
तित्रा
‘एक हप्ता भयो घरमा भात नपाकेको, अरु पन्ध्र दिन पकाउनु पर्ला जस्तो छैन । घरमा पच्चीस वटा जति निम्तो कार्डको चाङ छ । बिहे, ब्रतबन्ध, गुन्यू–चोली, चौरासी, पुराण, घरपूजा, न्वारान, अन्नप्राशन, स्वस्तिशान्ति, बर्थ–डे, फूलमालादेखि लिएर विवाह भएको पचास वर्ष पुगेको उपलक्ष्यमा गरिने बुढो विवाह… के–के हो के–के अवसर पनि ! यो फागुनको महिना त मालामाल नै हुने भो ! चैत लागेपछि बिहे गनेर् होइनन् । त्यसपछि चाहिँ घरमा चूल्हो बल्छ होला ! चैतमा बिहे गर्नु हुँदैन भनेर यी दुनियाँलाई कस्ले भन्दिएछ ? बरु असारको हिलो, आली तसाइ, रोपाइँका बेलामा नगर्नु नि ! साउन, कात्तिक, पुस, चैत – यी चार महिना बिहेभोज नखाइ सुख्खा बस्न त गाह्रो पर्छ नि होउ केटा !’ भन्दै माइलाबा आएर गफ जोत्न थाल्नुभयो ।
मेरो पालो आफूले पनि कहिल्यै कसैलाई बोलाएर खुवाउने गरेको छ कि अरुकै भोजभतेरमा दौडिनु हुन्छ होउ माइलाबा ? भन्दिएको त्यसपछि बाबै अलिक बिच्किएर बोल्न थाले– ‘मैले त कसैलाई बोलाएर खुवाउने अवसर नै पाइन । एउटी छोरी थिई, आफैं बिहे गरी । छोराहरूले फेसबूके बिहे गरे । तिनीहरू जन्मेका बेलामा अहिले जस्तो दियो–क्यान्डल निभाएर केक काट्ने चलन नै थिएन, अहिलेको जस्तो त्यो भेल्ट्याङ–डे भनेको सुनेकै थिएन । अहिले मान्छे बाबु मरेपछि पुराण लाउँछन्, मैले बाबु हुँदै बाबुकै खर्चले पुराण लगाइहालें । चौरासी पुगेकै छैन, बिहे गरेको पचास वर्ष पनि कटिहाल्यो अनि कुन उपलक्ष्यमा मान्छे बोलाएर खुवाउनु र ! मेरो बिहेका बेलामा बाबुले अठार–बीस जना जन्ती खोज्नु भएको थियो । तिनले त्यसै बेलामा जति खाए खाए ! मेरो बिहेको बेलामा हाम्रो परिवारमा मासु नखाने धर्म सम्प्रदाय थियो । निकै पछि मात्रै हो मासु खान थालेको । धन्न खान थालिएछ, अहिलेसम्ममा बाइस–पच्चीस वटा जति खसी भोजमा चबाइयो होला । अब खुवाउनु नै पर्ने भयो भने मेरै शुद्धाइँमा बोलाएर खुवाउलान् ।’
बाबै बहकिन थाले– ‘अँ… केटा ! शुद्धाइँ भन्दा सम्झिएँ । अलिक अस्ति एउटा शुद्धाइँमा गएको थिएँ । तात्तातो जुलपी र नरम–नरम पुरी, गिलो खीर, चिल्लो हुलुवा कम्ती मात्रै टेसिलो थिएन । अहिले सम्भिंmदा पनि मुखमा पानी आउँछ । शुद्धाइँमा मासु खानु नहुने भन्ने चाहिँ हाम्रोमा नराम्रो चलन छ । मरेर जाने गइहाले, के हुन्थ्यो र खाँदा ? यो कुरो चाहिँ शुद्धाइँ भोजमा अलिक खड्कियो ।’
कस्को शुद्धाइँ भनेर मैले बीचैमा सोधें । ’ए, ती एक जना मर्न बितेका पञ्चानब्बे वर्षका धिताल बुढा थिए, बिहान उठेर मजाले दालभात खाएका अरे, दिउसो खाजा पनि खाएका, भुँडी चर्किउञ्जेल खाएपछि फुसुक्कै बितेछन् । मर्नु नै थियो भने त्यत्रो औधी किन खानु ? बाँचेकाले त खान्थे । खाएको कुरा नपची मरेपछि नाशै भएन त ? मलाई त ती मर्ने बेलाका बुढा मरे भन्ने पीरभन्दा पनि भात र खाजाको दुरुपयोग भएकै मन परेन । यो त अन्न–पानीको भ्रष्टाचार नै भएन र ? अहिलेका हाम्रा देशका करोडौं अर्बाै भ्रष्टाचार गर्नेहरूले पनि कहाँ खाइसक्न भ्याउँछन् र । त्यो पैसो सक्नलाई तिनलाई चार सय वर्षको उमेर चाहिन्छ । चार सय वर्षमा त तिनका पनाति–खनाति–जनाति पनि बुढो भएर मरी सक्छन् ।’
बाबै बोल्न रोकिएनन्– ‘भोलि पनि दुई वटा बिहे भ्याउनु छ । छोरीको बिहेमा बिहान गयो, बेलुका केटाको बिहेमा । सपरिवार भनेर नबोलाए पनि म त बुढीलाई लिएरै जान्छु । एक्लै नखानु, दुबैले मिलेर खानु भनेर मेरो बिहेमा पुरोहितले संस्कृत भाषामा भनेका थिए । कसरी छुट्याउनु ! अलिक नजिक नजिकै हो भने त म नबोलाएकै बिहेमा पनि सुटुक्क पसेर लफन्ड्याइदिन्छु । नबोलाएको भोजमा खानेलाई खैंजडे भन्छन् क्यार, तर तिनले भनेर के नै हुन्छ र ! म एक जनाले खाइदिंदा तिनको कति नै घट्छ र ! बुढो आइहाल्छ भनेर जानेपछि थपक्क एउटा कार्ड पठाउनु पदैर्न ? गल्ती तिनेकैर् हो ।’
बुढाले अलिक गति छाडेरै कुरा गर्न थालेपछि मैले भनें– घरमा कहिल्यै भात नपकाइ भोजभतेरमै दौडिएर मात्रै गुजारा चल्छ ? बुढेसकालमा भोजको चिल्लो, पीरो, अमिलोले स्वास्थ्य बिग्रिंदैन ? नबोलाएको भोजमा पनि जानु भनेको लाजमर्दाे कुरो हो, बरु घरमै गुन्द्रुक–भात खानु । तपाईं बास्कोटा मन्त्रीको आफन्त हो कि गच्छेदारको मित ? बानीव्यहोरा त उस्तै–उस्तै रैछ त ! अब यस्तो काम बन्द गर्नुहोस् ।
बुढाले एकछिन मेरो मुखमा हेरे अनि भने– ‘ए केटा ! तँ कस्तो पट्मूर्ख मान्छे हँ…? मैले भोजभतेरमा खाएको तँलाई रिस उठ्यो ! तँ पनि खा न, कस्ले रोकेको छ ? वर्षको चार महिना बाहेक आठ महिना हामी बुढा–बुढीको भोजभतेरले गुजारा चलेकै छ । तँलाई किन कपाल दुखेको ? बरु घरमा निस्ता डल्ला टोक्ता चाहिँ स्वास्थ्य बिग्रिन्छ, भोजमा मासु–भात खाँदा मात्रै सन्तुष्ट भइन्छ । कहाँको बास्कोटा र गच्छेदारको कुरा ल्याएर मसँग किन जोड्छस् ? को हुन् तिनीहरू, म चिन्दिन । बास्कोटाको उचालेको गाँस हावाले उडायो अरे भन्नेसम्म सुनेको हुँ । देशको संविधान संशोधन हुँदैछ अरे भनेको सुन्या छु, त्यो संशोधन भएका बेलामा साउन, कात्तिक, पुस, चैतमा पनि बिहे गर्न हुने–पाउने एउटा बुँदो छिराउनका निम्ति अर्काे महिनामा राजधानी जाँदैछु । नेताहरूलाई भेटेर कुरो राखेपछि कसो नमान्लान् । परार साल भोट माग्न आउँदा हामीले– एउटा मसानघाटको व्यवस्था गरिदिनु पर्यो भन्ने माग राख्ता– प्रत्येक घरघरमा मसानघाटको व्यवस्था गरिदिन्छु भन्ने उदार मनका नेताले त्यति नाथे ती चार महिना पनि बिहे गर्न पाउने कुरो संविधानमा कसो नछिराइदेलान् त !’
मैले कुरो अलिक अर्काेतिर मोड्दै भनें– हैन होउ माइलाबा ! बिहेमा छोरी दिनेले थपक्क दिएर पठाउनु, बुहारी ल्याउनेले बाबु–छोरा गएर ल्याउनु, वाइयात्मा के को भोजभतेरको आयोजना गरेर दुनियाँलाई कन्दनी गाडिउञ्जेल किन खुवाउनु परेको होला ?…’
बुढा बीचैमा बोले– ‘थुइयाऽऽऽ तेरो बुद्धि । पठाएर–ल्याएर मात्रै हुन्छ ? गाउँ–समाजले मान्यता दिनु परेन ? मीठोमसिनु अघाउञ्जेल नखाएसम्म कस्ले मान्यता दिन्छ ? कस्ले आशीर्वाद दिन्छ ? कमिशनको कुरोको टुङ्गो नलागेसम्म योजना÷परियोजनाहरू पास हुन्छन् ? त्यस्तै हो यो पनि । यसो गर्नु पर्यो नि व्यवस्था, नत्र परियोजना नै सढेर जान्छन् । लु…भोजभतेर नगरी कसैले छोरी जिम्मा लाओस् त । के ठान्या छ तैले ? ठट्टा छ ?’
बाबै बोल्न थामिएनन्– ‘यस सिजनको बिहेमा मिठाई पनि खाइयो, मासु पनि खाइयो, हाइटीको पीरो अमिलो गुलियो तातो सबै खाइयो । तर, यसो ऐंठनपानीको व्यवस्था चाहिँ खै कसैले गरेनन् । कसैले भित्रभित्रै गर्छन् र मैले थाहा नपाएको हुँ कि ? हरियो झिंगाले आँप काटेको थाहा पाए झैं ऐंठनपानीको मेलो बुझ्ने मान्छे नै हुँ म पनि । पैसा नहुनेको त छैन अरे, तर पैसावालाले त बगाइदिनु नि खोलो । किन कञ्जुसी गर्छन् यी पैसावालाहरू ? निम्तारूलाई जति खुशी बनायो, त्यत्ति नै आशीर्वाद बर्षिन्छ भन्ने बुझेकै छैनन् कि क्या हो ? खोयाको व्यवस्था गर्या भए त अजम्बरीकै आशीर्वाद पाउँथे नि ! आफूले त अर्थाेक के दिनु र ! दिने भनेको खाम हो, खामभित्र अकोर् खाम हालेर दिए पनि कसैले छेउभेउ पाउदैनन् । धन्न–धन्न यो खामको आविष्कार भइदिएछ र ज्यान बचेको छ ।’
मैले भनें– खोया खान खोज्नेले मोटो खाम दिनु पदैर्न ? सधैं अर्काकै खानु हुन्छ ? फागुनभरि घरमा भात पाकेन भन्नुहुन्छ, त्यसको साँपोनापो गर्नु पदैर्न ? बुढेसकालमा गति नछोड्नु होस् है ।
‘भोजमा सँगसँगै गइन्छ, तेरी माइलेमाले कति कति दिन्छे; म त उत्ति भेउ पनि पाउँदिन होउ केटा’ भनेर बुढाले तत्काल कुरा टारे ।
बुढाले भने– ‘चैत लाग्न आँटिहाल्यो, चैतमा बिहे त होइन, बिहेको कुरो पनि गर्नु हँुदैन भन्छन् । भोज खाँदाखाँदा मुख पलापिएको छ । अब बुढीले घरमा पकाएको लुँढे लट्टेको झोलसँग भात कसरी खानु – अहिल्यैदेखि चिन्ता लागेको छ । एकै दिनमा तीनतिरको निम्तोले देशको आर्थिक घाटाजस्तै औधी घाटा लाग्यो यो फागुनमा । चैतमा चाहिँ निस्तै भइने भयो । बैशाख–जेठमा पनि बिहेको लगन कत्तिको बाक्लो छन् कोनि ! पात्रो बनाउनेले पनि लगन दिन किन कञ्जुस गरेका हुन् ? भोलि दुई वटा बिहे र एउटा बर्थ–डे भ्याउनु छ, बिहानै घरबाट ननिस्किए सबै भ्याइँदैन । बोलाए ठाउँमा पुग्नै पर्यो, बुढीमान्छेलाई पनि लानै पर्यो । ऊ छिटो–छिटो हिंड्न पनि सक्तिन……यस्तै गन्गन् गदैर् ढाड सोझ्याउँदै बुढा बल्ल उठेर लागे । अनि मेरा पनि कान न्याना भए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

