
नकुल काजी
नेपाली नागरिक–जीवन राज्यसत्ताको प्रत्यक्ष–परोक्ष दलनको निरीह रमिते हुने बाध्यात्मक अवस्था देशमा पन्पिन थालेको धेरै भयो । राज्यसत्ताको निर्बाध स्वच्छन्द हालीमुहाली अथवा प्रकारान्तरमा हेर्दा मियो बिनाको दाइँ गर्ने ठाउँमा पुगेका दलीय नेता–नायकहरूले फूलमालाद्वारा सज्जित भई मञ्च–मञ्चबाट लल्कार्ने वकवेदान्ती मन्तव्य र उनीहरूको जन–सरोकारी व्यवहार वा अभ्यास हिमालचुली र कुखुराको सुली जत्तिकै पृथक अनुभूत हुन थालेको पनि उत्ति नै भयो ! त्यसबाट उत्पन्न परिहास्यास्पद परिस्थितिको उमेर पनि लगभग नेपाली संघीय गणतन्त्रकै उमेर बराबर छ । यी सबमा कसैको शालीन तर्कसंगत दुईमत हुन नसक्ला ।
राजनीतिक दलका पछ्यौरा समाउने तह (अर्थात् राष्ट्रियदेखि जिल्ला, नगर, गाउँ र वडा–वडासम्मै)–का नेता–नेगियारेले अह्राएबमोजिम मात्र गर्ने ‘कार्यकर्ता’ भनिने अरौटे–भरौटेहरू त, राजनीतिक सारभूत सिद्धान्तका हकमा, राणाकालतिरको निजामती प्रशासनका मुखिया–खरिदार हैसियतभन्दा मुखर पाउन हम्मे–हम्मे छ । ती पनि आ–आफ्ना तहभिन्न तालुकदारका स्वार्थ–निर्देशित भएपछि नागरिकका आधारभूत गुनासाहरू बिचल्लीमा पर्नु स्वाभाविक हुने नै भयो । तह–तहका उनै नेताका वकवृत्तिको परस्पर नमिल्दा मन्तव्य र गन्तव्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली शिशु अवस्थादेखि नै कुपोषित हुनु पनि अस्वाभाविक भएन । क्रमशः त्यसलाई सुकेनाशले चाप्तै लगिरहेको अवस्था विद्यमान छ, अहिले ।
सक्रिय नेतृत्वशाली राजतन्त्रको अवसानपछि स्थापित वर्तमान राज्यव्यवस्थालाई नागरिकले जतिसुकै स्नेहको पोषण दिइरहेको भए पनि र युगानुकूल एवम् विश्व–परिस्थिति सुहाउँदो मानिए पनि त्यसको मौलिक परिभाषिक भूमि भने टेक्न पनि दिइएको छैन । महाभारत–कथाको त्रिशंकु बनाइराख्ने दुष्कर्म अन्ततः अगुवा नेता–नायकहरूको सत्तास्वार्थको अगुवाइमै भइरहेको छ । देशका पछिल्लो राजनीतिक दृश्य–परिदृश्यको अनुनाद यो टिप्पणीभन्दा अझ कठोर पनि हुन सक्तछ ।
आजको संसारमा बिरलै त्यस्तो देश होला, जहाँका नागरिक राज्यले अख्तियार गरेको स्थायी–अस्थायी नीति–बिधिद्वारा निर्देशित शासनव्यवस्थासँग पूर्ण–सम्पूर्ण रूपमा सन्तुष्ट होलान् – चाहे जो जतिसुकै सभ्य, सम्पन्न र समृद्ध होस् । त्यसो त जापान ,नेदरल्याण्ड्स, स्पेन, बेल्जियम, नर्वे, लक्जमवर्ग आदि राष्ट्रहरूमा प्रजातान्त्रिक प्रणाली लागू छ । तर, ती राष्ट्रहरूमा गणतान्त्रिक राष्ट्रहरूमा भन्दा राम्रो र भरोसायुक्त राज्यशक्ति र विकासको न्यायोचित विकेन्द्रीकरण प्रयुक्त मात्र छैन, नागरिक अनुभूतिमा सुख र समृद्धि अन्तर्भूत छ ।
अर्थात्, यस्ता अनेक उदाहरण छन्– जसलाई गणतन्त्र नेपालले टेक्तै आएको विगत १६ वर्ष ‘राज्यसत्ता’–का मालिक बनेका दलीय नेताहरूले आफ्ना आधिकारिक भाषणका ‘विषयसूची’–मा नित्य–निरन्तर दर्ज गर्दै आएका छन् । तर,ती भाषणका व्यावहारिकता भने ‘जनसमूह भेट्नासाथ अहिंसाको भाषण बासेर भोकाएपछि सिङ्गै ऊँट निलेर डकारे’–भन्दा भिन्न छैन । जस्तो, सिकन्दर (अलेकजेण्डर)ले पृथ्वीका भूभाग लुटेर ‘भूमिदान’ गर्दै हिँडेको ऐतिहासिक कथन छ – जस्तो अमेरिकी र इण्डियन कुख्यात डाकाहरू (रब रोय र मलखान सिंह) रातभरि रक्तपातपूर्ण डकैती गरी आफ्ना हिमचिमकाहरूलाई दान दिँदै जय–जयकारको गुञ्जनमा दिनभरि आराम फर्माउँथे भन्ने अभिलेख पाइन्छन् ।
त्यस्तै, देशको तिजोरी लुटेर आफू समृद्ध बन्ने अनि आफ्ना आसेपासे, हनुमान र गणेशचक्करेहरूलाई समृद्ध बनाएको देखाई अबोध नागरिकलाई सम्मोहित गर्ने यो देशका भलाद्मी (?) दस्युहरूले ‘गणतन्त्रको उपलब्धि’ भनी व्याख्या गर्ने नौटंकी गरेका देखिन्छन् ।
अतएव, यी–इत्यादि चाकाचुलीमा देश र देशवासीले झुल्नु–झुण्डिनु परिरहेको छ ! यसो हुँदा साविकमा र वर्तमान राज्यसत्तामा आसीनहरूबाट नागरिक समाजका संख्यात्मक रूपमा बहुल कित्ता असन्तुष्ट बन्नु अस्वाभाविक होइन । तर, यो नागरिक मनोविज्ञानको जोखिमबाट पार पाउन पशुपतिनाथको ढुङ्गे साँढे झैं राज्यशक्तिमा गजधम्मिएको गिरोहले आफै पृष्ठभूमिमा बसेर ‘पुस्तान्तर’–को नयाँ नारा आफ्नो रक्षापंक्तिको रूपमा उराल्न लगाएका नहुन सक्तैन । त्यतातिर नागरिक मनोविज्ञान खिचेर तिनै तथाकथित ‘नयाँ अनुहार’–का छायाँमा उनैले निर्वाचनको ओैपचारिक माध्यमबाट आफूलाई पुनस्र्थापित गराउने सहज बाटो बनाएका नहुन सक्तैन ।
यसो गरेपछि राज्यसत्ताको हालीमुहालीमा आफ्नो उपस्थिति मजबुत बनाउने उनीहरूको छली रणनीति, हालैको राजनीतिक घटनामा, धेरै मात्रामा सफल पनि भएको हुनसक्तछ । किनभने, ‘स्वतन्त्र’ हैसियतका उम्मेदवारलाई छोडेर, ‘पुस्तान्तर’–को डालोमा पर्ने अधिकांशलाई ‘उनीहरू जन्मिएको खानदान र हुर्किएको परिवेश’–लाई शल्यक्रियात्मक जाँच गर्नु हो भने उनीहरू अनुवंश्य गुण र प्रवृत्तिले पुरानाभन्दा भिन्न चारित्रिक होलान् भनेर ढुक्क हुने स्थिति छैन भन्नु गलत हुँदैन । जो आफ्ना नेता–अगुवाका सामू भिजेको मुसो भई प्रस्तुत हुने पाठशाला (स्कूलिङ)–मा दीक्षित भयो, ऊ आफै आफ्नो विवेकको हकदार कसरी हुनसक्ला र ? उसलाई उसमा अन्तर्निहित संस्कारले कसरी देला ? –आदि संन्देहहरू त जीवन्त छँदैछन् !
लगभग साढे सत्र महिनाको नेपाली कांग्रेस नेतृत्वको सरकारकालमा सो दललाई सानो र साँगुरो पारिवारिक एवम् ‘राजाकालीन आठपहरिया’ स्वरूपको झुण्ड (किच्चन क्याबिनेट)–ले चलाइरहेको छ भन्ने चर्चाको मूर्त रूप त गत मङ्सिर ४ को निर्वाचन–गतिविधिमा अस्तित्वमै आएको जगजाहेर छ । त्यसका विरुद्ध कतिपय ससाना कुरामा मतवैभिन्न्य देखाए पनि महाधिवेशनबाट निर्वाचित दुई महामन्त्री लगायत दलका शक्तिशाली केन्द्रीय पदाधिकारी– सदस्यहरूबाट कुनै परिणामदायी आवाज उठेन !
त्यसो भए नेपालमा ‘प्रजातन्त्र’–को पहिलो झण्डा गाड्ने ऐतिहासिक यशको हकदार मात्र होइन, विश्वमा पहिचान स्थापित गरेको दल (नेकां) आफैभित्र चाहिँ प्रजातन्त्र थिएन त ? ‘मुखको गाँस’ बनेको राष्ट्रिय र प्रादेशिक कार्यकारी पदहरू सबै खोसिनुमा शेरबहादुर देउवाको मात्र दोष वा मूर्खतापूर्ण हठ ‘कारक’ हो ? अथवा, नेपाली कांग्रेस पार्टी देउवा समूहकोे प्राइभेट लिमिटेडमा रूपान्तर भइसकेको थियो र आज नानाथरि गन्गन गर्ने ‘पुस्तान्तरका अगुवा’ देखिइरहेका दुई महामन्त्री दललाई ‘धोका’–को संकटले घेरिरहेका बेला साहित्य गोष्ठीमा अतिथि बन्न हिँडेका थिए त ? इत्यादि प्रश्न पनि हुन्हुनाइरहेका छन् ।
माथि उल्लेखित अक्करिला पाटाहरूलाई समग्रतामा जोड्नु पर्दा वर्तमानका अनेक परिदृश्य सम्पूरक बन्न आएका हुन् । अन्यथा होइन । तह–तहका नेतृत्व व्यक्ति आफ्ना–आफ्नैे श्रेष्ठता प्रतिष्ठापनभन्दा माथि उठेर परस्पर सघन सरसल्लाहबाट दलको शाख र ‘श्री’ जोगाउने सद्विवेकको ठूलो दुर्भिक्ष नभएको भए नेपाली कांग्रेसले शायद आजको शर्मनाक स्थिति भोग्नुपर्ने थिएन । आफ्ना कमी–कमजोरी ओैंल्याइदिने सदाशयीलाई ‘विरोधी’–को संज्ञाले डाम्ने, सुधार र सम्भारका कुनै पनि शालीन सुझावलाई शंकाको डङ्काले तेजोबध गरी सिँढीभिन्न रूपमा आ–आफ्ना अहम् तुष्टि गर्ने, बिग्रिन–भत्किन लागेका कुनै पनि सैद्धान्तिक अवयवका प्रति संवेदनशील बन्नुको सट्टा ‘सब ठीक छ’–को बर्काेले छोपेर अझ सो विकारलाई हुर्किन र मौलाउन मद्दत पु¥याउने जस्ता घातक चलन नेकांमा दैनन्दिन बढेका छन् र नेकांको पछिल्लो सत्ताकालमा केन्द्रीय ‘भान्साघरे गिरोह’–ले मलजल गरेको आम विश्लेषण भइरहेको छ ।
कांग्रेसमा मात्र होइन, राष्ट्रिय हैकममा पुगेका अरू दलको पनि गणतन्त्रोत्तर प्रस्तुतिको शैली यस्तै–यस्तै नै छ । र, यसको समुचित सुधारका निम्ति वैयक्तिक ‘पुस्तान्तर’–भन्दा ‘रूपान्तर’ चाहिँ निर्विकल्प र अपरिहार्य विकल्प हो । नयाँ अनुहार र वयको परिवर्तन मात्र होइन; स्वार्थी, उदरम्भी र अगस्ती नियत र प्रवृत्तिमा परिवर्तन खोजेको हो– देश र देशवासीले । आफ्ना नेता–अगुवाको अधिनायकीय हुकुम कति कामयाव छ भन्ने नबुझी सो अन्धाधुन्ध तामेलीमा अभ्यस्त ‘नयाँ पुस्ता’–का ‘नयाँ अनुहार’–हरूले बूढा–पुरानाका खानापूर्ति गर्नुपर्छ भन्ने आग्रह मात्र नागरिक समाजले राखेको किमार्थ होइन ।
मानसिक–चारित्रिक सुधार र परिष्कार बिनाका रत्नाकरहरू बाल्मीकि बन्न कहाँ सक्छन्, तिनका अभिनय पनि अहिले जस्तै असौम्य देखिंदै जाने न हुन्छ ! अन्यथा, अब पनि ‘डडेल्धुरा !’ पुकार्नासाथ, इण्डियन जादूगर सिरियल ‘अलीफ लैला’–को ‘खुल् जा सीम्–सीम्’–ले ढोका खोलेजस्तै प्रधानमन्त्री निवासको ढोका सदासर्वदा खुल्ला हुने अवस्था जीवितै रहन्थ्यो होला !‘
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


