
विनोद सापकोटा
झापा, ३० भदौ । अर्जुनधाराका ६ का एक युवा उपचारको अभावमा जीउँदो मान्छे कुहिएर बाँचिरहेको समाचार मंगलबार काठमाण्डौ लगायत झापाका संचार माध्यममा सनसनी भयो । छापा तथा अनलाईन न्युज पोर्टलमा महत्वका साथ समाचार प्रकाशन भएपछि झापाका निजी स्वास्थ्य संस्थाका उद्यमीको ध्यान त्यसले खिच्यो ।
बरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतको ध्यान मंगलबार विहान ९ बजे अखवारको पाना र अनलाईन न्युज पोर्टलले खिचेपछि उनले पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत र जनसम्पर्क अधिकारी बमवहादुर बस्नेतलाई फोन सम्पर्क गरे । समाचारका विषयमा बास्तविकता वुझेर अस्पतालका प्रमुख बस्नेतले तत्काल खबर गर्न निर्देशन दिए ।
अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुरले भने, ‘समाचारले मेरा आँखा रसाए । ‘के गरिवले पैसा नहुँदा उपचार नपाएर मर्नुपर्ने हो ?’ यस्तै यस्तै प्रश्न मनमा उब्जीयो ।’ गोपीले उपचार पाए नयाँ जिवन दिन सकिने जनसम्र्क अधिकारी बस्नेतले ठम्याएपछि तत्काल उद्धार गरेर विर्तासिटी अस्पतालमा ल्याउन अस्पतालका प्रमुख गोपाल बस्नेतलाई जानकारी दिए ।
अस्पताल प्रमुख बस्नेतले एम्बुलेन्समा आफै विरामीको घरमा पुगेर उनको उद्धार र त्यसपछि तत्काल उपचार सुरु गर्न निर्देशन दिए । नभन्दै विहान ११ बजे एम्बुलेन्स सहित अस्पतालका जनसंपर्क अधिकारी बस्नेत गोपीको निवासमा पुगे ।
एक वर्षदेखी ओछ्यान परेर मृत्यु पर्खिरहेका गोपिको घरमा पत्रकार, एम्बुलेन्स, विर्तासिटी अस्पतालका कर्मचारी, सुरक्षा गार्ड सहित पुगेपछि सयौ स्थानीय भेला भए । उनिहरु मध्ये कतिपय स्थानीयले भनिरहेका थिए ‘पत्रकारले समाचार लेखेपछि एक वर्ष देखी उपचार नपाएर मृत्यु पर्खिरहेका गोपीले उपचार पाउने भएछन् क्यारे ।’
अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन नसक्दा शरीरका विभिन्न भाग कुहिन थालेको थियो । गोपीको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै पूर्ण रुपमा ठिक भएपछि रोजगारीको समेत अवसर दिने अस्पतालका संचालक बस्नेतको भनाई उध्रित गर्दे प्रशासन प्रमुख विनोद बस्नेतले बताए । अस्पताल प्रशासनका अनुसार गोपीका बुबा बलबहादुरको खाना र बस्ने समेत निःशुल्क अस्पतालले गर्ने छ । बुवा छोराको सहयोगी (कुरुवा) का लागि अस्पताल आएका हुन् ।
गोपीको उपचारमा डाक्टर त्रय विजय केसी, नारायण ताजपुरीया र सञ्जिव चौधरीको टोली खटिएको छ । चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल हिसावले चेकपछि मात्रै थाहा हुने छ ।
२८ वर्षीय गोपीको रकम अभावका कारण उपचार हुन नसक्दा एक वर्षदेखि ओच्छ्यान परेका थिए । गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक अवस्था उनको आम्दानीले थाम्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए ।
कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे ।
२०१२ सालमा ४ नम्वर भोजपुरबाट बिर्तामोड झरेका बस्नेत अहिलेसम्म वहालमा बस्दै आएका छन् । पहाडबाट मधेस झर्दा उनी रित्तै हात झरेका थिए । ‘उमेर हुञ्जेल अरुको घरमा भान्से काम गरे,’ उनका बुवाले भने ‘६६ वर्षदेखि विर्तामोडमा अर्काको घरमा काम गरेपछि छोराको उपचारका लागि अरुकै सहयोग लिनुपर्यो ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



