
धरान, ५ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।
संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।
प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएपछि आफ्ना माग सम्बोधन हुने आशाका साथ आफुहरु लचिलो बनेको उनले बताए । प्रधानमन्त्री कार्यालयका सचिव डा बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग छलफल गरेको थियो ।
संयुक्त संघर्ष समितिका संयोजक एसपी रिमालले आफूहरूले उठाएका विषयमा ढिलै भए पनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाएकाले त्यसलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



