
तित्रा
‘हैन एइ केटा ! कलियुग सकिएर अकोर् युग शुरु हुन लागेको हो कि के हुन लाग्या यो ? भगवानले कोरोना अवतार धारण गरेर यो सृष्टिलाई बिलय गर्ने लाग्या त हैनन् ? असीभन्दा बढी देशमा ईश्वरले कोरोना अवतार लिइसकेको समाचार आउँछ त रेडियोमा । भगवान सर्वव्यापी छन् भन्थे, साँच्चै पो हो रैछ त । दिनकादिन र छिनकाछिन, हाम्रो देशमा भ्रष्टाचार बढेजस्तो बिरामीको र मर्ने मान्छेको संख्या बढेको बढेइ छ त । हेर केटा, आफू त असी वर्ष पु्ग्न लाग्या मान्छे; त्यसै पनि मर्ने बेला हुनलागेकै हो, तँजस्तो ल्रक्का जवान मान्छेले पीर गर्नुपर्ने हो । तँलाई मतलब नै छैन’ भन्दै माइला बा आएर आसन जमाए ।
हैन माइला बा ! तपार्इं असी वर्ष पुग्नुभो र ? भनेर सोधेको । ‘अब दश–बाह्र वर्षपछि पुगिहाल्छु नि’ भनेर बाबैले सहज उत्तर दिए । बाबैले भने– ‘म बोलेको बेलामा बीचमा नबोल्नु । म पनि क्याम्पसको लेक्चरर जस्तै हुँ । बीचमा कसैले बोल्दा मेरो गफको जुइनो, बेलो चँुडिन्छ क्या ।…’
अनि उनी भन्न थाले– ‘हिजो मुन्डाघरे जेठाको घरमा गएको थिएँ । छोरी बिरामी रहिछे, डाक्टरकोमा लानु त कता हो कता, मज धामी बोलाएर पो पन्छाई–मन्साई गर्दै रहेछन् । धामी फलाकेको एकछिन सुने…‘हे भोटमा उत्पत्ति भएकी तिमी, हिमाल, पहाड शीतलमा चली खेली हिंडने तिमी, भोटेनी खैरेकुइरेका देश चहादैर् हिंड्ने तिमी खैरिनी, साँझ बिहान तिमी फूलबारी, खोर्सानीबारी, अदुुवाबारी डुल्ने, घुम्ने, नौलो नौलो चाला देखाउने तिमी बुढेनी, सत्य सत्य तिमीलाई फूलफलेदो धुपबाती गरी, सातमूलको पानी राखी, घुङ्रिङ् झाँक्रीसेउली काउलोको थान थपना गरी बक्साउछौं । साकिनी, बुढेनी, डंकिनी तिमीले यो मूर्ख मनुवालाई माफ गरिदेऊ । श्रीकृष्णका भन्दा बढ्ता नाम भएकी–इबोला तिमी, सार्स तिमी, स्वाइनफ्लू तिमी, हङकङफ्लू एसियाफ्लू स्पेनिशफ्लू रसियनफ्लू तिमी, ब्ल्याक डेथ, प्लेग, एनथ्रेक्स, एड्स आदि अनेक नामधारी तिमी अहिले कोरोना रूप धारण गरी संसारको सातो हर्ने बहुरूपी तिमी । देवीकी पनि देवी, महादेवी मनुखेलाई क्षमा गरिदेऊ । तिमीलाई चोखो पानी, ताजा रातो फूल, चोखो कोइल्याँटोमा सालधूप हाली, काला अक्षता, धतुरो कल्च्यूडो मल्लिडो कुम्भी गान्टेको फल राखी तिमीलाई कालो भाले, कालो बोको, कालै हाँस अर्पिने भाकल भाक्छौं । सत्य सत्य तिमीलाई शनिबारको दिन पारेर बेलुकाको पहेंलो घाममा उत्तर फर्किएर बक्साउँछौं । यो अज्ञानी मूर्ख मनुवालाई त्राहीत्राही बनाउन छोडिदेऊ । मूर्ख मनुवाले हिंस्रक बाघ, भालु, सिंह, स्याल, बिषालु सर्प, ब्वाँसो, जंगली मत्ता हात्ती, पानीमा बस्ने गोही आदिलाई एचोमा राख्यो, तर तिमी भाइरसकी सन्तान, सुक्ष्म जीवसंसारकी बिनाशिनी तिम्रा अगाडि हामी मनुवा दश औंला जोडी शरण पर्छाैं । हरियो टपरीमा बाती बाली, फूलअक्षता गरी, हिमालको भञ्ज्याङ देउराली दोबाटोमा पु¥याई पन्छाइ–मन्साइ गरेका छौं । तिमी उतै कतै भूतप्रेत मसानको घोडा चढी हिंड । मनुवाविहीन हिमालमा नाची–खेली गर । गाउँबस्तीमा झरेर मनुुखेलाई दुःख नदेऊ । तिमी उत्तरी वायु, पश्चिमी वायु, दक्षिणी वायु, पूर्वी वायुमा सवार भई संसारकी सञ्चारी तिमी आफ्नो थान्कामा बसिदेऊ । मूर्ख मनुखेले सर्प खायो, चमेरो खायो, काँचो माछा खायो, दुनियाँमा जे–जे पायो सबै चबायो । तिम्रो मान मनितो गरी भाग दिएन, त्यसैले तिमी रिसायौ । हामी अज्ञानीले जाने सके जति मानमनितो गरेका छौं । यसैमा सन्तोक गरी तिमी आफ्नो बाटो फर्किजाऊ ।’
बाबै बोलिरहे– ‘धामी निकै सिपालु नै रैछ । मज्जैले फलाक्तो रैछ । उसले फलाक्दाफलाक्दै कोरोनालाई वाण हान्ने चेतावनी पनि दिंदै थियो । सिरुको टुप्पोमा एटम बम राखेर, मनुवाले वाण हान्न सक्छ । त्यसैले जुन बाटो आएकी हौ, त्यही बाटो फर्की जाऊ पनि भन्दै थियो ।’ मैले बीचैमा सोधें– मुन्डाघरेकी छोरीलाई कोरोना भएको हो ?
बुढाले अलिक झ्वाँक्किएर भने– ‘तँलाई बीचमा नबोल भनेको होइन ? अब मेरो गफमा गुजा परिगो नि । अँ… त्यसलाई केको कोरोना हुन्थ्यो । यो जाडो गर्मीको दोसाँधमा हावापानी नमिलेर रुघा खोकी मर्की सर्दी लागेको मात्रै हो । जाबो रुघा त दबाई खाए सात दिनमा निको हुन्छ । दबाई नखाए हप्ता दिनमा आफैं जाति हुन्छ । कतै त्यही भाइरसकै सन्तान होकि भनेर मन्साएको नि । धामीले जोखाना हेर्दा चामलमा बियाँ–कनिका थियो क्यार, अल्मलियो । कि चाहिं चामल हकुवा भएको हुनुपर्छ । नत्र रुघा लागेको मान्छेलाई कोरोना मन्साउनु नपर्ने !’
‘राम्ररी ध्यान दिएर सुन् केटा, यो कोरोना संसारमा त्यसै आएको होइन । संसारमा अन्याय अत्याचार शोषण, भ्रष्टाचार अत्यधिक बढेर गयो । मान्छे स्वार्थी बनेर आफू मात्रै खाने, आफू मात्रै लाउने, मोज गर्ने भए । संसारकै सेरोफेरो सबै मेरो भन्न थाले । मै बलियो, मै जान्ने, मै धनी, मै शक्तिशाली भन्ने ठानेर अमत्याइँले छोयो । फलानो समुद्र मेरो, फलानो हिमाल मेरो, त्यहाँ कसैको हकडक चल्दैन भनेर दादागिरी गुण्डागर्दी मच्चाउन थाले । प्रकृतिको बरदान यी हिमाल समुद्र तिनका बाबु–बराजुबाट अंशमा पाएका हुन् र ? सात समुद्र पारिका मान्छेसँग बित्थाँ निहुँ खोज्दै गएर बमवर्षा गर्न थाले । मानव अधिकारको ओंठे मन्त्र जप्तै मान्छे मार्न थाले । खाने नखाने खाए, गर्ने नगर्ने गरे । अति भएपछि कोरोनादेवी रिसाइन् र शक्ति अनि पैसाले मात्तिएकाहरूलाई लु त तिमेरको शक्ति र पैसा ठूलो कि, म ठूली भन्दै तिनको तेजोबध गर्न कोरोनादेवीको अवतरण भयो ।’
बाबै बोल्न रोकिएनन््– ‘हाम्रै देशमा पनि पैसाको पिशाच चढेकाहरू कानूनमा छिद्र बनाउँदै, मानमर्यादामा भ्वाङ पादैर्, लाजशरमलाई नङ्ग्याउँदै पैसा जम्मा गर्न निस्लोट भएर फ्याउरी चलाइरहेका छन् । पैसा थुपार्न सके सुरक्षित भइन्छ भन्ने भ्रम पालेर बसेका छन् । न्यायालयदेखि शौचालयसम्म, केन्द्रदेखि स्थानीय तहसम्म, खरिदार होस् कि हवल्दार, तहबिलदार होस् कि सरदार, मन्त्री होस् वा ठेकेदार – सबै पैसाको सिस ताकेेर भ्रष्टाचारमा तारो हानिरहेकै छन् । कानूनको नून विलिनु मात्रै होइन, अलिनु छ । सय, हजार र लाख भन्दामाथिको भ्रष्टाचारको भारीलाई बाँध्न उसको डोरी नाम्लोको फेरो पुग्दैन । एउटा अन्यायमा परेको व्यक्तिलाई न्याय दिलाउनभन्दा कुख्यात अपराधीलाई जोगाउन विद्वान वकिलहरू लाम लाग्दै छिनाझम्टी गर्छन् । केटा, तँ आफैं विचार गर् न । यो दुनियाँ आशाभरोसातिर लम्किंदैछ कि विनाशतिर ? जति पनि पाप कर्म भइरहेका छन्, तिनका पछाडि पैसो छ । ‘यदायदा ही धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानम् धर्मस्य तदात्मान सृजाम्यहम् ।’ गोठालो गर्दै भए पनि कृष्णजीले यत्ति कुरा त उहिल्यै भनेकै हुन् त । युग अनुसार अनेक रूप धारण गर्ने भगवानले अहिलेका लुच्चा, छुच्चा, खिच्चा, स्वार्थी, लोभी, भ्रष्ट, अपराधीहरूका निम्ति पक्कै पनि कोरोना रूप धारण गरी धरतीमा अवतरण गरेको हुनुपर्छ ।’
हैन होउ माइला बा ! कहाँ कोरोना भाइरसको कुरा, कहाँ बेइमानी मान्छेको चरित्र ! तपाईको गफको पोयो–मेसो केही मिलेन । कोरोना आयो भने सबैभन्दा पहिले सर्वसाधारणहरूले नै परलोकको बाटो लाग्नु पर्छ । चङ्खे चतुरे भ्रष्टहरूले बहत्तर सालको भूकम्पका बेलामा जस्तो उल्टै ब्रह्मलूट मच्चाउँछन् । यो दुनियाँमा कहाँ संगति छ र ? एकातिर हाम्रो देशमा कोरोनाले प्रवेश गरेको छैन भनिंदैछ । अर्कातिर, स्कूल र कलेज बन्द गर्ने, कुनै सभा समारोह भेला बिहेबटुलो नगर्ने पनि भनिंदैछ । पैसावालाहरूले दाल चामल ग्याँस नून तेल पेट्रोल घरघरमा थुपारिसके । कोरोनाले भन्दा पनि मान्छेको व्यवहारले सन्त्रास मच्चिन थालेको छ । रेडियो, पत्र–पत्रिका आदि सञ्चारले पनि कोरोना बाहेक अरु उच्चारण गर्ने छोडिसके । चीनबाट ल्याइएका नेपालीहरूलाई १५ दिनसम्म परीक्षणमा राखिन्छ । तर, चिनिया पर्यटकहरू सोझै भित्रिरहेका छन् । कोरोना प्रवेशै नगरी यसरी आत्तिएका अत्तालिएकाहरूले साँच्चै कोरोना पस्यो भने कसो गर्लान् ? आखिरमा उही धामीझाँक्रीकै कुरा आउँछन् होला ।
बाबैले कुराको प्रसंग फेदैर् भने– ‘हेर केटा ! मैले साँच्चो भनेको, जुन दिनदेखि यो कोरोनाको हल्लाखल्ला सुनें, त्यसै दिनदेखि नाक पनि अलिअलि चिल्चिलाउँछ, घाँटी पनि खस्खसाउँछ, जिउ त्यसैत्यसै तातेजस्तो हुन्छ, कताकता अज्ञात भयले सताइरहन्छ । कतै केही गर्न मन लाग्दैन । शरीर गलेजस्तो हुन्छ । खानपीन चाहिं घटेको छैन । अस्ति एक दिन त ऐंठनपानी पनि अचाइदिएँ । चिसो लाग्ला भन्ने डरले ननुहाएको पनि १५ लिन नाघिसक्यो, रुघा लागेकै पनि होइन, खोकी लागेकै पनि छैन, ज्वरो त झन् आएकै छैन । तर, किन–किन होकि–होकि जस्तो भइरहेको छ । यस्तो किसिमको लक्षण त कतै पढेको र सुनेको पनि छैन । डरले त्यसै आत्तिएको भनौं भने बीर गोरखालीको सन्तानलाई यस्तो डर नलाग्नु पर्ने । माओवादीकालमा केही नचिनेको मान्छे देखियो भने यो पक्कै पनि माओवादीकै मान्छे हुनुपर्छ जस्तो लाग्थ्यो । अहिले बाटामा कोही मान्छे देख्ता यसलाई कोरोनाले गाँजेको होला भनेर सशंकित बन्छु । मलाई देख्दा अरु कसरी डराउँछन्, थाहा छैन । यस्तो कुरो जताततै भन्दै हिंड्दा पनि बुढो बहुलाएछ भन्लान्, डरले छेरेछ भन्लान् । तँलाई मनजिती भनेको मात्रै हुँ’ भन्दै खोर्सानीको खाजा खाने खरा बुढा निरीह जस्ता देखिए !
हैट्, माइला बा ! यो सब तपाईको मानसिक कमजोरी हो । तपाई नडराए पनि तपाईको मन डराएछ । मान्छेलाई बनको बाघले भन्दा मनको बाघले चाँडै सिध्याउँछ । यस्ता कति रोगब्याध, हैजा पचाएर आएको सक्षम शारीरिक अवस्था भएको मान्छेले डराउनै पदैर्न । कोरोनाले त उही डिलैमा पुगेको मान्छेलाई यसो घचेडिदिने मात्रै हो । तपाई एक मानाको भात खाने, एक मन भारी उचाल्ने मजबुत मान्छेलाई ठाँगेले पनि छुँदैन ।
‘हो ! म अलिअलि डराएकै हुँ । ठीकै भनिस्, तर तैंले कसरी यो कुरोको मेलो पाइस् हौ केटा ?’ भन्दै बुढा खाँक्खाँक–खुक्खुक् गदैर् कोल्टे परेर बाटो लागे । लंकाभन्दा टाढाको शंका गर्न थालेपछि मान्छे कति दिन टिक्छ र ? बिचारा माइला बा…!
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

