
झापा, १० साउन । झापामा करिब ६७ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
जिल्लामा विभिन्न चरणमा ६६ हजार ६४६ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र २० हजार ५८९ जनाले दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । उनीहरुलाई कोभिडशिल्ड र भेरोसेल खोप लगाइएको हो ।
केही दिनभित्रै ५० देखि ६० वर्ष उमेर समूहका लागि भेरोसेल र जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप आउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ४० हजार खोप आउँदैछ, खोप लगाउनका लागि आवश्यक तयारी भइरहेको छ ।” कोभिडशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुका लागि पनि खोप आउने लागेको उहाँले जानकारी दिनुभयो ।
झापामा हाल दुई हजार ७९१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५३ जनाको अस्पतालमा उपचार भइरहेको छ भने अस्पताल भर्ना प्रतिशत ५.४८ रहेको छ । झापामा कोरोना संक्रमणलाई विश्लेषण गर्दा ०–१८ वर्षमुनिका ११.५३ प्रतिशत, १९–६० वर्षसम्मको ७७.४६ र ६१ वर्षमाथिको ११.०१ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
साउन ९ गतेसम्मको तथ्यांक अनुसार झापामा हालसम्म १७ हजार २७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमा दोस्रो लहर शुरु भएपछिको संख्या १२ हजार ७८३ रहेको छ । झापामा क्वारेन्टिन बेड संख्या २२३, होटल क्वारेन्टिन बेड संख्या ५००, आइसोलेसन बेड संख्या ८७४ (अस्पतालमा ४९१ र स्थानीय तहमा ३८३), आइसीयू बेड संख्या ८१, एचडीयू १२३ रहेको स्वास्थ्य कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
झापामा हालससम्म कोरोना संक्रमणबाट ४२५ को मृत्यु भएको छ । दोस्रो लहर शुरु भएयता १०७ महिला र १८९ पुरुष गरी २९६ जनाको मृत्यु भएको फोकल पर्सन चम्लागाईंले बताउनुभयो । झापामा कोरोना संक्रमणबाट हुने मृत्युदर १.८७ रहेको छ ।
नेपाल प्रवेश नाका काँकरभिट्टाबाट आउनेहरुलाई गत चैत १४ गतेदेखि एन्टीजेन परीक्षण गरेर प्रवेश दिँदै आएको छ भने मेचीनगर–१४ स्थित दुहागढीमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । साउन ९ गतेसम्म यो नाकाबाट प्रवेश गरेका तीन हजार २९७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि काँकरभिट्टा नाकाबाट साउन ९ गतेसम्म २५ हजार १५१ जना नेपाल प्रवेश गरेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



