदैन; बरु मृत्यु आफैं चाहिं जहिल्यै अजम्बरी हो । तर पनि भौतिक रुपमा कहिल्यै कालजयी हुन नसक्ने हरेक मानव किन आफ्नो जीवनकालमा अक्सर केहीनकेही क्षुधाको लालची हुन्छ ? उसको÷उनको स्वार्थले किन अरु धेरैलाई पिरोल्ने गर्दछ ? ठूल्ठूला ओहोदामा पुगेकाहरुदेखि सामान्य मानिससम्म बल–बर्कत होउञ्जेल अथवा शक्तिमा रहुञ्जेल किन आफूमा रहेको शक्ति आजीवन रहन्छ भन्ने ठान्ने गर्दछ ? हो…यही सोचले मानिसको चेतलाई बिप्ल्याँटो बनाइरहेको हुन सक्छ ।
चेतनाको परिवृत्ति बलियो छ । विशिष्ट जीवन प्राप्त गर्न चेतना हुन जरुरी मानिन्छ । चेतनशीलतामा कमी भएमा जीवनमा मोक्ष प्राप्ति हुँदैन । जीवनको परम पथ ‘मृत्यु’ नै ‘मोक्ष’ हो । जुनसुकै नामको धर्मको आफ्नै संस्कार भएपनि सत्य बोल्नु, सत्कर्म गर्नु, व्याभिचार नगर्नु, अन्याय नगर्नु, सहयोगापेक्षुलाई दान दिनु अनि रिस, राग, काम, क्रोध, लोभ, मोह नराख्नु नै समग्रमा धर्मको सन्देश हो भने मानिस किन आजीवन सुकर्म गरेर मोक्ष प्राप्तिको मार्गलाई आफैंले रोक्छ ? वैज्ञानिक हिसाबले शरीरका कोष, तन्तु, अंगहरुले पूर्ण रुपमा काम नगर्नु मृत्यु हो भने यदि हामीले कसरी मनेर् भनेर जान्यौं भने मात्र हामीले कसरी बाँच्ने भन्ने सिक्छौं । किन पनि भने, जीवनको दशगुणा महत्व मृत्युबोधले बढाउँछ ।
३० वर्षकै अल्पायुमा निधन भएका मोतीराम भट्ट वा ४३ वर्षमै निधन भएका भैरव अर्याल वा ५२ वर्षमा निधन भएका मदन भण्डारी वा ६३ वर्षमा प्राणान्त भएका उपेन्द्र देवकोटा वा शाहवंशीय इतिहासका लोकप्रिय राजा मानिएका वीरेन्द्रको वंशनाशको विगत होस् अथवा ३९ वर्षमै संसार छाडेका स्वामी विवेकानन्द हुन्– सबैको आयु छोटो रह्यो, तर सुकर्मले उनीहरुलाई अमर बनाएको छ । तात्पर्य के हो भने, महत्वपूर्ण यो होइन कि जीवन कति लामो हुन्छ, बरु महत्वपूर्ण यो हो कि जीवन कसरी असल हुन्छ; अनि पार्थिव देहको अवसानपछि पनि अरुले सम्झिइने कसरी हुन सकिन्छ । जेनिफर लीले भने झैं ‘मृत्युले जीवनको महत्व बढाइदिएको छ । मृत्यु नहुँदो हो त जीवन ज्यादै निरश हुन्थ्यो । जीवनको आभा फाल्न र अनन्तसम्म बाँच्न जीवन मृत्युमा रुपान्तरण हुनु जरुरी छ ।’ अर्थात् तिमी कसरी बाँच्छौं भन्दा तिमी कसरी मछौर् भन्ने कुरा बढी महत्वपूर्ण हो ।
अपांग महान् वैज्ञानिक स्टिभ जब्सले भनेका थिए– “म छिटै मदैर्छु भन्ने बोधले मलाई जीवनमा ठूला–ठूला निर्णय लिन मद्द्त गरेको छ । किनभने सारा घमण्ड, गौरव, असफल हुनुको भय, त्रास सबै सबै मृत्युका अगाडि पराजित हुन्छन् । मृत्युले नै पुरानोबाट नयाँ बनाउँछ । मृत्यु जीवनको एकमात्र आविष्कार हो ।” आखिर हामी सबैको यात्राको साझा गन्तव्य भनेकै मृत्यु नै त हो । यस सन्दर्भमा “सबै व्यक्ति मर्छन् । तर, सबै व्यक्ति बाँचेका हुँदैनन् ।”–भन्ने एन्ड्रयु स्याक्सको मतले जोकोहीलाई झक्झक्याउन सक्छ । अनेर्स्ट हेमिंग्वेको “हरेक मान्छे बाँच्छ र मर्छ । तर, ऊ कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मानिसहरुको अलग–अलग परिचय बन्छ ।”–भन्नुको अर्थ जीवन बाँचेका दिनहरु नगन, बरु ती दिनहरुलाई गणनीय बनाऊ भन्ने नै हो ।
नित्सेले भने झैं “गर्वका साथ मर्न सकिन्छ, तर गर्वका साथ बाँच्न सकिन्न” जीवनको सुन्दरता बढाउन अवश्यंभावी मृत्युको बोध हुनु आवश्यक छ । तर, किन हामीकहाँ भविष्यमा आफ्नो सुकर्मको इतिहास लेखियोस् भन्ने चेत मुर्झाएको झैं प्रतीत हुने गरेको छ र बाँच्नुको अर्थलाई सार्थक बनाउने हतारो कोही कसैलाई अक्सर हुने गरेको पाइँदैन ? आम सर्वसाधारणको अपेक्षालाई सम्बोधन गदैर् कीर्तिमय कर्म गनेर् इच्छाशक्ति किन शक्तिमानहरुमा छैन ? शक्तिमय आसन सर्वथा कल्याणकारी राज्यको अवधारणामा रुपान्तरण हुन किन सकिरहेको छैन ? आम नागरिकले किन जहिल्यै आफ्नो मांगको सारंगी रेटेर विरह वेदना गाइरहनु परेको छ ? आजसम्म धेरै समय घर्कियो, धेरै परिवर्तनहरुले छलाङ लगाए; तर आम भूइँमान्छेहरुको जीवन किन रुपान्तरित हुन सकेन ? देवकोटाको कवितामा माथि उल्लेख भए झैं बुझ्नुपनेर्हरुले अब बुझ्ने कहिले ? कि आम सर्वसाधारणले कृष्टिना रोसेटीको ‘जब म मर्छु मेरो प्रिय’ शीर्षकमा लिखित विश्वप्रसिद्ध कविताका यी पंक्तिहरुमा अब पनि चित्त बुझाउनुपनेर् हो ?—
जब म मर्छु मेरो प्रिय
मेरो लागि कुनै पनि दुःखी गीत नगाउनु,
मेरो शिरमा तिमीले कुनै पनि गुलाब नरोप्नु
न त छायाँ दिने साइप्रसको रुख ।
म माथि हरियो घाँस उम्रियोस्
मसिनो पानी र शीतका थोपासँगै
यदि तिमी सक्छौ भने, सम्झनु
यदि तिमी सक्छौ भने, बिर्सनु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

