
तित्रा
‘जाडो भयो, लु चिया खाउँ’ भन्दै माइलाबा कतावाट बतासिंदै आएर आसन जमाए । बुढामान्छे बोल्न थाले भने पालो पाइँदैन । त्यसैले आउँदाआउँदै मैले सोधिहालें– हैन होउ माइलाबा ! कोरोना भाइरसको महामारी चल्दैछ भन्दैछन्, अब के होला हँऽऽऽ ? सबै सोत्तर भएर गाउँ–शहर सबै सुनसान हुने त होइन ? भनेर कुरो मात्र के कोट्याएको थिएँ; माइलाबा बेरोकटोक बोल्न थाले– ‘हैन एइ केटा ! यस्ता सामान्य विषयमा पनि कपाल दुखाउने हो ? त्यस्तो नाथे कोरोना भाइरस आएर नेपालीहरूलाई ठाँगेले पनि छुँदैन । भरसक त्यस्तो कोरोना हाम्रो देशमा आउँदा पनि आउँदैन । जहाँ आफ्नो मान सम्मान आदर सत्कार हुँदैन, त्यहाँ कोही मान्छे नगए जस्तै कोरोना भाइरस पनि डाक्टर अस्पताल नभए ठाउँमा किन आउँथ्यो । हाम्रोमा अस्पताल नै थोरै छन्, भएका अस्पतालमा डाक्टरै छैनन्, भएका डाक्टर पनि अस्पतालमा बस्दैनन् अनि को सँग जोरी खोज्न आउँछ र, त्यो कोरोना भाइरस ?’…
‘…निजी प्राइभेट उपचार नाउँका पसल शटर गद्दीहरू अत्यन्तै महंगा छन् । त्यस्तामा पस्न कोरोना भाइरसले पनि आँट गदैर्न । आँट गरेर पस्यो भने त्यसको पनि आर्थिक रूपमा टाट पल्टिएर खरानी हुन्छ । कोरोना आएको÷नआएको कुनै मतलबै नराखिदिएपछि उसैलाई लज्जाबोध हुन्छ र आफै फर्किन्छ । उता कता चीनतिर हप्ता दिनमा हजार बेडको अस्पताल तयार गर्दिएर ओच्छ्यान लगाइदिएपछि आउँछ त यहाँ कोरोना ? हामे देशमा हजार बेडको अस्पताल बनाउन पन्ध्र वर्षीय योजना बनाउनु पर्छ र अस्पताल निर्माण गर्न ठेकेदारलाई पाँच पटक म्याद थपिदिनु पर्छ । फेरि विकास–निर्माणमा हाम्रा देशका मान्छे रड सिमेन्ट फलाम ढुङ्गा इँटा बालुवा माटो समेत खान्छन् । यस्ता मान्छेलाई कोरोनाले खाने होइन, कोरोनालाई नै खाइदिन्छन् । न अस्पताल बनोस्, न कोरोना भाइरस आओस् । ढुक्कले बसे हुन्छ ।’
बाबै बहकिंदै गए– ‘त्यस्तो जाबो कोरोना भाइरसलाई हाम्रा बिजुवा, फेदाङ्वा, धामी, झाँक्री, लामा, धन्वन्तरी, माता आदि गरिएका जनशक्तिले पानी फुकेरै उडाइदिन्छन् । धुपधुँवार गरेर ढ्यांग्रो ठटाएर धामीले काप्दै फलाक्न थालेपछि कोरोना भाइरस ठाडोपुच्छर लाएर सिमाना काट्छ । गलत ठाउँमा गइएछ भन्दै कहिल्यै फकेर्र पनि आउँदैन । धामी झाँक्रीको कुरो मात्रै होइन, छोड्दे चमारे भन्दै टिन ठटाएर सूर्यमा लागेको ग्रहण समेत छुटाउन सक्ने नेपालीहरूलाई कोरोना भाइरसले हेप्ने ? स्याल कराएजस्तो हाइहाइ र हुइहुइ कराउने कलेजका केटाकेटी, सिठ्ठी बजाउने र टेबल ठटाउने केटा, तिघ्रा–पाखुरामा टाटु खोपेका प्राइभेट निजी स्कूल कलेज अस्पताल होटलका बाउन्सर, कुण्डले मण्डले जुल्पे झ्याप्ले कौडे खोये… हरूका अगाडि कोरोना भाइरसको के दैया ! ठोक् केटा हो भन्दिएपछि एकछिनमै धुलोपिठो बनाइदिन्छन् । कोरोनाले आँट गरेरै पस्नु पर्छ हाम्रो देशमा । केटाहरूलाई बेलुका यसो खोया–खाजाको बन्दोबस्त गर्दिएपछि ढुङ्गामुडा गरेरै त्यस्ता कोरोनाको सातोपुत्लो उडाइदिन्छन् । यत्ति मात्रै होइन, हाम्रा नेताहरूले ध्वनि प्रदूषण हुने खालका दुई–चार वटा भाषण डुक्रिन पाए भने त्यही नेते ध्वनि प्रदूषणले कोरोना भाइरसको प्राणपखेरु उड्छ । कोरोनालाई हाम्रा आफ्ना भूत, प्रेत, मसान, पिशाच, डंकिनी, कुटुनीबुढी, बोक्सी, किचकन्ने सबै खन्याइदिएपछि चेतबाबा काँशी भएर कुलेलम ठोक्छन् ! उहिले नेपाल–अंग्रेज युद्धका बेलामा खैरे कुइरेहरूलाई मौरी, खागो, बारुलो घैंटे, बच्छ्यु बिच्क्याएर खन्याइदिंदा तिनका बन्दुक तोप सबै छोडेर भागारेभाग भएझैं हाम्रा धामी झाँक्री बिजुवा नेता सबै मिलेर खनिए भने कोरोना भाइरसको नै सातो जान्छ । त्यस्तो जाबो कोरोना भाइरसदेखि डरले लगभग काप्तै बस्ने हो ? एउटा सिरूको पत्ता टिपेर हाम्रो सिपालु झाँक्रीले बान् हान्यो भने कोरोना आफैं रगत छाद्न थाल्छ ।…’
‘…यो नेपाली वीरहरूको देश हो । सगरमाथाको देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । अमरसिंह, बलभद्र, लखन र भक्ति थापाको देश हो । यत्ति कुरा जान्दाजान्दै र बुझ्दाबुझ्दै कोरोनाको पिशाचले प्रवेश गर्ने कुनै चानसै छैन । कथम्कदाचित् प्रवेश गरिहाल्यो भने पनि फर्किएर जाने, उम्किने त उपाय नै छैन । कोरोना भाइरसले राम्ररी बुझे हुन्छ – हाम्रो देशको प्रत्येक दश घरमा एक घर धामी झाँक्री बिजुवाका घर छन्, प्रत्येक बीस घरका निम्ति एक घरमा पुरोहित पण्डित ज्योतिष छन् । प्रत्येकजसो घरमा साना–ठूला झोले हुक्के चम्चे ठुटे कन्दने ठेउके झुम्रे लङ्गट असत्ती र बिनबिच्चका तोरीलाउरे… जस्ता भए पनि नेता छन् । प्रत्येक शहर–बजारमा ठग, तस्कर, माफिया, भ्रष्ट, दुराचारीहरूको पौल छ । यस्तो मजबुत सुरक्षा घेरा तोडेर गाउँ–शहरमा पस्न त्यो कोरोनालाई त्यत्ति सहज कहाँ छ र ? यत्रो कडा पहरा तोडेर कोरोना भाइरस पैसाको बल्छी थापेर बसेका पान पसल जस्ता छ्यास्छयास्ती खोलिएका निजी प्राइभेट अस्पताल नामधारी धरापमा पर्यो भने भाइरसकै उछित्तो काडिन्छ; तिनको बाँच्ने मेलो नै हराउँछ ।’
माइलाबा बोल्न रोकिएनन् । उनी एकोहोरो बोलिरहे– ‘हेर केटा ! तँ ठान्दोहोस् कोरोना भाइरस नेपालमा पस्यो भने बोएलर कुखुराको फारममा हैजा पसेजस्तो – कुनै टाउको टेकिरहेको, कुनै झोव्रmाइरहेको, कुनै पल्टिरहेको, कुनै मृत्युसँग संघर्ष गदैर् फट्फटाइरहेको, कुनैमा हरिया झिंगा भन्किंदै गरेको, सयौं संख्यामा कतिलाई एउटै खाल्डोमा पुरिंदै गरेजस्तो कहालीलाग्दो वीभत्स दृश्यको कल्पना गदोर्होस्, तर त्यस्तो केही हुँदैन । ढुक्कले बसे हुन्छ । यहाँ अरु कतै केही नभए पनि देशमा पशुपतिनाथ छन् । उनैले सबै नेपालीहरूको रक्षा गदैर् आएका पनि छन् र अब हुने प्रकोपको पनि उनैले रक्षा गर्छन् । हाइसञ्चो बसे हुन्छ ।…’
‘…बोएलर कुखुरालाई बर्डफ्लु लाग्दा सरकारले क्षतिपूर्ति दिएजस्तो कोरोना भाइरसद्वारा जीउज्यानको राम्रै क्षतिपूर्ति पाउने हो भने कोरोना भाइरसको बीउबिजन ल्याएर यतै हुर्काउनेसम्मको उद्योग गनेर् मान्छेको पनि यस देशमा अभाव छैन । अहिले कृषकका नाउँको अनुदान, सहयोग रकममाथि नै चङ्खे–चतुरेहरूले चप्काए झैं कोरोनाको क्षतिपूर्ति रकममा मन्त्रालयका मन्त्री, हाकिमहरू मालामाल बन्ने थिए । भूकम्पपीडितका नाउँमा आएको चामल दाल पाल र अन्य माल आफ्नै घर–घरमा पुर्याउने जाल गनेर् नेता कर्मचारी भएका ठाउँमा मृत्युपछिको बीमा जस्तो कोरोना भाइरसले प्राण हरण गरेका मान्छेको नाउँमा आउने रकम कृषि अनुदानकै परिणति हुन्थ्यो । हाम्रो देशमा कोरोना भाइरसभन्दा अझ खर्तनाक भ्रष्टाचार, बेथिति, ठगी, तस्करी, बेइमानी र लूटको भाइरस व्याप्त छ । यस्ता ठाउँमा कोरोना भाइरस पस्यो भने त्यो पनि नाङ्गेझार हुन्छ । अग्राखका मुढाको धुनी लागिराखेको ठाउँमा भाइरसको एउटा सानु अगुल्टो मिल्काउँदा अगुल्टै खाक बन्छ । त्यसकारण यो भाइरसदेखि उतार्सिनु पनेर् कामै छैन ।…’
‘…यस देशमा हेपाटाइटिस–बी आयो, स्वाइन फ्लु आयो, डेङ्गु आयो, क्यान्सर त हाम्रो आफ्नै मौलिक भाइरस नै हो; अहिले कोरोना भाइरस आउँदै छ, अझै के–के आउनेवाला छन् । यसका अतिरिक्त अज्ञात रोग भनेर चिकित्सकहरूले हात उठाएका कति रोगव्याध, कीटाणु, भाइरस आए–गए; कुनै अत्तोपत्तो छैन । मेडिकल कलेजहरू अध्ययन अनुसन्धान भन्दा मेडिकल उद्योग खोलेर पैसाको फ्याउरी तान्नमै निस्लोट भएर लागेकै छन् । डाक्टर पढ्नु भनेको साहु–सेठहरूलाई पौने करोडदेखि एक करोडसम्म रुपैयाँ बुझाउनु हो । त्यहाँ मेधावी विद्यार्थीभन्दा धनीमानीका छोरा–छोरी मात्र पुग्न सक्छन् । सरकारले तोकेको शुल्क मात्रै लिएर मेडिकल माफियाहरू डाक्टरको सर्टिफिकट दिन तयार छैनन् । सरकार आफ्नो निर्णय र आदेश माफियाहरूले अवज्ञा गरिरहँदा मेडिकल सेठ–कैयाँहरूलाई ठाडो कार्यवाही गर्न किन सक्तैन ? मेडिकल भाइरस सरकारका मान्छेमा पनि सल्किएको हो कि ? रोगको भन्दा पनि यस कुराको अनुसन्धान गर्न ढिलो भइरहेको छ । यहाँनेर कोरोना भाइरसभन्दा खतर्नाक भाइरस लुकेको हुन सक्छ !’
मैले मनमनै विचार गरें… यी बुढालाई गफ गर्न कत्ति आएको, कति सकेको ? तपाईंका कुरा ठीक छैनन्, यस्ता हावादारी कुरा नछिरोल्नु होस् भन्दिउँ भने मैसँग आइलागि हाल्छन् । कुरो सुनिदिनै पर्यो । उनी अगाडि भन्दै गए– ‘यस देशमा अनुसन्धान पनि कति थोकको मात्रै गनेर् हो ? माफियाकै कुरो गर्दा मेडिकल मात्रै होइन, भूमाफियाहरूको जगजगी बढेर अहिले चरमचुली उक्लिएको छ । शैक्षिक माफियाको दग्दीले जनतालाई बाटामा पुर्याइसकेको छ । यी सबैको अध्ययन अनुसन्धान गर्न थाल्दा कोरोला भाइरसको उपचार गनेर् डाक्टरलाई नै भाइरस सल्किएजस्तो अनुसन्धान गनेर् शोधकर्ता नै उतै नपल्केलान् भन्न सकिन्न । आखिर यहाँ तस्कर नियन्त्रण गनेर् प्रहरी नै आफैंमा तस्कर भाइरस संक्रमण भएर सिकिस्त छन् । भ्रष्टाचार नियन्त्रण गनेर् अख्तियारकै हाकिमलाई भ्रष्ट भाइरस सल्किएर बिजोग छ ।’
माइलाबा बोल्न रोकिएनन्– ‘आज म तँलाई भेट्न आउनुभन्दा अगाडि २१ गतेको नयाँ पत्रिका पढेर आएको । दोलखा जिल्लाका सिडिओ रिजाललाई घुस भाइरसले सिकिस्त बनाएर निलम्बनमा परेको खबर लेखेको थियो । उनी अखितयारबाट सरुवा भएर त्यहाँ पुगेका थिए अरे । कोरोनाभन्दा कैयौं गुणा खतर्नाक भाइरसहरूले देशलाई जकडेको छ । जिल्लाको राजा सिडिओलाई नै यस्ता भाइरसले आक्रमण गर्न थालेपछि सर्वसाधारणको के गति होला ? तँ आफै विचार गर् । सबै कुरा मैले भन्दिनु पर्छ ?’
मैले भनें– लु माइलाबा ! अरु कुरा त ठीकठीकै होलान् । तर, कोरोना भाइरसले कथम्कदाचित हाम्रो देशमा प्रवेश पायो भने धामी झाँक्री बिजुवा माता बैदाङ ज्योतिष नेता बाउन्सर जुल्पे कुण्डले कौडे कन्दने गुण्डा डन भ्रष्ट खोये भित्ती आदि जस्ता जनशक्तिले कसरी फस्र्याउँछन् ? यो कुरा चाहिं चित्त बुझेन । कहाँ मिसाइल क्षेप्यास्त्र अणुबमको समयमा सिरूको पातको बान् हान्ने कुरा गर्नुहुन्छ ? यो चाहिं अनौठो उदेकलाग्दै भयो ।
बाबैले बीचैमा उछिन्दै बोले– ‘तँलाई धामीले मसान उठाएर कसैमाथि खन्याइदिएको, मसान जगाएर बेस्मारी काममा लगाएको, एकै रातमा तीस पाथी बीउ जाने खेत रोपेको, पाँच सय भारी दाउरा चिरेको कथा सुनेको छैनस् ? हो… त्यही मसान जगाएर कोरोना भाइरसमा खन्याइदियो भने त्यसको तुरुन्तै सद्गति हुँदैन ? हाम्रो देशमा भएको जनशक्ति नै यिनै हुन् । यो बाहेक त अरु आशलाग्दो र भरपदोर् को छ र ? ६ दिनमा हजार बेडको अस्पताल त होइन, हजार दिनमा ६ बेडको अस्पताल पनि बनाउन सक्दैनन् । हाम्रोमा त मिटिङ बैठक वार्ता गोष्ठी छलफल निष्कर्ष समीक्षा अनुसन्धान परीक्षण कंैचे कानून, ठेक्का इन्जिनीयर भ्रष्टाचार कमिशन तिघ्रे–पाखुरे इत्यादिको जालो छिचोलेर काम गर्न कहाँ सजिलो छ र ! यस देशमा जे–जे गर्नु परे पनि यिनै भएकै जनशक्तिको प्रयोग गर्नु परेन ?’ भनिराखेर माइलाबा जूरुक्क उठेर लागे घरतिर ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

