
विर्तामोड । विगत ५ वर्ष यता नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि हुने गरेको तथ्यांकले देखाउँछ ।
सामान्यतया टाइफाइड रोगको संक्रमण अरु उमेर समूह भन्दा १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर ११ गुणा बढि जोखिम हुने चिकित्सकहरु बताउँछन् ।
विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि पानी तथा खाना जन्य संक्रामक रोगमध्ये तेस्रो र औसत विरामी अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथोमा रहेको देखाउँछ ।

बुधबार विर्तामोड नगरपालिकाको सभा हलमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा टाइफाइड रोग र उपचारका उपाय बारे जानकारी दिइएको थियो ।
स्वास्थ्य कार्यालयले टाइफाइड रोग तथा टाइफाइड विरुद्ध लगाइने खोप बारे कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुसँग छलफल गरेको थियो ।
राष्ट्रव्यापी अभियान कार्यक्रम चैत २५ देखि बैशाख १८ गतेसम्म देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका निमित् प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।
खोप अभियान पश्चात १५ महिनाका बालबालिकाहरुका लागि नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन हुनेछ ।
स्वास्थ्य कार्यालय झापाका निमित् प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार झापामा १३ वटा पालिकामा आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने र शिवसताक्षी र गौरादह नगरपालिमा आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म अभियान सञ्चालन गरिने बताउनुभयो ।
खोप अभियानका लागि स्वास्थ्य कार्यालय झापाले ६ सय ९० वटा खोप केन्द्रबाट जिल्ला भरका दुई लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जनाएको छ ।

खोप कार्यक्रम सम्पन्न गर्नका लागि २ सय २८ जना खोपकर्मी र ४ सय ५६ जना स्वयम् सेवक तयारी अवस्थामा रहेको फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी गराउनु भयो।

टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र :
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ ।
यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
ट राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस :
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो ।
टाइफाइड रोग के हो?
-टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।
टाइफाइड रोगका मुख्य लक्षण के के हुन् ?
- रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।
लक्षण तथा चिन्हको आधारमा यस रोगको प्रारम्भिक पहिचान भए पनि रोगीको रगतको जाँच र दिसा पिसाबको जाँच पछि थाहा पाउन सकिन्छ । - टाइफाइड रोगको उपचार र रोकथाम कसरी गर्न सकिन्छ ?
- समय मै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मी को परामर्श अनुसार जैविक औषधीको सेवनबाट यो रोगको उपचार गर्नु पर्दछ ।
- यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुदाँ यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो ।
टाइफाइड विरुद्धको खोप १५ महिना वा सो भन्दा माथि उमेर समुहका सबै व्यक्तिहरुले लिन मिल्छ तर हालको अभियानमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुले लगाउनु पर्दछ । सो पछि नियमित खोप मार्फत १५ महिनाका प्रत्येक बालबालिकाहरुले एक मात्राको खोप अनिवार्य लिनु पर्दछ ।
टाइफाइड विरुद्धको खोप कस्तो अवस्थामा दिन मिल्दैन ?
साधारण विरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको , रुघा खोकी लागेको , कुपोषण भएको अवस्थामा यो खोप दिन सकिन्छ तर विगतमा कुनै खोप लिदाँ गम्भीर प्रकारका असर देखा परेका वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए , एड्सको लक्षण देखा परेको अवस्थामा यो खोप लगाउनु हुदैन । उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको अवस्थामा खोप दिन मिल्दैन तर विरामी ठीक भइसके पछि भने खोप दिन मिल्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



