
मेचीनगर, २५ साउन । मेचीनगर नगरपालिकाले आइतबार नगरभरिका उद्योगी, व्यवसायी र साना सवारी चालकलाई ८ सय बढी कोभिड १९ विरुद्घको भ्याक्सिन उपलब्ध गराएको छ ।
नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउने कार्यक्रममा ८ सय बढीले भ्याक्सिन लगाएको मेची उद्योग बाणिज्य संघका सदस्य उमेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका थिए । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीहरु दीपेन्द्र चौधरी, विद्या शिवाकोटी, सुष्मिता रायमाझी खरेल, तारा शिवाकोटी र फूलमाया पोखरेलले सेवा प्रदान गरेको स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



