
मेचीनगर, २८ साउन । “उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा दर्दनाक मासुको डल्लो बढेर खानपिउन नै समस्या भइसक्यो ।”
यो पीडा हो–मेचीनगर ८ की ३५ वर्षीया विष्णुमाया मगरको । आर्थिक स्रोत नभएका कारण उनले आफ्नो अनुहारभरि पलाएको मासुको डल्लोको उपचार गर्न सकिरहेकी छैनन् ।
मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ । आँखा हेर्न समस्या हुँदै गएको छ । खानपिन र हिँडडुलमा कठिनाई भएको उनले बताइन् ।
काकाको घरमा आश्रय लिदै आएकी उनको उपचारका लागि अस्पताल जाने आर्थिक स्रोत छैन । वर्षैदेखि यस्तै पीडा सहेर उनले बस्नु परेको छ ।
कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानैछँदा अनुहारमा गाठागुठी देखिएको उनले बताइन् ।
जीविका चलाउन मुस्किल भएपछि उनी मङ्गलवार मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई भेट्न नगरपालिका पुगेकी थिइन् । आचार्यले केही सहयोग गर्ने आश्वासन दिए ।
नगरका प्रमुखलाई भेटाउन सहयोग गरेकी सामाजिक कार्यकर्ता निर्मला भण्डारीले विष्णुमायाको अपाङ्ग परिचय पत्र बनाउन पाए मासिक सामाजिक भत्ता उपलब्ध हुने र त्यसबाट जीविका चलाउन सजिलो हुने नगरप्रमुख आचार्यलाई अनुरोध गरिन् ।
उपचारका लागि निःशुल्क व्यवस्थाका लागि समेत भण्डारीले आग्रह गरेकी छन् । लोकतन्त्र पोष्टबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



