
चूडामणि वशिष्ठ
अहिले नेपाली राजनीतिक जगतमा ‘सच्चिने कि सकिने?’ भन्ने प्रश्न तेर्सिएको छ । ज्वारभाटा बीचको नौका झैं राजनीति ढल्पलिँदै छ । राजनीतिक स्थायित्व भएन । सरकार खोयाको वा बालुवाको घरजस्तै मात्र भयो । माथि संघमा जसो–जसो हुन्छ, तुरुन्तै तल प्रदेश सरकारहरुमा ‘जसोजसो बराजु सोही सोहीनीति’ भइरहेको देखेर सर्वसाधारण नागरिक हैरान भएर राजनीतिप्रति वितृष्णा पालेर बसेका छन् ।
राजनीतिबाट लाभ लिनेहरु बाहेक बाँकी सबै जनतामा निराशा छाएको छ । नेतृत्वको चर्तिकला कसैलाई मन परेको छैन । राजनीतिको सेवाभित्र आर्थिक चलखेलका वितण्डा आणविक भट्टीबाट चुहेको ज्यानमारा विषाक्त ग्याँसले जस्तै राष्ट्रको जीवनलाई घिटिक–घिटिक पार्दोछ । यसले राजनीतिक नेतृत्वलाई त नकारात्मक असर पार्छ नै, विश्वका नजरमा मुलुकलाई नै तल ओराल्छ । पार्टीहरुका कार्यकर्ता शुभेच्छुकहरुले ‘राम राम !’ सम्म त भन्लान्, तर काँधै हाल्ने अवस्था र मनस्थितिमा कोही पनि देखिंदैनन् । त्यसैले प्रत्येक पार्टीको नेतृत्व सच्चिने र सकिनेको भञ्ज्याङमा उभिन पुगेका हुन् ।
अहिले सर्वत्र आर्थिक संकटका कुरा गरिंदैछ । आर्थिक संकट सँगसँगै नेतृत्वमा नैतिक संकटका कुरा पनि आएका छन्, नेतृत्वमा नैतिक संकट गहिरिएर नै गइरहेको छ । मिडियाहरुका कता–कता,कुनै–कुनै कुनाबाट र आर्थिक विश्लेषकहरुबाट सामाजिक सुरक्षा भत्ता, कर्मचारी निवृत्तिभरण दिन नसकिने भनेर छास्सछुस्स सुन्नमा आउँदैछ । यो कतिसम्मको सत्य कुरा हो ? थाहा छैन ।स्थानीय तहदेखि प्रदेश र संघ हुँदै उपल्लो तहसम्म ३६,९८६ राजनीतिक क्षेत्रका जनप्रतिनिधि जागिरेहरुको तलब–भत्ता तर्फ मौन बसेर वृद्ध असहाय, बेसहारा… आदिका सामाजिक सुरक्षा भत्ता दिन नसकिने कुरा गर्नुलाई जनमानसले उदेक मानिरहेका छन् ।
यो दलीय व्यवस्था हो । दलीय व्यवस्थामा दलहरु नै सर्वेसर्वा हुन्छन् । ताली रगाली पनि उनीहरुले नै पाउँछन् । तर, यी पार्टीहरुको इतिहास हेर्दा नफुटेको, नचोइटिएको, चिरा नपरेको कुनै पार्टी छैन । सिद्धान्त आदर्श सोचविचारका कारण होइन, पद पैसा पहुँच स्वार्थका कारण विभाजनका रेखा कोरिएका छन् । सबै पार्टी मिलेर देश र जनताको हित गर्नुभन्दा आ–आफ्नै पार्टीभित्रका आन्तरिक मामिला मिलाउन नसकिरहेको अवस्था छ । पार्टीहरुको आन्तरिक द्वन्द्व र पार्टी–पार्टी बीचको बाह्य द्वन्द्वको बाह्रमासे चाकाचुली खेलाइले देश र जनता ओझेल परेपछि जनतामा राजनीतिप्रति चरम वितृष्णा जागेको हुनुपर्छ । नेतृत्वलाई सच्चिन निकै कठिन छ, सकिन सहज नै होला ! तर, कुन बाटो पक्रिने हो ? अब थोरै समय जनताले पर्ख र हेर गर्लान् !
देशका युवा पलायन हुनबाट रोक्ने,रोजगारी बढाउँदै लैजाने, देश कम्तिमा पनि कृषिमा आत्मनिर्भर हुने, शिक्षा र स्वास्थ्यमा भइरहेको चरम विकृतिका माझ भ्रष्टाचारको धर्नासो चुडाउने, बिचौलियाको फ्युज झिकिदिने, अपराधीलाई राजनीतिक शक्तिको छाता नओढाउने मात्र पनि गर्न सके सच्चिन कुनै गाह्रो छैन । यो काम फलाना पार्टीको सरकारले गर्ने भन्ने छैन, जसले गरेपनि हुन्छ । जसले गर्छ उही सच्चिन्छ, उसैले जनताको विश्वास जित्छ । यी कुरा आदर्शवादी गफ होइनन्, धरातलीय यथार्थ हो ।
‘सुखानी सन्देश’ साप्ताहिकले सकिने होइन, सच्चिने अपेक्षा गरेको छ । राजनैतिक शक्तिहरुको एकतामा मात्रै देश जनताको हित हुने ठहर गरेको छ । वैयक्तिक र पार्टीगत स्वार्थलाई पन्छाएर राष्ट्रिय स्वार्थमा सबै लागून् भन्ने कामना गरेको छ । सामाजिक राजनैतिक आर्थिक क्षेत्रको विसंगति विकृति कल्मष पखाल्न, मिल्काउन यस साप्ताहिकले सहयोगी भूमिका निर्वाह गर्ने नै छ । सुखानी सन्देश साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


