
झापा, ४ साउन । सरकारले आज सोमबारदेखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान सुरु गर्दै छ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदै छ। अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ। यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ।
आज र भोली दुई दिन सञ्चालन हुने यो खोप अभियानमा ५३ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यसैगरी यसअघिको खोप अभियानमा छुटेका तोकिएको समूहका व्यक्तिहरुले खोप लगाउन पाउने छन्। पूर्ण र अति अपांगता (क र ख वर्ग) का नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी र स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोप अभियान सञ्चालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी कतिपय दुर्गम जिल्लाबाहेक देशका धेरैजसो जिल्लामा आज र भोली जोन्सन खोप अभियान सञ्चालन गरिने पौडेलले जानकारी दिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



